फ्याक्टचेकः चुनावअघि रवि-बालेनको संयुक्त हस्ताक्षरमा मोदीलाई लेखिएको भन्दै सार्वजनिक पत्र फेक
फागुन १५, २०८२ ०:२८
काठमाडौँ । शुक्रबार साँझदेखि केही अनलाइन सञ्चार माध्यम र सामाजिक सञ्जालमा रास्वपाका सभापति रवि लामिछाने र बालेन्द्र शाह (बालेन) ले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई पत्र लेखेको भन्दै दुई पृष्टको कागजात भाइरल भइरहेको छ । तर टेकपाना फ्याक्टचेकबाट उक्त पत्रमा समावेश हस्ताक्षर कपी/पेस्ट गरिएको र फोटोशप गरी प्रचार गरिएको पुष्टि भएको छ ।
दाबीः
नेपाल प्रेस नामक अनलाइनले चिरञ्जीवी पौडेलको बाइलाइनमा शुक्रबार २७ फेब्रुअरी २०२६ २०ः४७ बजेको समयमा "चुनावअघि नै रवि-बालेनको सत्ताभ्यास : संयुक्त हस्ताक्षरमा मोदीलाई पत्र" शीर्षकमा समाचार प्रकाशित गरेको छ ।
यस्तो छ, नेपाल प्रेसको समाचारः
“आमनिर्वाचनबाट बहुमत ल्याएर सरकार बनाउनेमा विश्वस्त रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले अहिल्यैदेखि सत्ताअभ्यास थालेको छ । रास्वपाका दुई प्रमुख नेता रवि लामिछाने र बालेन्द्र साहले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई संयुक्त हस्ताक्षरमा पत्राचार गरेका छन् ।दुई नेताद्वारा हस्ताक्षरित पत्रको प्रतिलिपी नेपाल प्रेसलाई प्राप्त भएको छ । भारतको गणतन्त्र दिवसको सन्दर्भ पारेर गत जनवरी २५ मा यो पत्र पठाइएको हो, जसमा कूटनीतिक र राजनीतिक विषयवस्तुहरू समावेश छन् । पत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बालेन्द्र साहलाई भावी प्रधानमन्त्रीमा अघि सारेको अवगत गराइएको छ । एउटा पार्टीले अमुक नेतालाई प्रधानमन्त्रीको उम्मेदवारका रूपमा प्रस्तावित गरिँदा विदेशी सरकार प्रमुखलाई जानकारी गराउने आम प्रचलन थिएन । पत्राचार भावले अब बन्ने सरकारको नेतृत्व रास्वपाले गर्ने निश्चित भएकोतर्फ ईंगित गर्छ । रास्वपाको नेतृत्वमा सरकार बनेपछि भारतसँगको पारस्परिक विश्वास र भरोसा अझ सुदृढ हुने विश्वास व्यक्त गरिएको छ । पत्रमा लेखिएको छ, ‘हाम्रो नेतृत्वमा सरकार गठन भएपछि द्विपक्षीय सम्बन्ध अभिवृद्धि गर्न तथा पारस्परिक विश्वास र भरोसा अझ सुदृढ गर्न व्यावहारिक तथा परिणाममुखी उपायहरू अवलम्बन गर्ने हाम्रो अभिप्राय छ । यस प्रयासमा भारतीय पक्षबाट रचनात्मक तथा पारस्परिक संलग्नताको अपेक्षा राख्दछौँ ।’ नेपालमा हुन लागेको आमनिर्वाचन सफल बनाउन भारतले गरेको आर्थिक, राजनीतिक र सामग्रीजन्य सहयोगप्रति नेताद्वयले गहिरो आभार प्रकट गरेका छन् । भारतको निरन्तर सहयोगले नेपालको सद्भाव, स्थिरता, संस्थागत सुदृढीकरण र दिगो विकासमा सकारात्मक योगदान पुर्याउनेछ विश्वास उनीहरूको छ । हालैको ‘जनआन्दोलन’ का नेतृत्वकर्ताहरूले युवापुस्ताका प्रतिनिधिहरूसँग मिलेर आफ्नो राजनीतिक प्रतिबद्धतालाई राष्ट्रिय स्वतन्त्र पार्टीको छातामुनि एकीकृत गरेको पत्रमा उल्लेख छ । ‘हामी आगामी आम