close

फ्याक्टचेकः नझुक्किनुस्, स्वर्णिम वाग्लेले सवारी खरिदमा लाग्ने ३००% कर हटाउने भनेका छैनन्

फ्याक्टचेकः नझुक्किनुस्, स्वर्णिम वाग्लेले सवारी खरिदमा लाग्ने ३००% कर हटाउने भनेका छैनन्

काठमाडौँ । पछिल्ला केही दिनयता राष्ट्रिय स्वतन्त्र पार्टीका नेता तथा हालै प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित स्वर्णिम वाग्लेलाई उद्धृत गर्दै एउटा दाबी निकै भाइरल बनिरहेको छ । जसअनुसार उनले अब बन्ने सरकारले नयाँ सवारी खरिद गर्दा लाग्ने ३०० प्रतिशत कर हटाउने बताएको दाबी गरिएको छ ।

धेरै प्रयोगकर्ताले टेकपानालाई यस विषयमा फ्याक्ट चेकका लागि अनुरोध समेत गरेका छन् । यस क्रममा स्वर्णिम वाग्लेले त्यस किसिमको अभिव्यक्ति दिएको दाबी भ्रामक देखिएको छ ।

दाबी

पुर्वेली न्युज नामक एक फेसबुक पेजले १० मार्च २०२६ को दिउँसो १ः४४ बजेको समयमा स्वर्णिम वाग्लेलाई उद्धृत गर्दै एउटा पोस्ट राखेको छ । वाग्लेको फोटोसहित राखिएको उक्त पोस्टको क्याप्सन र फोटो ओभरलेमा लेखिएको छ, “अब हाम्रो सरकारले नयाँ सवारी खरिद गर्दा लाग्ने ३०० प्रतिशत कर हटाउने छः डा.स्वर्णिम वाग्ले ।”

हेर्नुहोस्, पोस्ट, आर्काइभ लिङ्क र स्क्रिनशटः 

अनुसन्धानः

यस किसिमको दाबी भाइरल भइरहेको देखेपछि टेकपाना फ्याक्टचेकले अनुसन्धान सुरु गर्‍यो । फेसबुकमा ‘३००%’ किवर्ड राखेर सर्च गर्दा यस्तै खाले दाबीसहितका अनेकौँ पोस्टहरू भेटिए । जसमध्ये All Nepal नामक फेसबुक पेजले पनि वाग्लेको फोटोसहित फेसबुकमा लेखेको छ, “डा. स्वर्णिम वाग्लेले हालको कर संरचनाअनुसार लगभग ३००% बढी सवारी साधन कर हटाउने नीति मस्यौदा तयार पारेका छन्। यस प्रस्तावले सवारी साधनको मूल्य घटाउने र आम नागरिकको कर भार कम गर्ने उद्देश्य राखेको बताइएको छ।”

हेर्नुहोस् उक्त पोस्ट र स्क्रिनशटः 

त्यस्तै Ujawal jha नामक भेरिफाइड फेसबुक पेजले लेखेको छ, “नयाँ सवारीमा लाग्दै आएको करिब ३०० प्रतिशत कर घटाउने वा हटाउने प्रस्तावले स्वाभाविक रूपमा एउटा प्रश्न उठाउँछ—के कर कम गर्दा देशको अर्थतन्त्रमा समस्या आउँछ कि आउँदैन?

विश्लेषणका हिसाबले हेर्दा अत्यधिक कर घटाउँदा सुरुवातमा सरकारको राजस्व केही घट्न सक्छ, तर कर दर घटेपछि बजार सक्रिय हुन सक्छ, सवारी खरिद बढ्न सक्छ र समग्र आर्थिक गतिविधि चलायमान हुन सक्छ। अन्ततः सही सन्तुलन मिलाइएमा कर कटौतीले अर्थतन्त्रलाई दबाब मात्र होइन, नयाँ अवसर पनि दिन सक्छ। #balen”  । पोस्टसँगै राखेको फोटोमाथि भनिएको छ, “रास्वपा सरकारले नयाँ सवारी खरिद गर्दा लाग्ने करिब ३०० प्रतिशत कर हटाउने तयारी गरेको छ। डा. स्वर्णिम वाग्ले।”

