अर्थतन्त्र उकास्न शक्तिशाली ‘विज्ञान प्रविधि अनुसन्धान तथा नवप्रवर्तन मन्त्रालय’ चाहिन्छ
चैत ५, २०८२ २२:४
काठमाडौँ । पूर्व शिक्षा तथा विज्ञान प्रविधिमन्त्री एवं म्याग्दीबाट प्रतिनिधि सभा निर्वाचित सासद महावीर पुनले नेपालको अर्थतन्त्रलाई बलियो बनाउन र प्रतिभाशाली युवाहरूको विदेश पलायन रोक्न शक्तिशाली ‘विज्ञान प्रविधि, अनुसन्धान तथा नवप्रवर्तन मन्त्रालय' को आवश्यकता रहेको बताएका छन् । बिहीबार सामाजिक सञ्जालमार्फत आफ्नो धारणा राख्दै पुनले अधिकारसम्पन्न नयाँ मन्त्रालय स्थापना गर्नुपर्नेमा जोड दिएका हुन् ।
“प्रतिभाशाली युवाहरूलाई विदेश पलायन हुनबाट रोकेर उनीहरूलाई उद्यमी बनाई नेपालको अर्थतन्त्रको विकास गर्न एकदमै शक्तिशाली विज्ञान प्रविधि अनुसन्धान तथा नवप्रवर्तन मन्त्रालय चाहिन्छ ! चाहिन्छ !! चाहिन्छ !!!,” उनले लेखेका छन् ।
मन्त्रालय स्थापनासँगै पुनले अनुसन्धान र आविष्कारको क्षेत्रमा राज्यले लगानी बढाउनुपर्ने प्रमुख सर्तसमेत राखेका छन् । उनका अनुसार सरकारले वार्षिक बजेटमा कूल गार्हस्थ उत्पादन (जीडीपी) को कम्तीमा १ प्रतिशत रकम अनुसन्धान, नवप्रवर्तन र आविष्कारका लागि छुट्ट्याउनै पर्छ ।
“अनुसन्धान, नवप्रवर्तन तथा आविष्कारको लागि कूल गार्हस्थ उत्पादनको १ प्रतिशत रकम बजेटमा छुट्ट्याउनै पर्छ ! यसो गरिएन भने देश उँभो लाग्दैन है साथीहरू,” उनले लेखेका छन् ।
राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक समेत रहेका पुनले यस क्षेत्रलाई राज्यले प्राथमिकतामा राख्नुपर्ने अभियान चलाउँदै आएका छन् ।
पछिल्लो अध्यावधिक: चैत ५, २०८२ २२:४९