निर्वाचनलाई आत्मविश्वासका साथ सामना गरिरहेका छौँ । पार्टीले वरिष्ठ नेता बालेन्द्र शाहलाई प्रधानमन्त्री पदका उम्मेदवारका रूपमा मनोनयन गरेको छ । उहाँको नेतृत्वमा नेपाल-भारत सम्बन्ध र राज्यकला रचनात्मक तथा पारस्परिक हितका आधारमा अझ अगाडि बढ्ने अवसर प्राप्त गर्नेछ भन्ने हाम्रो धारणा छ,’ पत्रमा भनिएको छ । नेतद्वयले नेपाल–भारतको सीमा सम्बन्धका विषयमा पनि चर्चा गरेका छन् । सीमाको विषयलाई ऐतिहासिक समझदारी तथा ‘समसामयिक यथार्थ’ लाई ध्यानमा राखेर समाधान गर्नुपर्ने तर्क अघि सारिएको छ । ‘समसामयिक यथार्थ’ को अभिप्राय खुलेको छैन । पत्रमा भनिएको छ, ‘नेपाल-भारत सीमा समस्याका सम्बन्धमा हाम्रो धारणा स्पष्ट रूपमा अभिव्यक्त छ र यस्ता विषयहरू ऐतिहासिक समझदारी र समसामयिक यथार्थ दुवैलाई ध्यानमा राखी संवादमार्फत समाधान गर्नुपर्छ भन्ने सिद्धान्तद्वारा निर्देशित छ ।’ पत्रमा भारत अधीनस्थ कालापानीका नेपाली भूभागहरूबारे चर्चा गरिएको छैन । वर्तमान वैश्विक परिवेश तथा नेपालको राष्ट्रिय हितलाई ध्यानमा राख्दै आफूहरू सबै छिमेकी मुलुकहरूसँग मैत्रीपूर्ण र रचनात्मक सम्बन्ध कायम राख्न प्रतिबद्ध रहेको अवगत गराइएको छ । कुनै पनि अवस्थामा समस्या उत्पन्न भए संवादमार्फत समाधान खोज्दै द्विपक्षीय सम्बन्धलाई पारस्परिक समझदारी र सहकार्यको उच्च स्तरमा पुर्याउने उद्देश्य रहने पत्रमा उल्लेख छ । ‘नेपाल र भारतबीचको गहिरो ऐतिहासिक, सांस्कृतिक तथा भौगोलिक सम्बन्धलाई दृष्टिगत गर्दै नेपालले आफ्ना गतिविधिहरूबाट भारतका वैध हितहरूमा प्रतिकूल प्रभाव नपरोस् भन्ने कुरामा सजग रहनेछ,’ पत्रमा लेखिएको छ, ‘यही भावनासहित नेपालसँग भारतको दीर्घकालीन सहकार्य र संलग्नताको निरन्तरताको अपेक्षा गर्दछौँ ।’ विगतका सरकारहरूको कार्यकालमा नेपाल-भारत सम्बन्ध तथा अन्य अन्तर्राष्ट्रिय साझेदारहरूसँगका सम्बन्धहरूमा केही सीमितताहरू देखिएको नेताद्वयले बताएका छन् । उनीहरूले भनेका छन्, ‘हाम्रो ठोस धारणा छ कि बाह्य सम्बन्धहरूको प्रभावकारिता र विश्वसनीयता आन्तरिक सुशासनको गुणस्तरसँग घनिष्ठ रूपमा सम्बन्धित हुन्छ । विगतमा सुशासनसम्बन्धी चुनौतीहरूले नेपालमा राजनीतिक जटिलताको अवस्था सिर्जना गरेको थियो भन्ने कुरा अन्तर्राष्ट्रिय समुदायलाई अवगत नै छ । यसै सन्दर्भमा, हाम्रो नेतृत्वमा सुशासन स्थापना गर्न व्यापक सुधार पहल आवश्यक हुनेछ । सुशासनका सिद्धान्तसँग असंगत ढङ्गले निर्माण गरिएका कानुनहरूको पुनरावलोकन तथा खारेजी र विधिसम्मत प्रक्रिया अवलम्बन नगरी गरिएका संवैधानिक तथा कानुनी संशोधनहरूको पुनर्मूल्याङ्कनलाई प्राथमिकता दिइनेछ ।" आवश्यक परे संवैधानिक सुधारमार्फत समेत प्रभावकारी शासन स्थापना गर्दै नेपाली जनताको विकाससम्बन्धी आकांक्षााहरूलाई सम्बोधन गरिने पत्रमा उल्लेख छ ।”
हेर्नुहोस् उक्त समाचारको लिङ्क, आर्काइभ र फेसबुक लिङ्क शेयर गरिएको स्क्रिनशटः


