close

कार चालकद्वारा दुई बाइक राइडरमाथि सडकमै कुटपिट, भ्लग भाइरल भएपछि चालक खोज्दै प्रहरी

टेकपाना टेकपाना

चैत १, २०८२ १५:५

कार चालकद्वारा दुई बाइक राइडरमाथि सडकमै कुटपिट, भ्लग भाइरल भएपछि चालक खोज्दै प्रहरी

काठमाडौँ । सडकमा जथाभाबी ओभरटेक गरेको विषयमा सामान्य विवाद हुँदा एक जना कार चालकले दुई जना मोटरसाइकल राइडर (भ्लगर) लाई बीच सडकमै कुटपिट गरेको भिडिओ शनिबारदेखि सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । घटना सार्वजनिक भएपछि प्रहरीले कुटपिट र अभद्र व्यवहारमा संलग्न कार चालकको खोजी सुरु गरेको छ ।

भाइरल भिडिओमा ‘बागमती बीएसी ५२८१’ नम्बर प्लेटको स्यान्ट्रो कारका चालकले राइडर द्वयलाई अश्लील गालीगलौज गर्दै हातपात गरेको देखिन्छ । भिडिओको सुरुवातमा रोकिएको एउटा गाडीलाई उक्त कारले अचानक ओभरटेक गर्दा विपरीत दिशाबाट आइरहेका दुई राइडर दुर्घटनाबाट मुस्किलसँग जोगिएका थिए । दुर्घटना टरेपछि अगाडि गएर रोकिएका कार चालक र फर्किएर गएका राइडरबीच भनाभन हुँदा चालकले उत्रिएर आक्रमण गरेका थिए ।

भिडिओमा ज्यान मार्ने धम्की र दादागिरी
भाइरल भिडिओमा कार चालक निकै आक्रामक रूपमा प्रस्तुत भएका छन् । उनले भ्लगमा भिडिओ हाले ‘खोजी-खोजी मार्ने’ धम्की दिँदै राइडरहरूमाथि पटक-पटक हातपात गरेका छन् ।

चालकले भ्लगरको गोप्रो क्यामेरा भाँचिदिने धम्की दिएको, अश्लील गाली गरेको, बाइकको चाबी थुतेको र एउटा बाइक भुइँमा लडाइदिएको भिडिओमा प्रस्ट देखिन्छ । राइडरहरूले बारम्बार ‘हाम्रै गल्ती भयो, सरी दाइ’ भन्दै माफी माग्दा र आफूहरू घुम्न मात्र आएको बताउँदा पनि चालक शान्त हुँदैनन् । 

उल्टै उनले ‘हाइवेमा जे पनि गर्दिन्छु म’ भन्दै दादागिरी देखाएका छन् । अन्त्यमा चालकले धम्काएर राइडरमध्ये एक जनाको फोन नम्बर समेत मागेर लगेको भिडिओमा सुन्न सकिन्छ ।

पीडित राइडर र प्रहरी अनुसन्धान
पीडित राइडरहरू युट्युबमा ‘आरजी राइडर भ्लग’ (RG Rider Vlog) र ‘आरबी भ्लग लिजेन्ड’ (RB Vlog Legend) का विशाल तामाङ र लक्सकुमार राई रहेको खुलेको छ । राइडर तामाङका अनुसार यो घटना शनिबार मध्यान्ह करिब १२ बजेतिर तेलकोट (नगरकोट)  हो । 

आफूहरूमाथि कुटपिट र ज्यान मार्ने धम्की आएपछि उनीहरूले जिल्ला प्रहरी परिसर भक्तपुरमा जाहेरी दिएका छन् । “हाम्रो गल्ती केही पनि थिएन,” विशालले टेकपानासँग कुरा गर्दै भने, “उसको एरिया भनेर उसैको गल्ती हुँदा पनि हामीलाई कुट्यो । हामीले जाहेरी दिएका छौँ । हेरौँ प्रहरीले के गर्छ ?”

भक्तपुर परिसरका प्रवक्ता तथा डीएसपी प्रकाश जबेगु लिम्बुले जाहेरी परेको पुष्टि गर्दै अनुसन्धान भइरहेको बताए । “भिडिओ फुटेज कहिले र कहाँको रहेछ भन्ने विषयमा हामी हेर्दैछौँ,” डीएसपी लिम्बुले भने, “बाँकी कुरा अनुसन्धानपछि मात्र थाहा हुन्छ । सम्बन्धित पक्षलाई हामी खोजिरहेका छौँ ।”

सामाजिक सञ्जालमा तीव्र आक्रोश
उक्त घटनाको भिडिओ बाहिरिएपछि सामाजिक सञ्जाल प्रयोगकर्ताले कार चालकको हर्कतप्रति तीव्र आक्रोश व्यक्त गरिरहेका छन् । सडकमा जोखिमपूर्ण तरिकाले ओभरटेक गरेर उल्टै ज्यान मार्ने धम्की दिने र कुटपिट गर्ने चालकलाई कडाभन्दा कडा कारबाही गर्न सर्वसाधारणले माग गरेका छन् ।

सामाजिक सञ्जालमा धेरैले राइडरहरूले कानुन हातमा नलिएर संयमता अपनाएको भन्दै प्रशंसा समेत गरेका छन् । प्रयोगकर्ताले लेखेका छन्, “गलत ठाउँबाट ओभरटेक गर्ने कार चालकले उल्टै दादागिरी देखाएर बिच सडकमा मान्छे कुट्ने र धम्क्याउने काम गरेका छन् । यस्तो अन्याय सह्य हुँदैन, कानुन बमोजिम कडा कारबाही हुनैपर्छ ।” कतिपयले कुटाइ खाने दाजुभाइले न्याय पाउनुपर्ने भन्दै कार चालकलाई भाइरल बनाएर कानुनी दायरामा ल्याउन प्रहरीलाई दबाब दिइरहेका छन् ।

पछिल्लो अध्यावधिक: चैत १, २०८२ १५:१०