हेर्नुहोस् पोस्ट र स्क्रिनशटः 

त्यस्तै Dainik Khabar Nepal नामक अर्को फेसबुक पेजले पनि यस्तै पोस्ट राखेको छ । जसमा लेखिएको छ, “स्वर्णिम वाग्लेले भनेका छन्, “हाम्रो सरकारले नयाँ सवारीसाधन खरिद गर्दा लाग्दै आएको करिब ३०० प्रतिशत कर हटाउनेछ।” #dainikkhabarnepal #highlights #swarnimwagle #RSP

हेर्नुहोस्, पोस्ट र त्यसको स्क्रिनशटः 

भाइरल दाबी र समाचारको आधारमा धरानका पूर्व प्रमुख तथा श्रम संस्कृति पार्टीका अध्यक्ष एवं नवनिर्वाचित सांसद हर्क साम्पाङले समेत आफ्नो फेसबुक पेज Harka Sampang A Revolution मा लेखेका छन्, “३००% कर घटाएर भए नि विदेशी गाडी किन्ने नीति रैछ ! हामी भएको भए यही देशमा गाडी बनाउने नीति आउने थियो तर जनताले चाहेनन् ! जय जनता जनार्दन !”

हेर्नुहोस्, साम्पाङको पोस्ट र त्यसको स्क्रिनशटः 

खोज्दै जाने क्रममा Jhapa Chaubis Ghanta नामक फेसबुक पेजमा एउटा भिडि‌ओ भेटियो, जसको क्याप्सनमा लेखिएको छ, “कर सुधार: स्वर्णिम वाग्ले भन्छन्, सवारी साधनमा ३००% कर घटाइनेछ ||”

भिडिओमा सुरेन्द्र केसी र वाग्लेले आपसमा सम्वाद गरिरहेको सुनिन्छ । जसको ट्रान्सक्रिप्सन यस्तो छः 

सुरेन्द्र केसी: त्यो जुन दायरा छ नि हाम्रो करको जुन...

स्वर्णिम वाग्ले: त्यो सबै घट्छ । मैले लेखेको छु, त्यो ।

सुरेन्द्र केसीः त्यो त आश्चर्यजनक होइन, हाम्रो देशको ?

स्वर्णिम वाग्लेः एकदमैऽऽ

सुरेन्द्र केसीः ३०० प्रतिशतसम्म कर पनि कुनै वस्तुमा... यो कहाँबाट ल्याएको ज्ञान ?

स्वर्णिम वाग्लेः सो योऽऽऽ

सुरेन्द्र केसीः यो कहाँबाट आएको ज्ञान हो यो ?

स्वर्णिम वाग्लेः किनभने अरू वैकल्पिक स्रोतहरू, रेभेन्युका स्रोतहरू तिर यिनीहरू जाँदै गएनन् । भन्सारबाटै उठाउने चाहिँ बढी सजिलो भयो नि त, हैन? इन्फर्मल इकोनोमी ठुलो भएकोमा अब घरघरै गएर छिर्नको लागि त्यो राज्य संयन्त्रले पनि भ्याएन । नाका नाकाबाट राजस्व उठाउने परिपाटीमा हामी सजिलो उपायमा गयौँ र सबै त्यहाँ थोपरिएको छ । तेल्ले चाहिँ के गर्यो भने वास्तवमा जति रेभेन्यु उठ्नुपर्ने हो, जम्मै अब ओपन बोर्डर छ, हैन? स्मग्लिङ (Smuggling) हुन्छ। सो मेरो चाहना के छ भने समग्र करको बोझ चाहिँ स्वाट्टै घटाउने । VAT देखि इन्कम ट्याक्सदेखि कर्पोरेट ट्याक्सदेखि लिएर राजस्व चाहिँ त्यसपछि बढाउने के । रेटहरू घटाएर पनि राजस्व चाहिँ बढाउन सकिन्छ भन्ने एउटा चाहिँ हामीले प्रयोग गर्नै पर्छ यो देशमा। त्यसको लागि व्यापारिक समुदायको पनि कोअपरेसन चाहिँ चाहिन्छ ।

हेर्नुहोस्, पोस्ट र त्यसको स्क्रिन शर्ट र स्क्रिन रेकर्डः

 