समाचार भित्र रवि लामिछाने र बालेन्द्र शाहले हस्ताक्षर गरेको भन्दै दुई पेजको पत्र समेत राखिएको छ । हेर्नुहोस्, त्यसको कपीः


अनुसन्धानः
चुनावको तयारीमा जुटेको पार्टीले छिमेकी देशको प्रधानमन्त्रीलाई पत्र लेखेको विषय र स्ट्याम्प समेत नभएको हिसाबले अस्वाभाविक लागेपछि टेकपाना फ्याक्टचेकले यस माथि अनुसन्धान अगाडि बढायो । त्यस क्रममा “रास्वपा मोदीलाई पत्र” किवर्ड राखेर सामाजिक सञ्जालमा सर्च गरी हेर्यौँ ।
त्यस क्रममा पत्रकार प्रकाश तिमल्सिनाले नेपाल प्रेसकै सोही समाचार फेसबुकमा शेयर गरेको देखियो । उनले क्याप्सनमा लेखेका छन्, “दुई कदम अगाडी:
पत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बालेन्द्र साहलाई भावी प्रधानमन्त्रीमा अघि सारेको अवगत गराइएको छ । एउटा पार्टीले अमुक नेतालाई प्रधानमन्त्रीको उम्मेदवारका रूपमा प्रस्तावित गरिँदा विदेशी सरकार प्रमुखलाई जानकारी गराउने आम प्रचलन थिएन ।”
हेर्नुहोस् उनको पोस्ट र तलको स्क्रिनशटः

यसैगरी जनआस्थाले समेत सोही पत्रको आधारमा समाचार बनाएको भेटियो । उसले शीर्षकमा लेखेको छ, “चुनावमा सघाउन भारतीय प्रधानमन्त्रीसङ्ग मागे बालेन र रविले हारगुहार”
जनआस्थाले लेखेको समाचार यस्तो छ-
“फागुन २१ को चुनाव नजिकै आइरहेको बेला रास्वपा सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन साहले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई सहयोग र सहकार्यका निम्ति अस्ति माघ ११ (जनावरी २५) का दिन विशेष पत्र लेखेको पाइएको छ । अरु सबैलाई खराब,भ्रष्ट,विदेशी दलाल भन्दै आएको सो पार्टीले दुई जनाको संयुक्त हस्ताक्षरमा पठाएको पत्रमा जेनजी आन्दोलनपछि प्राप्त सहयोगको प्रसङ्ग कोट्याउँदै अबको चुनावमा पनि सोही किसिमको सदाशयता प्राप्त हुने दृढ विश्वास व्यक्त गरिएको छ । बालेन साहको नेतृत्वमा सीमा विवाद सल्टाउने आश्वासनसहित संविधान,कानुन संशोधनलगायत यावत कुरामा हात हालिने बचनबद्धताप्रकट गरिएको सो पत्रमा सँघीयतावारे पुनर्विचार गरिने धारणासमेत उल्लेख छ । स्मरण रहोस्,०७२ असोज ३ गते जारी हालको संविधानप्रति भारत सन्तुष्ट छैन र यसैकारण उसले नेपालमाथि ५ महिना नाकाबन्दी लगाएको थियो । रास्वपाले अहिले भारतको त्यही नाडी छामेर आफूले सरकार चलाउने मौका पाएको खण्डमा यो माग सम्बोधन गर्ने लिखित प्रतिबद्धता जनाएको हो । उक्त पत्रमा भारतीय स्वार्थमा असर पर्ने कुनै पनि काम आफ्ना तर्फबाट नहुने बाचासमेत व्यक्त गरिएको छ...”
हेर्नुहोस् जनआस्थामा प्रकाशित समाचारको लिङ्क, आर्काइभ लिङ्क र समाचार तथा फेसबुक पोस्टको स्क्रिनशटः


फेसबुक प्रयोगकर्ता MrGuru Bhattarai ले पनि सोही पत्र पोस्ट गरेका छन् । जसको क्याप्सनमा उनले लेखेका छन्, “स्यालले बाघ हुँ भनेर के गर्नु, हु हु गरिसकेछ । चुनावमा मत झरेको छैन, पहिल्यै रबि बेलुनको भारतिय प्रम मोदीको चाकरी? यस्ता टोलेगुन्डा स्टाइलले यिनले देश कहाँ पुर्याउलान् ? के होला कुटनीतिको क्षेत्र? मुकुल ढकालले ठिकै भनेका रहेछन् - वाग्ले रबि लगायतले भारतिय दुतावास छिरेर नेपाललाइ भारतको छातामुनी राख्छौं भनेको । छोरो पाउनु कहिले कहिले , कन्धनी बाट्नु अहिले?”
हेर्नुहोस् उनको फेसबुक पोस्ट र त्यसको स्क्रिनशटः

