एलन मस्कले ट्वीट गर्दा लगानीकर्तालाई घाटा, अनुमानित २.६ अर्ब डलरसम्म क्षतिपूर्ति तिर्नुपर्ने
चैत ८, २०८२ ८:५
काठमाडौँ ।अमेरिकाको सान फ्रान्सिस्कोको एउटा सङ्घीय निर्णायक मण्डल (जुरी) ले टेस्लाका सीईओ एलन मस्कलाई सन् २०२२ मा ट्वीटर (अहिलेको एक्स) खरिद गर्ने ४४ अर्ब अमेरिकी डलरको सम्झौताका क्रममा लगानीकर्ताहरूलाई जानाजानी भ्रमित पारेकोमा दोषी ठहर गरेको छ । मस्कले सामाजिक सञ्जालमा गरेका पोस्टहरूका कारण ट्वीटरको शेयर मूल्यमा भारी गिरावट आएको र यसले गर्दा लगानीकर्ताहरूले ठुलो आर्थिक नोक्सानी बेहोर्नुपरेको अदालतको निष्कर्ष छ ।
यो मुद्दाको मुख्य जड मे २०२२ मा मस्कले गरेका दुईवटा ट्वीट हुन् । विशेष गरी १३ मेको ट्वीटमा उनले ट्वीटरमा रहेका नक्कली वा स्पाम अकाउन्टहरूको सङ्ख्याका कारण खरिद सम्झौता ‘अस्थायी रूपमा रोकिएको’ (temporarily on hold) बताएका थिए । द गार्डियनका अनुसार यो घोषणापछि ट्वीटरको शेयर मूल्य १० देखि २० प्रतिशतसम्मले ओरालो लागेको थियो ।
अदालतले मस्कको उक्त दाबीलाई ‘भौतिक रूपमा गलत’ (materially false) मानेको छ । किनभने उनले सम्झौतामा हस्ताक्षर गर्नुअघि नै विस्तृत जाँचबुझ (ड्यु डेलिजेन्स) गर्ने आफ्नो अधिकार त्यागिसकेका थिए । त्यसैले सम्झौता रोक्ने वा बट अकाउन्टहरूको बहानामा पछि हट्ने उनको कानुनी आधार थिएन ।
लगानीकर्ताहरूका वकिल मार्क सी मोलम्फीले कूल क्षतिपूर्ति २.६ अर्ब अमेरिकी डलरको हाराहारीमा पुग्न सक्ने अनुमान गरेका छन् । यसमध्ये करिब २.१ अर्ब डलर शेयर बेच्नेहरूलाई र बाँकी ५० करोड डलर 'अप्सन होल्डर्स'लाई जान सक्छ । निर्णायक मण्डलले प्रत्येक शेयरमा प्रति दिन ३ देखि ८ डलरसम्मको क्षतिपूर्ति दिने निर्णय गरेको छ ।
आठ सदस्यीय जुरीले मस्कका दुईवटा ट्वीटलाई भ्रामक माने पनि उनले लगानीकर्ताहरूलाई ठग्ने कुनै विस्तृत ‘योजना’ बनाएको भन्ने दाबीलाई भने अस्वीकार गरेको छ । मस्कले एक पोडकास्टमा दिएको अभिव्यक्तिलाई ‘तथ्य’ नभई ‘व्यक्तिगत विचार’ मान्दै जुरीले त्यसमा उनलाई जिम्मेवार ठहर्याउन नमानेको हो ।
मुद्दाको क्रममा मस्कले आफूलाई ट्वीटरको तत्कालीन नेतृत्वले बट अकाउन्टहरूको बारेमा झूटो विवरण दिएको दाबी गरेका थिए । मस्कले ट्वीटरका ५ प्रतिशत मात्र नक्कली अकाउन्ट रहेको दाबीलाई 'बीएस' (BS) को संज्ञा दिएका थिए । उनले आफूले जानाजानी शेयर मूल्य घटाउन नचाहेको र शेयर नबेची राख्नेहरूले अन्त्यमा फाइदा नै पाएको तर्क गरेका थिए ।
मस्कको कानुनी टिम क्विन इमानुयल उर्कुहार्ट एण्ड सुलिभानले यस फैसलालाई ‘बाटोको एउटा अवरोध’ (bump in the road) मात्र भएको बताउँदै पुनरावेदनमा जाने घोषणा गरेको छ । मस्कले यसअघि सन् २०१८ को टेस्ला सम्बन्धी ट्वीटको यस्तै मुद्दा जितेका थिए, तर यस पटकका प्रमाण र बजारमा परेको प्रभावका कारण फैसला उल्टो आएको छ ।
वकिल जोसेफ कोटचेटले इन्भेस्टिङ डट कमलाई बताए अनुसार यो फैसलाले सार्वजनिक बजारका लागि एउटा बलियो सन्देश दिएको छ । उनले भनेका छन्, "तपाईं जतिसुकै धनी र शक्तिशाली व्यक्ति भए पनि, तपाईंले कानुनको पालना गर्नैपर्छ । यो फैसलाले कोही पनि कानुनभन्दा माथि छैन भन्ने स्पष्ट पारेको छ ।"
यो मुद्दाले ठुला कम्पनीका सीईओहरूले सामाजिक सञ्जालमा गर्ने टिप्पणी र त्यसले लगानीकर्ताहरूमा पार्ने प्रभावका लागि उनीहरूलाई जवाफदेही बनाउनुपर्ने नयाँ मानक स्थापित गरेको छ ।
पछिल्लो अध्यावधिक: चैत ८, २०८२ ८:५
