close

मार्च ४ मा विशेष 'एप्पल एक्सपिरियन्स' आयोजना गर्दै एप्पल, आईफोन १७ई र एम५ म्याक आउने अपेक्षा

टेकपाना टेकपाना

फागुन ५, २०८२ १०:५

मार्च ४ मा विशेष 'एप्पल एक्सपिरियन्स' आयोजना गर्दै एप्पल, आईफोन १७ई र एम५ म्याक आउने अपेक्षा

काठमाडौँ । प्रविधि जगतको दिग्गज कम्पनी एप्पलले आगामी ४ मार्च, २०२६ मा एक विशेष कार्यक्रम आयोजना गर्ने घोषणा गरेको छ । एप्पलले यसलाई सामान्य 'लन्च इभेन्ट' नभनी 'विशेष एप्पल एक्सपिरियन्स' (Special Experience) को रूपमा ब्रान्डिङ गरेको छ । यो कार्यक्रम न्युयोर्क, लण्डन र साङ्घाईमा एकसाथ स्थानीय समय अनुसार बिहान ९ बजे आयोजना हुनेछ ।

ब्लुमबर्गका अनुसार यो कार्यक्रम एप्पलको क्यालिफोर्नियास्थित मुख्यालयमा नभई विभिन्न सहरहरूमा आयोजना गरिनुले यो पत्रकारहरूका लागि नयाँ उत्पादनहरू हातैले चलाएर अनुभव गर्ने सत्र हुन सक्ने सङ्केत गर्छ । एप्पलले नयाँ उत्पादनहरू प्रेस विज्ञप्तिमार्फत सार्वजनिक गरेर ४ मार्चमा ती सामग्रीहरूको प्रदर्शनी गर्ने सम्भावना छ ।

यस कार्यक्रमको मुख्य आकर्षण आइफोन १७ ई हुने अपेक्षा गरिएको छ । यसलाई आईफोनको 'ई' सिरिजले पुरानो आईफोन एसईलाई विस्थापित गर्दै वार्षिक रूपमा सस्तो फोन उपलब्ध गराउने एप्पलको रणनीतिको रूपमा बुझिएको छ । गिज्मोचाइनाले सार्वजनिक गरेको विवरण अनुसार आईफोन १७ ई मा लामो समयदेखि चल्दै आएको नच हटाइनेछ र त्यसको सट्टा डाइनामिक आइल्याण्ड राखिनेछ ।

यस फोनमा एप्पलको पछिल्लो ए १९ चिप हुनेछ । जसले एप्पल इन्टेलिजेन्स (एआई) लाई सहजै सपोर्ट गर्नेछ । यसको अर्को महत्त्वपूर्ण विशेषता भनेको २५ वाटको म्यागसेफ वायरलेस चार्जिङ (लिक्स अनुसार) पनि हो, जुन अहिलेसम्म एप्पलका महँगा फोनहरूमा मात्र सीमित थियो । यसको सुरुवाति मूल्य ५९९ डलर (करिब ८६ हजार रुपैयाँ) कायम हुन सक्ने अनुमान गरिएको छ ।

त्यस्तै म्याक कम्प्युटरको क्षेत्रमा एप्पलले आफ्नो शक्तिशाली एम ५ प्रो र एम५ म्याक्स चिप भएका म्याकबुक प्रो सार्वजनिक गर्ने तयारी समेत गरेको छ । सीनेटले गरेको परीक्षणका अनुसार एम ५ चिपले अघिल्लो एम ४ को तुलनामा ग्राफिक्स पर्फर्मेन्समा ४५ प्रतिशतसम्म सुधार ल्याएको छ र एआई कार्यहरूमा ३.५ गुणा बढी गति प्रदान गर्छ । यसका साथै एम ५ म्याकबुक प्रोको ब्याट्री क्षमतामा पनि सुधार आउने र यसले करिब २३ घण्टासम्मको ब्याट्री ब्याकअप दिने दाबी गरिएको छ ।

यति मात्र होइन द भर्जका अनुसार एप्पलले एउटा 'सस्तो म्याकबुक' पनि ल्याउन सक्छ । यसमा म्याकको साटो आईफोन १६ प्रोमा प्रयोग गरिएको ए १८ प्रो चिप प्रयोग हुने र त्यसको मूल्य ५९९ देखि ६९९ डलरसम्म हुन सक्ने कुरा नाइन टु फाइभ म्याकले उल्लेख गरेको छ ।

त्यस्तै आईप्याड प्रयोगकर्ताहरूका लागि पनि यो कार्यक्रममा केही नयाँ हुनेछ । ब्लुमबर्गका अनुसार एप्पलले एम ४ चिप भएको आईप्याड एयर र ए १८ चिप भएको बेस मोडेल आईप्याड १२ सार्वजनिक गर्ने योजना बनाएको छ । आईप्याड १२ मा पहिलो पटक एप्पल इन्टेलिजेन्सको सुविधा उपलब्ध हुनेछ ।

यसका साथै एप्पलले नयाँ आईओएस २६.४ को बेटा संस्करण पनि सार्वजनिक गर्ने तयारी गरेको छ । एप्पल इन्साइडरका अनुसार यो सफ्टवेयरमा गुगल जेमनाई द्वारा सञ्चालित सिरीको नयाँ फिचर र एप्पल म्युजिकमा एआईमार्फत प्लेलिस्ट बनाउन मिल्ने 'प्लेलिस्ट प्लेग्राउन्ड' जस्ता फिचर समावेश हुनेछन् ।

 

पछिल्लो अध्यावधिक: फागुन ५, २०८२ १०:५