पत्रकार टिकाराम यात्रीले नेपाल प्रेसको समाचार फेसबुकमा शेयर गरेका छन् । उनको क्याप्सनमा लेखिएको छ,
"चुनावअघि नै रवि-बालेनको सत्ताभ्यास
'भावि सरकारको नेतृत्वकर्ता' को हैसियतमा भारतलाई पत्र
'ऐतिहासिक समझदारी र समसामयिक यथार्थताका आधारमा सीमा समस्या हल गर्नुपर्ने दृष्टिकोण"
हेर्नुहोस् उनको पोस्टको स्क्रिनशटः

अनुसन्धानका क्रममा पत्रमा प्रयोग गरिएका हस्ताक्षरहरूको विश्लेषण तर्फ लाग्यौँ । जुम गरेर लाइट इफेक्ट राखेर हेर्दा बालेन शाहको भनिएको हस्ताक्षर केही शङ्कास्पद देखियो । हस्ताक्षर स्पष्ट नभएर त्यस वरिपरि केही दागहरू भए जस्तो देखियो । तलका हेर्नुहोस्, उक्त हस्ताक्षरका स्क्रिनशटः


यसबाट हस्ताक्षर कुनै अन्यत्रबाट कपी गरी पत्रमा पेस्ट गरिएको जस्तो स्पष्ट सङ्केत मिल्यो । त्यसपछि हामीले सार्वजनिक रूपमा उपलब्ध कागजातमा बालेन शाहका हस्ताक्षरहरू सङ्कलन गर्न तर्फ लाग्यौँ । त्यस क्रममा रास्वपा र बालेनबिच भएको सात बुँदे सम्झौता पत्रका दुई प्रति (कपी-१ र कपी-२), कुलमान घिसिङको उज्यालो नेपाल पार्टी र रास्वपाबिच भएको पार्टी एकता सम्बन्धी सहमतिको प्रति र काठमाडौँ महानगरको प्रमुखबाटको राजीनामा पत्रको एक प्रति भेटियो । यस क्रममा एउटा तथ्य के भेटियो भने बालेन्द्र शाहको आफ्नै एउटा हस्ताक्षर अर्को हस्ताक्षरसँग दुरुस्तै मेल खाँदैन । यतिसम्म कि रास्वपासँग उनले गरेको सहमति पत्रका दुई प्रतिमै उनको हस्ताक्षर फरक फरक छ ।
हेर्नुहोस्, विभिन्न पत्रमा समावेश बालेन शाहका हस्ताक्षरः


विश्लेषणका क्रममा भारतीय प्रधानमन्त्रीलाई लेखेको भनिएको पत्रमा समावेश हस्ताक्षर फ्याक्टचेकका क्रममा सङ्कलित चार वटा हस्ताक्षर मध्ये रास्वपासँगको सहमतिपत्र (१) मा रहेको हस्ताक्षरसँग दुरुस्तै मेल खायो । हेर्नुहोस् तलको तुलनाः

