close

रास्वपा सांसद गुरुङको ‘भीआईपी’ शैलीको भिडिओ भाइरल, भन्छिन्- ‘उडानको हतारो थियो, तर मैले सुरक्षा मागेकी थिइनँ’

टेकपाना टेकपाना

फागुन ३०, २०८२ १०:४

रास्वपा सांसद गुरुङको ‘भीआईपी’ शैलीको भिडिओ भाइरल, भन्छिन्- ‘उडानको हतारो थियो, तर मैले सुरक्षा मागेकी थिइनँ’

काठमाडौँ । प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ मा कास्की क्षेत्र नम्बर ३ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद बिना गुरुङले सामाजिक सञ्जालमा भाइरल भएको आफ्नो भिडिओबारे स्पष्टीकरण दिएकी छन् । युवाहरूको घेरामा ‘भीआईपी’ शैलीमा हिँडेको भिडिओ भाइरल भएपछि उनले उडानको समय सरेर हतारिएका कारण स्वयंसेवकले बाहिर निकाल्ने क्रममा उक्त दृश्य देखिएको दाबी गरेकी हुन् ।

सामाजिक सञ्जालमा केही युवाले उनलाई सुरक्षा दिँदै घेरा हालेर हिँडाएको भिडिओ भाइरल छ । उक्त भिडिओलाई लिएर सर्वसाधारणले चर्को आलोचना गरेका छन् ।

शुक्रबार सामाजिक सञ्जाल फेसबुकमा पोस्ट राख्दै सांसद गुरुङले आलोचनालाई अस्वाभाविक नमानेको र त्यस्तो अनावश्यक तामझाम कसैले पनि गर्न नहुने बताएकी छन् ।

गरुङका अनुसार यो २७ फागुनको एउटा कार्यक्रमको दृश्य हो । रास्वपा कास्की जिल्ला कमिटीले सिर्जनाचोकस्थित ह्वाइटहाउस पार्टी प्यालेसमा कास्की क्षेत्र नम्बर १, २ र ३ का नवनिर्वाचित सांसदलाई बधाई तथा मतदातालाई धन्यवाद दिन बिहान ११ बजे कार्यक्रम आयोजना गरेको थियो । तर, कार्यक्रम करिब १२ बजे मात्र सुरु भएको र माइक बिग्रिएका कारण पूर्वसांसद शिव नेपालीलाई पुनः बोल्न लगाउँदा कार्यक्रम सकिन दिउँसोको सवा २ बजेको थियो ।

उनका अनुसार सोही दिन काठमाडौँ जानका लागि बुद्ध एयरको दिउँसो ४:५० बजेको टिकट काटिएको थियो । तर, एयरलाइन्सले श्रीमानलाई फोन गरी उडान समय सारेर ३:४० मा पुर्‍याएको जानकारी गराएपछि आफू हतारिएको उनले बताएकी छन् । कार्यक्रम सकिएपछि खादा लगाउने र फोटो खिच्नेहरूको अत्यधिक भीडबाट निस्कन गाह्रो भएपछि स्वयंसेवकले उनलाई गाडीसम्म पुर्‍याएको सांसद गुरुङको दाबी छ ।

“स्वयंसेवक मित्रहरूको साथमा निस्कने क्रममा दाजुभाइहरूले मलाई घेराभित्रै लिएर आउनुभएको रहेछ, जुन भिडिओ हेर्दा मलाई पनि साह्रै अस्वाभाविक लाग्यो,” गुरुङले भनेकी छन् । उनले आफूले कुनै सुरक्षा नमागेको र घेरा हाल्ने युवाहरूलाई व्यक्तिगत रूपमा नचिन्ने पनि दाबी गरिन् ।

झन्डै १७ सेकेन्डको भाइरल भिडिओमा भने त्यति बाक्लो भिड भने देखिंदैन । भिड कम भएकाले ‘यस्तो तामझाम अनावश्यक रहेको’ तर्क सामाजिक सञ्जालमा देखिएको छ । केहीले भने स्वयंसेवकले अनावश्यक रूपमा सुरक्षा दिन खोजेर सांसद गुरुङलाई विवादमा ल्याएको दाबी गरेका छन् ।

 

पछिल्लो अध्यावधिक: फागुन ३०, २०८२ १०:४