close

‘राइड क्यान्सिल नगरेको’ निहुँमा महिला यात्रुलाई दुर्व्यवहार गर्ने याङ्गो राइडर पक्राउ

टेकपाना टेकपाना

चैत ३, २०८२ १८:२०

‘राइड क्यान्सिल नगरेको’ निहुँमा महिला यात्रुलाई दुर्व्यवहार गर्ने याङ्गो राइडर पक्राउ

 

काठमाडौँ । ‘राइड क्यान्सिल’ नगरेको निहुँमा महिला यात्रुमाथि सार्वजनिक स्थानमै अश्लील गालीगलौज र दुर्व्यवहार गर्ने राइड शेयरिङ प्लेटफर्म ‘याङ्गो’ का एक राइडर पक्राउ परेका छन् । पक्राउ पर्नेमा काठमाडौँका ४३ वर्षीय कुमार श्रेष्ठ रहेका छन् ।

पीडित महिलाले दिएको उजुरीका आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले आरोपी श्रेष्ठलाई आइतबार टेकुबाट नियन्त्रणमा लिएको हो ।

केही दिनयता सामाजिक सञ्जालका विभिन्न प्लेटफर्ममा ती राइडरले महिला यात्रुलाई अभद्र व्यवहार गर्दै धम्काएको भिडिओ भाइरल भइरहेको छ । भाइरल भिडिओमा श्रेष्ठले निकै अश्लील र आपत्तिजनक शब्द प्रयोग गर्दै गालीगलौज गरेको सुन्न सकिन्छ ।

भाइरल भिडिओ अनुसार ती युवतीले याङ्गो बुक गरेकी थिइन् भने राइडर श्रेष्ठले सवारी चलाइरहेकै बेला रिक्वेस्ट ‘एसेप्ट’ गरेका थिए । लोकेसनमा पुगिसकेपछि गन्तव्य आफूलाई पायक नपर्ने भन्दै राइडरले युवतीलाई राइड क्यान्सिल गर्न दबाब दिएका थिए । तर, युवतीले आफूलाई हतार भएको बताउँदै ‘नहेरी किन एसेप्ट गरेको ?’ भनी क्यान्सिल गर्न अस्वीकार गरेपछि उनीहरूबिच भनाभन सुरु भएको थियो ।

विवादकै क्रममा युवतीले भिडिओ रेकर्ड गर्न थालेको थाहा पाएपछि राइडर थप जङ्गिएका थिए । युवतीले आफूलाई ‘पागल’ भनेको दाबी गर्दै उनी कुटपिटमै उत्रिने शैलीमा प्रस्तुत भएका थिए । हातपात नै नगरे पनि उनले ‘हान्दिन्छु’ भन्दै छाडा शब्दमा गाली गरेका थिए । त्यसपछि उनी बाइकमा चढेको र युवतीले ‘आफू एक्लै भएको भए यिनले के गर्थे होला’ भन्दै आक्रोश पोखेको भिडिओमा देखिन्छ ।

सार्वजनिक स्थलमै चालकले यात्रुलाई यसरी धम्काएको भिडिओ भाइरल भएपछि सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले तीव्र आलोचना गरेका थिए । ‘यसमा युवतीकै गल्ती भए पनि चालकले त्यसरी अश्लील गालीगलौज र दुर्व्यवहार गर्नु अपराध भएको’ भन्दै धेरैले नेपाल प्रहरी र उपत्यका ट्राफिक प्रहरीलाई मेन्सन गर्दै कारबाहीको माग गरेका थिए ।

यता पीडितको जाहेरीपछि पक्राउ परेका आरोपित श्रेष्ठलाई थप अनुसन्धान तथा आवश्यक कानुनी कारबाहीका लागि जिल्ला प्रहरी परिसर भद्रकाली पठाइएको प्रहरीले जनाएको छ ।

पछिल्लो अध्यावधिक: चैत ३, २०८२ १८:२०