त्यसपछि हामीले सुरेन्द्र केसी र स्वर्णिम वाग्ले बिचको अन्तर्वार्ताको भिडि‌ओ खोज्न युट्युब सर्च गर्‍यौँ । १९ फेब्रुअरी २०२६ मा सुनौलो नेपाल टिभी नामक युट्युब च्यानलमा ३७ः५३ मिनेट लामो भिडिओ भेटियो । उक्त भिडिओको ३१ः१५ मिनेटदेखि ३२ः१२ मिनेटसम्म सो संवाद सुन्न सकिन्छ । 

उक्त भिडिओको लिङ्कमा जानुहोस् अथवा तलको भिडिओ हेर्नुहोस् ।  

यसबाट के देखियो भने भिडिओ अन्तर्वार्तामा समग्र करको दर घटाउने र दायरा बढाउने विषय वाग्लेले बोलेका छन् । सुरेन्द्र केसीले  ‘त्यो जुन दायरा छ नि हाम्रो करको जुन…’ भन्दै गर्दा बिचैमा वाग्ले बोल्छन्, “त्यो सबै घट्छ । मैले लेखेको छु, त्यो ।”

वाग्लेको जवाफ लगत्तै केसीले ‘त्यो त आश्चर्यजनक होइन, हाम्रो देशको ?’ भन्दै प्रतिप्रश्न जोड्छन् र ‘एकदमै’ भन्दै वाग्ले त्यसमा पनि सहमति जनाउँछन् ।

त्यसपछि मात्र केसीले ३०० प्रतिशतसम्म करको प्रसङ्ग निकाल्छन् र सोध्छन्, “अनि कर प्रणाली सम्बन्धी आफ्नो धारणा राख्दै वाग्ले जवाफ दिन्छन्, “किनभने अरू वैकल्पिक स्रोतहरू, रेभेन्युका स्रोतहरू तिर यिनीहरू जाँदै गएनन् । भन्सारबाटै उठाउने चाहिँ बढी सजिलो भयो नि त, हैन? इन्फर्मल इकोनोमी ठुलो भएकोमा अब घरघरै गएर छिर्नको लागि त्यो राज्य संयन्त्रले पनि भ्याएन । नाका नाकाबाट राजस्व उठाउने परिपाटीमा हामी सजिलो उपायमा गयौँ र सबै त्यहाँ थोपरिएको छ । तेल्ले चाहिँ के गर्यो भने वास्तवमा जति रेभेन्यु उठ्नुपर्ने हो, जम्मै अब ओपन बोर्डर छ, हैन? स्मग्लिङ (Smuggling) हुन्छ। सो मेरो चाहना के छ भने समग्र करको बोझ चाहिँ स्वाट्टै घटाउने । VAT देखि इन्कम ट्याक्सदेखि कर्पोरेट ट्याक्सदेखि लिएर राजस्व चाहिँ त्यसपछि बढाउने के । रेटहरू घटाएर पनि राजस्व चाहिँ बढाउन सकिन्छ भन्ने एउटा चाहिँ हामीले प्रयोग गर्नै पर्छ यो देशमा। त्यसको लागि व्यापारिक समुदायको पनि कोअपरेसन चाहिँ चाहिन्छ ।” 

यसरी अन्तर्वार्ताको सिलसिलेवार प्रसङ्गमा हेर्दा वाग्लेले समग्र करको दर घट्ने बताएका हुन् । तर सवारी साधन खरिदमा लाग्ने ३०० प्रतिशत नै हट्ने भन्ने कुनै अभिव्यक्ति दिएका होइनन् । न त अन्तर्वार्ताकारको रूपमा रहेका सुरेन्द्र केसीले सवारी साधन भनेर नाम नै लिएका छन् । उनले केवल ३०० प्रतिशतसम्मको करको दर अस्वाभाविक रहेको प्रसङ्ग जोडेका छन् । करका दरको प्रसङ्गमा वाग्लेले ‘त्यो सबै घट्छ’ भनिसकेपछि मात्र केसीले सवारी साधन भन्ने शब्द प्रयोग नै नगरी ३०० प्रतिशतको भन्ने सन्दर्भ जोडेका छन् । 

