close

रास्वपा नेतालाई नवनिर्वाचित सांसद भन्दै सामाजिक सञ्जालमा भ्रामक टिप्पणी, यस्तो छ वास्तविकता

टेकपाना टेकपाना

फागुन २७, २०८२ १२:५६

रास्वपा नेतालाई नवनिर्वाचित सांसद भन्दै सामाजिक सञ्जालमा भ्रामक टिप्पणी, यस्तो छ वास्तविकता

काठमाडौँ । मंगलबारदेखि सामाजिक सञ्जालमा अबिर र माला लगाएर गाडीमा यात्रा गरिरहेका एक युवाको भिडिओले निकै चर्चा पाइरहेको छ । भिडिओमा देखिएका ती युवालाई ‘नवनिर्वाचित सांसद’ भन्दै सामाजिक सञ्जाल प्रयोगकर्ताले विभिन्न नकारात्मक टिकाटिप्पणी गरिरहेका छन् । तर, वास्तविकता भने फरक रहेको पाइएको छ ।

भाइरल भिडिओमा ती युवा ठट्यौली शैलीमा आफ्नो विगतको राजनीतिक संघर्षका कथा सुनाइरहेका देखिन्छन् । भिडिओमा उनी भन्छन्, “पहिला उमेरमा रहर लाग्यो, मेयर उठौँ भनेर स्वतन्त्र उठें । बजारतिर जाँदा नछोड् चित्रे, तँजस्तो युवा चाहिएको छ भन्थे । म पनि सोझो मान्छे, जितिसकेँ भन्दै हिँडेँ । तर अन्तिममा भोटको ढोक्सो खाली ! म जस्तो सोझो मान्छेलाई ढाँटे । त्यसपछि पार्टीमा लागें । लास्टमा दुई ओटै सिट खर्लप्पै रास्वपालाई । म अहिले बाठो भएँ उनीहरूकै कारणले ।”

उनले आफू स्वतन्त्र उठ्दा हारेको तर पार्टी (रास्वपा) मा लागेपछि जिल्लाका दुवै सिट जिताउन सफल भएको प्रसंग त्यहाँ राखेका थिए । तर, यही भिडिओलाई काटेर सामाजिक सञ्जालमा उनलाई नै सांसद सम्झिँदै भ्रामक टिप्पणी गरिए ।

प्रयोगकर्ताहरूले भिडिओ शेयर गर्दै ‘यस्ता अल्लारे केटाले चुनाव जित्नु भनेको जनताप्रति सोच्ने कुरा पनि हुन सक्छ ?’, ‘हामी नेपालीले औकात अनुसारको सांसद पाएछौं’, ‘फट्याइँ गरेपछि सांसद भए’ जस्ता आलोचनात्मक प्रतिक्रिया जनाएका थिए । यस्तो सामग्री पोस्ट गर्नेमा जनता टाइम्सदेखि जनआस्थासम्म छन् । जनआस्थाले मंगलबार दिउँसो १:०६ मा “चुनाव जितेपछि रास्वपा माननीयको निश्कर्ष: 'अहिले म बाठो' क्याप्सनमा उक्त भिडिओ आफ्नो पेजमा पोस्ट गरेको छ । पछि माफी नमागी सुटुक्क क्याप्सन एडिट गरिएको छ, जसमा लेखिएको छ, “चुनाव जितेपछि रास्वपा जिल्ला सभापतिकाे निश्कर्ष : ‘अहिले म बाठो’

भिडिओ भाइरल भई नकारात्मक टिकाटिप्पणी हुन थालेपछि भिडिओमा देखिएका युवाले अर्को सन्देश जारी गर्दै वास्तविकता खुलाएका छन् । उनी नवनिर्वाचित सांसद नभई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उदयपुरका जिल्ला सभापति चित्रकुमार कार्की हुन् ।

कार्कीले एक भिडिओ सन्देशमार्फत विपक्षी दलका केही व्यक्तिले आफ्नो भिडिओलाई तोडमोड गरी राजनीतिक जीवनमै आँच पुर्‍याउने उद्देश्यले सामाजिक सञ्जालमा भाइरल गराएको स्पष्टीकरण दिएका छन् ।

उनले भनेका छन्, “त्यो दिन उदयपुर जिल्लाका दुवै सांसदहरू विजयी हुनुभएको थियो र सँगै मेरो जन्मदिन पनि परेको थियो । हामी केही सीमित साथीभाइ बसेर खुसीयाली मनाउँदै हिजोका दुःख र संघर्षका दिनहरू सम्झिएर सामान्य कुराकानी गरिरहेका थियौँ । त्यही बेलाको एउटा सानो टुक्रा भिडिओ काटेर अहिले भाइरल बनाइएको छ ।”

आफू २० वर्षदेखि उदयपुरमै बसेर संघर्ष गरिरहेको ‘भुइँमान्छे’ भएको बताउँदै कार्कीले भनेका छन्, “मैले कसैलाई लाञ्छना लगाउने वा आँच आउने गरी कुरा गरेको थिइनँ । थाहा नपाइकन यो भ्रम जसलाई पर्न गएको छ, त्यसमा म दुःख व्यक्त गर्दछु । यदि मबाट केही त्रुटि भएको रहेछ भने म सदैव सच्चिन तयार छु ।”

हालै सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ मा उदयपुरबाट रास्वपाका चित्रकुमार कार्कीले नभई अन्य दुई उम्मेदवारले चुनाव जितेका हुन् । निर्वाचन परिणाम अनुसार उदयपुर क्षेत्र नम्बर १ बाट रास्वपाका पारसमणि गोला र क्षेत्र नम्बर २ बाट रास्वपाकै सूर्यबहादुर तामाङ प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन् ।

पछिल्लो अध्यावधिक: फागुन २७, २०८२ १३:२५