close

नेपाली बजारमा भित्रियो सामसङ ग्यालेक्सी बड्स ४ प्रो, मूल्य ३४ हजार रुपैयाँ

टेकपाना टेकपाना

फागुन ३०, २०८२ २०:३०

नेपाली बजारमा भित्रियो सामसङ ग्यालेक्सी बड्स ४ प्रो, मूल्य ३४ हजार रुपैयाँ

काठमाडौँ । नेपाली बजारमा सामसङ ग्यालेक्सी बड्स ४ प्रो उपलब्ध भएको छ । एआई प्रविधि र अडियो इन्जिनियरिङको समिश्रण रहेको इयरबड्सले प्रयोगकर्तालाई आकर्षिक गर्ने कम्पनीले विश्वास लिएको छ ।

ग्यालेक्सी बड्स ४ प्रोमा नयाँ अडियो आर्किटेक्चरसहितको ‘टु-वे’ स्पिकर सिस्टम प्रयोग गरिएको छ । जसले डिपर बास (Deeper Bass) र स्पष्ट आवाज प्रदान गर्ने कम्पनीको भनाइ छ । यसमा रहेको ‘इन्टेलिजेन्ट एडप्टिभ एक्टिभ नोइज क्यान्सलेसन’ ले वरपरको वातावरण अनुसार अनावश्यक आवाजलाई आफैँ नियन्त्रण गर्छ ।

कल गर्ने सुविधालाई प्रभावकारी बनाउन यसमा एआई-पावर्ड नोइज रिडक्सन प्रविधि राखिएको छ । यसले भिडभाड वा होहल्ला भएको ठाउँमा पनि ब्याकग्राउन्डमा आउने आवाजलाई फिल्टर गरी प्रयोगकर्ताको आवाजलाई मात्र स्पष्ट रूपमा प्रस्तुत गर्ने बताइएको छ । बड्स ४ प्रोमा टाउको हल्लाएर कल उठाउने (Nod to accept) वा टाउको दायाँबायाँ हल्लाएर कल काट्ने (Shake to decline) जस्ता 'हेड जेस्चर' फिचरहरू छन् ।

यसपटक सामसङले इयरबड्सको डिजाइनमा केही परिवर्तन गरेको छ । यसको बाहिरी भाग म्याट फिनिसिङमा छ, जसले गर्दा प्रिमियम लुक्स अनुभव हुन्छ । चार्जिङ केसको बिर्को पारदर्शी बनाइएकाले गर्दा बड्स भित्र छ कि छैन भनेर बाहिरैबाट हेर्न सकिन्छ । कम्पनीले कानमा बड्स लगाउन निकै सजिलो रहेको र लामो समयसम्म प्रयोग गर्दा पनि कान नदुख्ने दाबी गरेको छ ।

बड्स ४ प्रोमा रहेको भ्वाइस ​डिटेक्सन फिचरअन्तर्गत यदि तपाईं बोल्न थाल्नुभयो भने यसले आफैँ बाहिरी आवाज सुनिने बनाउँछ, ताकि तपाईंले इयरबड्स ननिकाली कुरा गर्न सक्नुहोस् । त्यस्तै सामसङको नयाँ फोनसँग प्रयोग गर्दा यसले विदेशी भाषालाई तत्कालै आफ्नो भाषामा अनुवाद गरिदिन्छ । 

पसिना र धुलोबाट सुरक्षित रहनमा यसमा आईपी५७ रेटिङ छ । खेलकुद वा व्यायाम गर्दा निर्धक्क प्रयोग गर्न सकिने कम्पनीले उल्लेख गरेको छ । उसका अनुसार एकपटक फुल चार्ज गरेपछि यसलाई केससहित करिब २६ घण्टासम्म प्रयोग गर्न सकिन्छ ।

“ग्यालेक्सी बड्स ४ प्रो मार्फत हामीले प्रिमियम अडियो इन्जिनियरिङ र इन्टेलिजेन्ट एआई अनुभवलाई एकै ठाउँमा ल्याएका छौँ,” सामसङ नेपालको एमएक्स डिभिजनका सिनियर डिरेक्टर प्रणय रत्न स्थापितले भने, “यो इयरबड्सले उत्कृष्ट ध्वनि गुणस्तर र स्मार्ट सुविधाहरू प्रदान गर्दै ग्राहकको दैनिक अनुभवलाई अझ माथि उठाउनेछ ।”

नेपाली बजारमा ग्यालेक्सी बड्स ४ प्रो ब्ल्याक र ह्वाइट कलरमा उपलब्ध छ । कम्पनीले यसको मूल्य ३३ हजार ९९९ रुपैयाँ तोकेको छ । त्यस्तै, ग्यालेक्सी बड्स ४ को मूल्य २४ हजार ७९९ रुपैयाँ रहेको छ ।

ग्राहकका लागि फाइनान्स सुविधा पनि छ । सामसङ ग्यालेक्सी एस२६ सिरिजका स्मार्टफोनसँगै ग्यालेक्सी बड्स ४ प्रो खरिद गर्दा ग्राहकले २४ महिनासम्मको ईएमआई सुविधा पाउनेछन् । हुलास फिनसर्भसँगको सहकार्यमा इन्स्टा फाइनान्समार्फत यो सेवा उपलब्ध हुने कम्पनीले जनाएको छ । ग्राहकले देशभरका सामसङका आधिकारिक रिटेल स्टोरहरूबाट यी प्रडक्ट खरिद गर्न सक्नेछन् ।

पछिल्लो अध्यावधिक: चैत २, २०८२ १४:५८