close

१६ घण्टासम्म सामाजिक सञ्जाल चलाउनु समस्या हो, तर लत होइन: इन्स्टाग्राम प्रमुख

टेकपाना टेकपाना

फागुन २, २०८२ १७:३०

१६ घण्टासम्म सामाजिक सञ्जाल चलाउनु समस्या हो, तर लत होइन: इन्स्टाग्राम प्रमुख

काठमाडौँ । इन्स्टाग्रामका प्रमुख एडम मोसेरीले सामाजिक सञ्जालको अत्यधिक प्रयोग हुनु नै ‘लत’ नभएको दाबी गरेका छन् । नाबालिगको मानसिक स्वास्थ्यमा क्षति पुर्‍याएको आरोपमा क्यालिफोर्नियाको एक अदालतमा भइरहेको बहसका क्रममा उनले आफ्नो प्लेटफर्मको बचाउ गरेका हुन् ।

बीबीसीका अनुसार विगत आठ वर्षदेखि इन्स्टाग्रामको नेतृत्व गरिरहेका मोसेरी यस मुद्दामा बयान दिने पहिलो उच्च पदस्थ कार्यकारी हुन् । ६ हप्तासम्म चल्ने अनुमान गरिएको यस मुद्दालाई प्रविधि कम्पनीलाई युवाको मानसिक स्वास्थ्यप्रति कति जिम्मेवार ठहर्‍याउन सकिन्छ भन्ने कानुनी परीक्षणका रूपमा हेरिएको छ ।

बयानका क्रममा मोसेरीले इन्स्टाग्रामको कति प्रयोगलाई ‘धेरै’ भन्ने कुरा व्यक्तिगत विषय भएको तर्क गरे । उनले भने, “एक व्यक्तिले अर्कोभन्दा धेरै इन्स्टाग्राम चलाएर पनि राम्रो महसुस गर्न सक्छ । ‘क्लिनिकल लत’ (चिकित्सा विज्ञानले प्रमाणित गरेको लत) र ‘समस्याग्रस्त प्रयोग’ बीचको भिन्नता बुझ्नु महत्त्वपूर्ण छ ।”

उनले उदाहरण दिँदै अगाडि भने, “कुनै दिन राति अबेरसम्म नेटफ्लिक्स हेर्दा मलाई यसको लत लाग्यो भन्न सक्छु, तर त्यो क्लिनिकल लत जस्तो होइन ।” यद्यपि, वादी पक्षका वकिल मार्क ल्यानियरले जब मोसेरीलाई “वादीले दिनमा १६ घण्टासम्म इन्स्टाग्राम चलाउनुलाई के भन्नुहुन्छ ?” भनी सोधे, उनले त्यसलाई ‘समस्याग्रस्त प्रयोग’ माने पनि ‘लत’ भन्न भने अस्वीकार गरे ।

अदालतमा मेटाको एउटा आन्तरिक सर्वेक्षण प्रस्तुत गरिएको थियो । उक्त सर्वेक्षण अनुसार ६० प्रतिशत प्रयोगकर्ताले इन्स्टाग्राममा दुर्व्यवहार अनुभव गरेको देखिएको छ । यस मुद्दाकी मुख्य वादी (के.जी.एम.) ले ३०० पटकभन्दा बढी बुलिङको उजुरी गर्दा पनि कम्पनीले वास्ता नगरेको आरोप लगाइएको छ । मोसेरीले यसबारे आफूलाई जानकारी नभएको बताए ।

बहसका क्रममा मेटाका अर्का वरिष्ठ अधिकारी निक क्लेगले सन् २०१९ मा पठाएको इमेलको चर्चा भएको थियो । क्लेगले फोटो फिल्टरले मानिसको शारीरिक स्वरूप बदल्ने र यसले प्रयोगकर्तामा नकारात्मक असर पार्ने चिन्ता व्यक्त गरेका थिए । उनले मेटाले ‘जिम्मेवारीभन्दा व्यापारिक वृद्धिलाई प्राथमिकता दिएको’ आरोप लाग्न सक्ने चेतावनी समेत दिएका थिए ।

अदालत बाहिर धेरै अभिभावकले सामाजिक सञ्जालका विरुद्ध प्रदर्शन गरेका थिए । लण्डनबाट आएका मारियानो जनिनले आफ्नी १४ वर्षीया छोरी मियाले सामाजिक सञ्जालको लत र दबाबका कारण आत्महत्या गरेको दाबी गर्दै कम्पनीले बालबालिकाको सुरक्षाका लागि आफ्नो व्यापारिक मोडेल बदल्नुपर्ने बताए ।

यस मुद्दामा इन्स्टाग्रामका साथै युट्युबलाई पनि विपक्षी बनाइएको छ जबकि स्न्यापच्याट र टिकटकले भने मुद्दा सुरु हुनुअघि नै अदालती मेलमिलाप गरिसकेका छन् । आगामी दिनमा मेटाका प्रमुख मार्क जुकरबर्ग र युट्युबका प्रमुख नील मोहनले पनि यस मुद्दामा बयान दिने अपेक्षा गरिएको छ ।

पछिल्लो अध्यावधिक: फागुन २, २०८२ २०:४३