close

महेश बस्नेत बोलाएपछि कमेडी नाइट विथ च्याम्पियन आलोचित, कानुनी उपचार खोज्ने भण्डारीको चेतावनी

टेकपाना टेकपाना

फागुन १२, २०८२ १४:११

महेश बस्नेत बोलाएपछि कमेडी नाइट विथ च्याम्पियन आलोचित, कानुनी उपचार खोज्ने भण्डारीको चेतावनी

काठमाडौँ । रियालिटी शो ‘कमेडी नाइट विथ च्याम्पियन’का निर्देशक एवं प्रस्तोता विशाल भण्डारीले कार्यक्रमका अतिथिलाई लिएर सामाजिक सञ्जालमा गालीगलौज गर्नेहरूविरुद्ध कानुनी उपचार खोज्ने चेतावनी दिएका छन् । नेकपा एमालेका सचिव महेश बस्नेतलाई कार्यक्रममा अतिथिको रूपमा बोलाएपछि उत्पन्न विवादप्रति प्रतिक्रिया दिँदै भण्डारीले यस्तो चेतावनी दिएका हुन् ।

मंगलबार फेसबुकमा एक पोस्ट राख्दै भण्डारीले आफ्नो कार्यक्रम सधैँ निष्पक्ष रहेको दाबी गरे । नयाँ एपिसोडको ट्रेलर सार्वजनिक भएलगत्तै केही सामाजिक सञ्जाल प्रयोगकर्ताले कार्यक्रम र निर्देशक भण्डारीमाथि आलोचना गरिरहेका छन् । कतिपयले कार्यक्रम नै बहिष्कार गर्नेसम्मको चेतावनी दिएका छन् ।

जवाफमा भण्डारीले कार्यक्रममा यसअघि पनि विभिन्न दलका नेताहरूलाई स्थान दिइएको तथ्य प्रस्तुत गरेका छन् । उनका अनुसार अहिलेसम्म राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता तीन पटक, राप्रपाका एक पटक, नेपाली कांग्रेसका एक पटक र तत्कालीन नेकपा (एकीकृत समाजवादी) का नेता एक पटक अतिथिका रूपमा आइसकेका छन् ।

“हामीलाई हरेक पटक एउटा दलको बोलाउँदा अर्को पक्षबाट सामाजिक सञ्जालमा आक्रमण हुँदै नै आइरहेको हो । यो कुनै नौलो कुरा हैन,” भण्डारीले लेखेका छन्, “तर भ्रष्टाचार, नातावाद व्यक्तिवाद र दलको सिन्डिकेटको विरोध गर्दै सडक आन्दोलन गरेका GENZ समूहका भाइबहिनीले महेश बस्नेत बोलाएको आज आउँदै गरेको एपिसोडको ट्रेलर हेरेकै भरमा जुन सत्तो सराप गरिरहेका छन् । के हामीले यस्तै समाज र सत्ता बनाउन खोजेको हो ? जहाँ कुनै दल विशेषको व्यक्ति मात्र कार्यक्रमले गेष्ट बोलाउनु पर्ने ? पुरानालाई मात्र उडाउनु पर्ने र नयाँलाई देवत्वकरण नै गरिदिनु पर्ने । पुरानाको मात्र मिमिक्री गर्नुपर्ने नयाँको गर्नै नहुने ?”

सामाजिक सञ्जालमा आएका अपमानजनक कमेन्ट र धम्कीपूर्ण भाषाप्रति संकेत गर्दै भण्डारीले कार्यक्रमलाई प्रजातान्त्रिक र निष्पक्ष रूपमा चलाउन कसैले अवरोध गरेमा कानुनी बाटो रोज्ने बताएका छन् । उनले सबै दलका नेता तथा कार्यकर्तालाई कार्यक्रम सञ्चालनमा अवरोध नगर्न आग्रह गर्दै भनेका छन्, “विचारलाई साइडमा राखेर कार्यक्रमलाई प्रजातान्त्रिक स्वरूपमा उभाएर निष्पक्ष रुपमा सञ्चालन गर्न रोक्ने छेक्ने र धम्काउने क्रियाकलाप नगर्न सबै दलका नेता कार्यकर्तालाई अनुरोध गर्न चाहन्छौं । तर यो धाक धम्कीको क्रम नरोकिए कानुनी उपचार खोज्न हामी बाध्य हुने चेतावनी पनि दिन चाहन्छौं ।”

ट्रेलर सार्वजनिक भएपछि फेसबुक, युट्युब लगायतका माध्यममा प्रतिक्रियाहरू दिने दर्शकहरू विभाजित देखिएका छन् । कतिपयले कार्यक्रमले पैसाका लागि विवादास्पद व्यक्तिलाई स्थान दिएको र युवाहरूको आन्दोलनको अपमान गरेको आरोप लगाएका छन् । “यो एमाले नाइट्स विथ च्याम्पियन हो,” भन्दै कतिपयले आक्रोश पोखेका छन् भने केहीले कलाकारले सबैको नक्कल गर्न पाउनुपर्ने भन्दै बचाउ पनि गरेका छन् ।

पछिल्लो अध्यावधिक: फागुन १२, २०८२ १४:२८