नथिङको नयाँ ‘हेडफोन ए’ नेपाली बजारमा सार्वजनिक, १३५ घण्टासम्म ब्याट्री टिक्ने दाबी
चैत ५, २०८२ १६:२१
काठमाडौँ । आफ्नो भिन्न र आधुनिक डिजाइनका लागि परिचित प्रविधि कम्पनी ‘नथिङ’ ले नयाँ ‘हेडफोन ए’ (Headphone (a)) नेपाली बजारमा सार्वजनिक गरेको छ । पारदर्शी डिजाइन र शक्तिशाली ब्याट्री ब्याकअपलाई प्राथमिकता दिँदै कम्पनीले यो हेडफोन बजारमा ल्याएको हो ।
यसमा नथिङको ट्रेडमार्क मानिने सिग्नेचर ट्रान्सप्यारेन्ट डिजाइनलाई निरन्तरता दिइएको छ । यसको इयरकपभित्रका भागहरू बाहिरैबाट देखिने गरी बनाइएको छ ।
करिब ३१० ग्राम तौल भएको यो हेडफोन अघिल्लो मोडेलको तुलनामा हल्का छ । यसमा हेडब्यान्डलाई आफ्नो आवश्यकता अनुसार मिलाउन मिल्ने सुविधा छ भने इयरकुसनमा प्रयोग गरिएको नरम ‘मेमोरी फोम’ ले गर्दा लामो समयसम्म प्रयोग गर्दा पनि आरामदायी हुने कम्पनीको दाबी छ ।
साउन्ड क्वालिटीका लागि यसमा ४० एमएमको टाइटेनियम कोटेड डाइनामिक ड्राइभर प्रयोग गरिएको छ । यसले २० हर्जदेखि ४० किलोहर्जसम्मको फ्रिक्वेन्सी सपोर्ट गर्दछ । विशेषगरी ‘ब्यास’ (Bass) को मात्रा बढी रुचाउने प्रयोगकर्ताका लागि यो हेडफोन प्रभावकारी हुने देखिएको छ ।
यसमा ‘स्पासियल अडियो’ र ८-ब्यान्ड 'ईक्यू' (EQ) जस्ता सुविधा छन्, जसलाई नथिङको आधिकारिक ‘नथिङ एक्स’ (Nothing X) एपमार्फत कन्ट्रोल गर्न सकिन्छ । अडियो कोड्सको कुरा गर्दा यसले LDAC, AAC र SBC सपोर्ट गर्छ । “एन्ड्रोइड प्रयोगकर्ताले LDAC मार्फत उच्च गुणस्तरको आवाजको अनुभव लिन सक्नेछन् भने आईफोन प्रयोगकर्ताका लागि यो सुविधा AAC मा सीमित हुनेछ,” कम्पनीले विज्ञप्तिमा भनेको छ ।
बाहिरी अनावश्यक आवाज कम गर्न यसमा एडप्टिभ एएनसी प्रविधि जडान गरिएको छ, जसले ४० डेसिबलसम्मको बाहिरी ध्वनिलाई रोक्न सक्छ । प्रयोगकर्ताले आफ्नो आवश्यकता अनुसार एएनसी मोड वा बाहिरी आवाज सुन्नका लागि ‘ट्रान्सपेरेन्सी मोड’ छनोट गर्न सक्नेछन् ।
ब्याट्री क्षमता यस हेडफोनको सबैभन्दा सबल पक्ष हो । एएनसी बन्द गर्दा यसले लगातार १३५ घण्टासम्म र एएनसी अन गर्दा ७५ घण्टासम्म प्लेब्याक दिने कम्पनीले जनाएको छ ।
साथै, फास्ट चार्जिङ सुविधा अन्तर्गत ५ मिनेट मात्र चार्ज गर्दा पनि ८ घण्टासम्म प्रयोग गर्न सकिन्छ भने फुल चार्ज हुन करिब २ घण्टा लाग्नेछ ।
कनेक्टिभिटीका लागि यसमा अत्याधुनिक ब्लुटुथ ५.४, दुई ओटा डिभाइस एकैसाथ जोड्न मिल्ने 'मल्टी-प्वाइन्ट कनेक्टिभिटी', गुगल फास्ट पेयर र माइक्रोसफ्ट स्विफ्ट पेयर जस्ता सुविधा उपलब्ध छन् ।
साथै यसमा ३.५ एमएमको वायर्ड ज्याक सपोर्ट, कलका लागि चार ओटा माइक्रोफोन र धुलो तथा सामान्य पानीबाट जोगाउन आईपी५२ रेटिङ दिइएको छ ।
विश्व बजारमा विभिन्न रङमा उपलब्ध भए तापनि हाल नेपाली बजारमा यो 'पिंक' (गुलाबी) रङमा मात्र उपलब्ध छ । नेपाली बजारका लागि यसको मूल्य २६ हजार ९९९ रुपैयाँ तोकिएको छ।
पछिल्लो अध्यावधिक: चैत ५, २०८२ १६:२१
