तीन वर्षपछि नेपाल फर्कियो पोको स्मार्टफोन, ५६ हजार माथिका ३ नयाँ फाइभजी मोडेल सार्वजनिक
माघ २९, २०८२ १७:१९
काठमाडौँ । स्मार्टफोन ब्रान्ड पोको नेपाली बजारमा पुनरागमन भएको छ । तीन वर्षपछि नेपाल फर्किएको पोकोले टेलिटक प्राइभेट लिमिटेडलाई आधिकारिक बिक्रेता नियुक्त गर्दै ‘पर्फमेन्स फर्स्ट’ दर्शनमा आधारित तीन नयाँ स्मार्टफोन सार्वजनिक गरेको हो ।
टेलिटकका कार्यकारी निर्देशक प्रतीक जालानले पोकोलाई पुनः नेपाली बजारमा ल्याउन पाउँदा उत्साहित भएको उल्लेख गर्दै भने, “यी फोनहरू बलिया चिपसेट र लामो समय टिक्ने ब्याट्रीका साथ डिजाइन गरिएका छन् । जसले बिना कुनै सम्झौता गेमिङ र मल्टिटास्किङको सुविधा प्रदान गर्नेछन् ।”
कम्पनीको सबैभन्दा शक्तिशाली मानिएको पोको एफ८ प्रो फाइभजी मोडेलमा क्वालकमको स्न्यापड्रागन ८ एलिट प्रोसेसर प्रयोग गरिएको छ । ६.५९ इन्चको १२० हर्ज एमोलेड डिस्प्ले रहेको फोनमा १२ जीबी र्याम र ५१२ जीबी स्टोरेज छ । ६२१० एमएएचको विशाल ब्याट्री र १०० वाटको फास्ट चार्जिङ सपोर्ट गर्ने यो फोन एन्ड्रोइड १६ र हाइपर ओएस ३ मा आधारित छ । यसमा बोस (Bose) द्वारा ट्युन गरिएको साउन्ड क्वालिटी र पानी तथा धुलोबाट जोगाउन आईपी६८ रेटिङ रहेको छ ।
पोको एक्स७ प्रो फाइभजी मोडेलमा मिडियाटेक डाइमेन्सिटी ८४०० अल्ट्रा चिपसेट प्रयोग गरिएको छ । ६.६७ इन्चको एमोलेड डिस्प्ले, ६००० एमएएच ब्याट्री र ९० वाटको फास्ट चार्जिङ यसका मुख्य विशेषता हुन् । १२ जीबी र्याम र ५१२ जीबी स्टोरेज भएको फोनमा पनि आईपी६८ रेटिङ र उच्च गुणस्तरको क्यामेरा सेटअप रहेको छ ।
स्न्यापड्रागन ८एस जेन ४ प्रोसेसरद्वारा सञ्चालित पोको एफ७ फाइभजी मोडेलमा ६५०० एमएएचको शक्तिशाली ब्याट्री रहेको छ । यसमा ९० वाटको वायर्ड र २२.५ वाटको रिभर्स चार्जिङ सुविधा छ । ६.८३ इन्चको एमोलेड डिस्प्ले रहेको फोनमा पनि १२ जीबी र्याम र ५१२ जीबी स्टोरेज क्षमता छ ।
कुन मोडेलको मूल्य कति ?
-
पोको एक्स७ प्रो फाइभजी: ५५,९९९ रुपैयाँ
-
पोको एफ७ फाइभजी: ६९,९९९ रुपैयाँ
-
पोको एफ८ प्रो फाइभजी: ९९,९९९ रुपैयाँ
उपभोक्ताहरूले टेलिटकका आधिकारिक शोरुम तथा आउटलेटहरूबाट यी फोनहरू खरिद गर्न सक्नेछन् । कम्पनीले ग्राहकको सुविधाका लागि ९ महिनासम्मको ईएमआई सुविधा रएक वर्षको ब्रान्ड वारेन्टी समेत उपलब्ध गराएको छ ।
पछिल्लो अध्यावधिक: फागुन १, २०८२ १२:१५
