close

फेसबुकमा थपिए फोटो रिस्टाइलदेखि एनिमेटेड प्रोफाइल पिक्चर बनाउने सम्मका सुविधा

टेकपाना टेकपाना

फागुन ४, २०८२ १८:११

फेसबुकमा थपिए फोटो रिस्टाइलदेखि एनिमेटेड प्रोफाइल पिक्चर बनाउने सम्मका सुविधा

काठमाडौँ । मेटाले आफ्नो प्लेटफर्मलाई थप आकर्षक र आधुनिक बनाउन फेसबुकमा एआईमा आधारित नयाँ सुविधा थप गरेको छ । विशेषगरी युवा पुस्ता र जेन-जीलाई आकर्षित गर्ने उद्देश्यले मेटाले यी फिचर ल्याएको हो ।

नयाँ अपडेटअनुसार अब प्रयोगकर्ताले आफ्नो स्थिर (स्टाटिक) प्रोफाइल तस्बिरलाई एनिमेटेड बनाउन सक्नेछन् । मेटा एआईको प्रयोग गरी तस्बिरमा हात हल्लाएको, मुटुको आकार बनाएको वा भर्चुअल पार्टी ह्याट लगाएको जस्ता मोसन इफेक्ट थप्न सकिनेछ । यसका लागि प्रयोगकर्ताले आफ्नो क्यामेरा रोल वा फेसबुकमा भएकै स्पष्ट तस्बिर प्रयोग गर्नुपर्ने हुन्छ ।

यसैगरी फेसबुकले ‘स्टोरिज’ र ‘मेमोरिज’ का लागि ‘रिस्टाइल’ (Restyle) नामक टुल सार्वजनिक गरेको छ । यस सुविधाअन्तर्गत प्रयोगकर्ताले आफूले राख्न चाहेको तस्बिरलाई एनिमे (Anime), इलुस्ट्रेटेड (Illustrated) वा अन्य विभिन्न थिममा परिवर्तन गर्न सक्नेछन् । यसमा प्रकाश, रङ र तस्बिरको ब्याकग्राउण्डसमेत परिवर्तन गर्न मिल्ने विकल्प दिइएको छ ।

साधारण टेक्स्ट पोस्टलाई थप प्रभावकारी बनाउन फेसबुकले एनिमेटेड ब्याकग्राउण्ड फिचर पनि ल्याएको छ । प्रयोगकर्ताले इन्द्रेणी रङको 'A' आइकनमा क्लिक गरी झरेका पातहरू वा समुद्रका छालहरू जस्ता एनिमेटेड दृश्यहरू पोस्टको ब्याकग्राउण्डमा राख्न सक्नेछन् ।

हाल फेसबुकका दैनिक करिब दुई अर्ब १० करोड सक्रिय प्रयोगकर्ता रहेको मेटाको तथ्याङ्क छ । पछिल्ला वर्षहरूमा युवा प्रयोगकर्ताहरू अन्य प्लेटफर्मतर्फ आकर्षित भइरहेका बेला फेसबुकले एआई प्रविधिको प्रयोगमार्फत आफ्नो सान्दर्भिकता जोगाउन खोजेको छ ।

फेसबुकले आफ्नो चर्चित पुरानो पोक फिचरलाई पनि नयाँ ढंगले ब्युँताउन खोजेको छ । यसका लागि प्रोफाइलमा छुट्टै बटन राखिएको छ, जसले अर्को व्यक्तिलाई नोटिफिकेसनमार्फत जानकारी दिनेछ । यसका साथै ग्रुपहरूमा प्रयोगकर्ताले आफ्नो छुट्टै ‘डिस्प्ले नेम’ राख्न पाउने सुविधा पनि थपिएको छ।

यो अपडेट अहिले विश्वभर क्रमिक रूपमा रोल-आउट भइरहेको र आगामी दिनमा थप नयाँ एनिमेसन विकल्पहरू थपिने मेटाले जनाएको छ ।

पछिल्लो अध्यावधिक: फागुन ४, २०८२ १८:२५