close

सडकमै भ्लगर कुट्ने कार चालकको पहिचान खुल्यो, प्रहरी भन्छः फरार छन्, खोज्दैछौँ

टेकपाना टेकपाना

चैत २, २०८२ १५:१६

सडकमै भ्लगर कुट्ने कार चालकको पहिचान खुल्यो, प्रहरी भन्छः फरार छन्, खोज्दैछौँ

काठमाडौँ । शनिबार भक्तपुरको तेलकोट (नगरकोट) सडकखण्डमा ओभरटेक गरेको विषयलाई लिएर दुई जना मोटरसाइकल राइडर (भ्लगर) माथि बीच सडकमै कुटपिट गर्ने कार चालकको पहिचान खुलेको छ । जिल्ला प्रहरी परिसर भक्तपुरका अनुसार कुटपिट र अभद्र व्यवहारमा संलग्न व्यक्तिको नाम, ठेगाना र सम्पर्क नम्बर फेला परिसकेको छ । 

“व्यक्ति पहिचान भइसकेको छ, उसको नाम, नम्बर, ठेगाना सबै फेला परिसक्यो । हामी खोज्दै छौँ, अहिले उनी फरार छन्,” परिसरका प्रवक्ता प्रकाश जबेगु लिम्बुले भने । सामाजिक सञ्जालमा घटनाको भिडिओ भाइरल भएपछि प्रहरीले ती चालकको खोजी कार्यलाई तीव्रता दिएको हो । 

यद्यपि, पक्राउ परेपछि मात्रै औपचारिक रूपमा नाम सार्वजनिक गर्ने प्रहरीको तयारी छ । टेकपानाले ओपन सोर्स इन्टेलिजेन्स विधिबाट गरेको अनुसन्धान र स्थानीय व्यवसायीलेको गरेको पुष्ट्याइँका आधारमा ती व्यक्ति नगरकोट, भक्तपुरका अनुप लामा हुन् । 

भाइरल भिडिओको आधारमा उनका सामाजिक सञ्जाल अकाउन्टमा अपलोड भएका भिडिओ, त्यसमा देखिने उनको गेटअप, फेसियल रिग्निसन र लोकेसनसँग आदिको जाँच गर्दा कार चालक लामा नै रहेको पुष्टि भएको भएको हो । लामाको मोबाइल नम्बरमा सम्पर्क गर्दा स्विच अफ गरिएको पाइएको छ । 

यसैबिच सामाजिक सञ्जालमा चालक पक्राउ परिसकेको दाबी गर्दै केही ‘एआई सिर्जित’ भिडिओ समेत भाइरल भइरहेका छन् । तर प्रहरीले त्यसको खण्डन गर्दै व्यक्ति पक्राउ पर्न बाँकी रहेको स्पष्ट पारेको छ ।

सम्बन्धित समाचार:​

कार चालकद्वारा दुई बाइक राइडरमाथि सडकमै कुटपिट, भ्लग भाइरल भएपछि चालक खोज्दै प्रहरी

पछिल्लो अध्यावधिक: चैत २, २०८२ १६:१४