यससँगै टेकपाना फ्याक्टचेक डेस्कले स्वर्णिम वाग्लेसँग भाइरल दाबीको विषयमा कुराकानी समेत गर्‍यो । ‘तपाईँले अब बन्ने सरकारले नयाँ सवारी खरिदमा लाग्ने ३०० प्रतिशत कर हटाउने भन्नु भएको हो ?’ भन्ने प्रश्नमा उनले भने, “मैले अहिलेसम्म त्यसरी सवारी साधन खरिदमा लाग्ने ३०० प्रतिशत कर हट्छ वा हटाउनु पर्छ भन्ने अभिव्यक्ति कहीँ कतै पनि दिएको छैन । यदि कसैले त्यस्तो दाबी गर्छ भने त्यो सरासर फेक कुरा हो । हामीले समग्र करको दर घटाउने र दायरा विस्तार गर्ने कुरा गरेका छौँ । जुन विषय हाम्रो वाचापत्रमा समेत तपाईँले हेर्न सक्नु हुन्छ । मैले करको सन्दर्भमा बोलेको भनेको त्यति मात्रै हो ।”  

दाबी

राष्ट्रिय स्वतन्त्र पार्टीका नेता तथा सांसद स्वर्णिम वाग्लेले अब बन्ने सरकारले नयाँ सवारी खरिद गर्दा लाग्ने ३०० प्रतिशत कर हटाउने बताएकाे ।

दाबीकर्ता

Purbeli News, All Nepal, Dainik Khabar Nepal लगायतका फेसबुक पेज । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङको फेसबुक पेज ।

तथ्य

युट्युब च्यानल Sunaulo Nepal TV मा १९ फेब्रुअरी २०२६ मा प्रकाशित स्वर्णिम वाग्ले र सुरेन्द्र केसी बीचको अन्तर्वार्तामा कर प्रणालीबारे छलफल भएको पाइन्छ । सो अन्तर्वार्तामा वाग्लेले समग्र कर प्रणालीको दर घटाएर दायरा विस्तार गर्ने धारणा व्यक्त गरेका छन् । वार्ताका क्रममा केसीले “३०० प्रतिशतसम्म कर पनि कुनै वस्तुमा…” भन्ने सन्दर्भ उठाए पनि वाग्लेले सवारी साधन खरिदमा लाग्ने ३०० प्रतिशत कर हटाउने वा त्यससम्बन्धी कुनै स्पष्ट प्रतिबद्धता व्यक्त गरेका छैनन् । टेलिफोन सम्पर्कमा आएका वाग्लेले आफूले त्यस किसिमको अभिव्यक्ति नदिएको कुरा समेत स्पष्ट पारेका छन् । भिडिओ क्लिप सही भए पनि त्यसलाई भ्रामक शीर्षक तथा क्याप्सन सहित भाइरल बनाइएको पुष्टि भएको छ । 

निष्कर्ष 

उपलब्ध प्रमाणका आधारमा स्वर्णिम वाग्लेले सवारी साधन खरिदमा लाग्ने ३०० प्रतिशत कर हटाउने बताएका छन् भन्ने दाबी भ्रामक देखिन्छ । उनले अन्तर्वार्तामा समग्र करको दर घटाउने र करको दायरा बढाउने विषयमा सामान्य धारणा मात्र व्यक्त गरेका हुन्, तर सवारी कर ३०० प्रतिशत हटाउने स्पष्ट अभिव्यक्ति दिएका छैनन् । भिडिओ क्लिप सही भए पनि त्यसमा राखिएको क्याप्सन र शीर्षक भ्रामक छ ।

प्रतिक्रिया

तपाईँले हाम्रो वेबसाइट, सामाजिक सञ्जालका ह्यान्डल (फेसबुक, इन्स्टाग्राम, टिकटक, एक्स, ​युट्युब, लिङ्क्डइन) वा [email protected] मा तथ्य जाँच गर्नुपर्ने सामाजिक सञ्जालका पोस्ट पठाउन सक्नु हुनेछ । तथ्य जाँचलाई लिएर कुनै प्रतिक्रिया वा सुझाव भए हामीलाई ईमेल पठाउनु सक्नुहुनेछ ।

पछिल्लो अध्यावधिक: फागुन २७, २०८२ ८:१३