यसबाट बालेन शाह र रास्वपासँग गत २८ डिसेम्बर २०२५ (१३ पुस २०८२) मा भएको सहमतिपत्रको हस्ताक्षर कपी गरी भारतीय प्रधानमन्त्रीलाई पत्राचार गरिएको भन्दै फोटोशप गरिएको नक्कली पत्रको आधारमा झुटो सूचना तथा समाचार फैलाएको निष्कर्ष निस्कियो । साथै रास्वपाका अन्तर्राष्ट्रिय सम्बन्ध विभाग प्रमुख शिशिर खनालले पार्टीको तर्फबाट प्रेस विज्ञप्ति जारी गर्दै सार्वजनिक गरिएको उक्त पत्र पूर्णतः नक्कली, किर्ते र कपोलकल्पित रहेको स्पष्ट पारिसकेका छन् ।
दाबी
नेपाल प्रेस अनलाइनले २७ फेब्रुअरी २०२६ मा “चुनावअघि नै रवि-बालेनको सत्ताभ्यास : संयुक्त हस्ताक्षरमा मोदीलाई पत्र” शीर्षकमा समाचार प्रकाशित गर्दै रवि लामिछाने र बालेन्द्र शाह (बालेन) ले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी लाई संयुक्त हस्ताक्षरमा पत्र पठाएको दाबी गरेको छ । उक्त समाचारमा आगामी आमनिर्वाचनअघि नै सरकार गठनबारे सङ्केत गर्दै भारतसँग सहयोग र सहकार्यको अपेक्षा गरिएको दुई पृष्ठ लामो पत्रको प्रतिलिपि सार्वजनिक गरिएको उल्लेख छ । सोही सामग्रीलाई आधार बनाएर अन्य केही अनलाइन माध्यम र सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले पनि चुनावमा सहयोग मागिएको र बालेन्द्र शाहलाई भावी प्रधानमन्त्रीका रूपमा अघि सारिएको दाबी गर्दै सामग्री भाइरल बनाएका छन् ।
दाबीकर्ता
उक्त दाबी सर्वप्रथम नेपाल प्रेसमा चिरञ्जीवी पौडेलको बाइलाइनमा प्रकाशित समाचारमार्फत सार्वजनिक भएको देखिन्छ । त्यसपछि जनआस्थाले सोही पत्रलाई आधार बनाएर छुट्टै समाचार तयार गरेको छ भने प्रकाश तिमल्सिना, टिकाराम यात्री, गुरु भट्टराई लगायतका फेसबुक प्रयोगकर्ताहरूले समेत उक्त पत्रको तस्वीर शेयर गर्दै भारतसँग चुनावी सहयोग मागिएको दाबी दोहोर्याएका छन् ।
तथ्य
सार्वजनिक गरिएको पत्रको प्रामाणिकताबारे टेकपाना फ्याक्टचेकले अनुसन्धान गर्दा उक्त पत्रमा औपचारिक कूटनीतिक प्रचलनअनुसारको लेटरहेड, दर्ता नम्बर वा आधिकारिक छापसमेत नभएको पाइएको छ । साथै पत्रमा समावेश बालेन्द्र शाहको भनिएको हस्ताक्षरलाई जुम गरी लाइट इफेक्टबाट विश्लेषण गर्दा कपी-पेस्ट गरिएको सङ्केत देखिएको छ । सार्वजनिक रूपमा उपलब्ध विभिन्न कागजातमा रहेका बालेन्द्र शाहकै हस्ताक्षरहरू विश्लेषण गर्दा कुनै पनि हस्ताक्षर आपसमा मेल नखाएको देखिन्छ । तर नेपाल प्रसबाट सार्वजनिक पत्रसँग तुलना गर्दा उक्त हस्ताक्षर २८ डिसेम्बर २०२५ मा राष्ट्रिय स्वतन्त्र पार्टीसँग भएको सहमतिपत्रमा प्रयोग गरिएको हस्ताक्षरसँग दुरुस्त मेल खाएको भेटियो । यसबाट सोही हस्ताक्षर डिजिटल रूपमा उतारेर अर्को कागजातमा राखिएको स्पष्ट सङ्केत मिलेको छ ।
निष्कर्ष
उपलब्ध प्रमाण, हस्ताक्षर विश्लेषण र रास्वपाको आधिकारिक खण्ड समेतको आधारमा रवि लामिछाने र बालेन्द्र शाहले नरेन्द्र मोदी लाई संयुक्त हस्ताक्षरमा पत्र पठाएको दाबी भ्रामक र असत्य ठहरिएको छ । भाइरल पत्र फोटोशपमार्फत तयार गरिएको नक्कली कागजात भएको पुष्टि भएकाले सो आधारमा प्रकाशित समाचार तथा सामाजिक सञ्जाल पोस्टहरू गलत सूचना हुन् ।

प्रतिक्रिया
तपाईँले हाम्रो वेबसाइट, सामाजिक सञ्जालका ह्यान्डल (फेसबुक, इन्स्टाग्राम, टिकटक, एक्स, युट्युब, लिङ्क्डइन) वा [email protected] मा तथ्य जाँच गर्नुपर्ने सामाजिक सञ्जालका पोस्ट पठाउन सक्नु हुनेछ । तथ्य जाँचलाई लिएर कुनै प्रतिक्रिया वा सुझाव भए हामीलाई ईमेल पठाउनु सक्नुहुनेछ ।
पछिल्लो अध्यावधिक: फागुन १५, २०८२ १:११
