उपहारको लोभ देखाएर आउने शंकास्पद मेसेज र लिङ्कमा विश्वास नगर्नू- नेपाल टेलिकम
चैत ५, २०८२ १७:२५
काठमाडाैँ । नेपाल टेलिकमले आफ्नो नाम र लोगो दुरुपयोग गरी उपहार तथा पुरस्कारको लोभ देखाएर भइरहेको ठगी (स्क्याम) प्रति ग्राहकलाई सचेत रहन आग्रह गरेको छ । अनधिकृत स्रोतहरूबाट कम्पनीको पहिचान प्रयोग गरी भ्रामक सूचना, फोन, मेसेज र लिङ्कहरू फैलिएको पाइएपछि टेलिकमले यस्तो चेतावनी दिएको हो ।
एक सूचना जारी गर्दै कम्पनीले विभिन्न कार्यक्रममार्फत उपहार वा पुरस्कार प्रदान गरिने भन्दै आउने फोन र मेसेजहरू भ्रामक हुन सक्ने स्पष्ट पारेको छ । यस्ता अनधिकृत व्यक्ति वा समूहले पठाएका शंकास्पद लिङ्कहरूमा क्लिक नगर्न र कसैलाई पनि आफ्नो व्यक्तिगत विवरण उपलब्ध नगराउन कम्पनीको अनुरोध छ ।
टेलिकमका अनुसार ह्याकर वा ठगी गर्ने गिरोहले ग्राहकलाई प्रलोभनमा पारी उनीहरूको व्यक्तिगत र वित्तीय जानकारी चोर्ने उद्देश्यले यस्ता गतिविधि गरिरहेका छन् ।
“यस प्रकारका सूचना, फोन, मेसेज वा लिङ्कहरू भ्रामक (Scam) हुन सक्ने भएकाले त्यस्ता सूचनामा विश्वास नगर्नुहुन र कुनै पनि व्यक्तिगत विवरण आदान-प्रदान नगर्नुहुन अनुरोध छ,” सूचनामा भनिएको छ ।
टेलिकमले आफ्ना ग्राहक तथा सरोकारवालाहरूलाई आधिकारिक माध्यमबाट सम्प्रेषण हुने सूचनामा मात्र विश्वास गर्न सुझाएको छ । उपहार वा अन्य योजनासम्बन्धी आधिकारिक जानकारीका लागि कम्पनीको वेबसाइट र आधिकारिक मोबाइल एप तथा सामाजिक सञ्जालका माध्यमहरू मात्र प्रयोग गर्न समेत कम्पनीले आग्रह गरेको छ ।
पछिल्लो अध्यावधिक: चैत ५, २०८२ १७:२५
