काठमाडौँ । आकर्षक कमाइको प्रलोभनमा भिजिट भिसामा कम्बोडिया पुगेर अवैध ‘अनलाइन स्क्याम’ केन्द्रमा काम गर्न बाध्य थप २० नेपाली नागरिकको उद्धार गरिएको छ । अवैध रूपमा सञ्चालित क्यासिनो र अनलाइन स्क्यामिङ सेन्टरमा गैरकानुनी काममा लगाइएका तथा भिसा अवधि सकिएर अलपत्र परेका उनीहरूलाई नेपाली राजदूतावास बैंककको पहलमा स्वदेश फर्काइएको हो ।
दूतावासले बिहीबार जारी गरेको विज्ञप्तिका अनुसार कम्बोडिया सरकार र गैर-आवासीय नेपाली संघ कम्बोडियाको सहजीकरणमा उनीहरूको उद्धार सम्भव भएको हो । उद्धार गरिएका नेपालीहरू बुधबार त्यहाँबाट उडेर बिहीबार काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका छन् ।
मार्च महिनाको यो अवधिसम्म दूतावासले यसरी अनलाइन स्क्याम सेन्टरमा फसेका ६० नेपालीको उद्धार गरिसकेको छ ।
पछिल्लो समय भिजिट भिसाको बहानामा कम्बोडिया पुगेर अनलाइन ठगीको धन्दामा फस्ने नेपालीको सङ्ख्या बढेको छ । दूतावासले सार्वजनिक गरेको कम्बोडियाको पर्यटनसम्बन्धी तथ्याङ्कले नेपालीहरू भिजिट भिसामा त्यहाँ जाने दर ह्वात्तै बढेको छ । सन् २०२१ मा जम्मा १०१ जना नेपाली पर्यटक भिसामा कम्बोडिया गएकोमा यो संख्या अनपेक्षित रूपमा बढेर सन् २०२५ मा ९६७६ पुगेको छ । तथ्याङ्क अनुसार सन् २०२२ मा १९७७, सन् २०२३ मा २९४० र सन् २०२४ मा ६४०४ जना नेपाली कम्बोडिया पुगेका छन् ।
यही तथ्याङ्कलाई मध्यनजर गर्दै दूतावासले छिटो र धेरै पैसा कमाउने प्रलोभनमा भिजिट भिसाको बहाना बनाई कम्बोडिया, लाओस, म्यानमार र थाइल्याण्ड जस्ता मुलुकमा नजान कडा चेतावनी दिएको छ । दूतावासले नेपाल सरकारले तोकेको मापदण्ड बमोजिम श्रम स्वीकृति लिएर मात्र वैदेशिक रोजगारीमा जान सम्पूर्ण नेपालीमा अनुरोध गरेको छ ।
कम्पनीले राहदानी नै जफत गरिदिने
कम्बोडियाका स्क्याम सेन्टरमा काम गर्न लगाइएका नेपालीको राहदानी सम्बन्धित कम्पनीले नै जफत गरिदिने गरेको दूतावासले खुलाएको छ । एउटा स्क्याम सेन्टरबाट अर्कोमा सरुवा हुँदा राहदानी हराएको भन्दै धेरै नेपालीले गुनासो गर्ने गरेका छन् ।
यसरी राहदानी विहीन भएर नेपाल फर्कन नसकेकाको उद्धारका लागि बैंककस्थित नेपाली दूतावासले विना शुल्क ‘एकतर्फी यात्रा अनुमतिपत्र’ अर्थात ट्राभल डकुमेन्ट जारी गरिदिने व्यवस्था मिलाएको छ । यससम्बन्धी विस्तृत प्रक्रिया यहाँ क्लिक गरी दूतावासको वेबसाइटमा राखिएको छ ।
कम्बोडियामा अझै पनि अनलाइन ठगी लगायतका गैरकानुनी काममा लगाइएका र विना भिसा बसिरहेका नेपालीलाई तत्काल सम्पर्कमा आउन दूतावासले आग्रह गरेको छ । कठिन परिस्थितिमा रहेका नेपालीलाई स्वदेश फर्कन सहजीकरणका लागि एनआरएनए कम्बोडियाका प्रतिनिधि शिवराज पराजुली (+८५५ १२ २१५ ५७८), लालसिंह खड्का (+८५५ ९३ २०३ ६६६) र रामजीकुमार क्षेत्री (+८५५ ९६ ३४६ ५७८८) लाई सम्पर्क गर्न अनुरोध गरिएको छ ।
पछिल्लो अध्यावधिक: चैत ६, २०८२ १५:४१
