ट्याक्सी चालकहरूले ‘अफलाइन’ बसेर नियमितभन्दा चार गुणा बढी भाडा मागेको गुनासो
चैत ६, २०८२ १८:१२
काठमाडौँ । कलाकार लक्ष्मी बर्देवाले राइड शेयरिङ प्लेटफर्ममा आबद्ध ट्याक्सी चालकहरूले ‘अफलाइन’ बसेर नियमितभन्दा चार गुणा बढी भाडा मागेको भन्दै असन्तुष्टि व्यक्त गरेकी छन् । शुक्रबार फेसबुकमा एक पोस्ट राख्दै उनले बागबजारस्थित काठमाडौँ मोडेल हस्पिटलमा दुई घण्टाभन्दा बढी समयदेखि ट्याक्सी नपाएर अड्किनु परेको पीडा सार्वजनिक गरेकी हुन् ।
वर्षा र प्रतिकूल मौसमको मौका छोपी राइड शेयरिङ एपमा आबद्ध चालकहरू अफलाइन बस्ने र नियमितभन्दा चार गुणा बढी भाडा माग्ने गरेको उनको गुनासो छ ।
“बाबुलाइ जँचाउन आएको बागबजार काठमाडौँ मोडेल हस्पिटलमा अड्किएको २ घण्टा बढी भयो,” उनले लेखेकी छन्, “इनड्राइभ र याङ्गो भन्ने एपमार्फत निरन्तर ट्याक्सी खोजेको खोज्यै छौँ । यस्तो बेला अफलाइन बसेर मौकाको फाइदा उठाउनु र नियमित रकम भन्दा ४ गुणा बढी भाडा माग गर्नु पनि अनियमितता हो ।”
उनले अगाडि लेखेकी छन्, सकेको सहयोग अप्ठ्यारोमा गर्ने हो, ‘यही हो मौका’ भन्ने भाष्य निर्माण गर्ने होइन ।”
मौसम प्रतिकूल भएको समयमा राइड शेयरिङ एपमा आबद्ध चालकहरूले एपको निर्धारित भाडामा जान अस्वीकार गर्ने र अफलाइन बार्गेनिङ गरेर महँगो भाडा असुल्ने गरेको गुनासा बारम्बार आउने गरेका छन् ।
पछिल्लो अध्यावधिक: चैत ६, २०८२ १८:१२
