close

मानिसको दिमागमा कम्प्युटर चिप राख्न व्यावसायिक स्वीकृति दिने पहिलो मुलुक बन्यो चीन

टेकपाना टेकपाना

चैत ८, २०८२ १२:५१

मानिसको दिमागमा कम्प्युटर चिप राख्न व्यावसायिक स्वीकृति दिने पहिलो मुलुक बन्यो चीन

काठमाडौँ । चीन 'इन्भेसिभ' ब्रेन–कम्प्युटर इन्टरफेस (BCI) मेडिकल डिभाइसलाई व्यावसायिक बिक्रीको स्वीकृति दिने विश्वकै पहिलो देश बनेको छ । चीनको नेसनल मेडिकल प्रोडक्ट्स एडमिनिस्ट्रेसन (NMPA) ले पक्षाघात भएका बिरामीहरूको उपचारका लागि यस्तो डिभाइस व्यावसायिक रूपमा प्रयोग गर्ने अनुमति प्रदान गरेको हो ।

अनुमति पाउनेमा 'न्युराकल मेडिकल टेक्नोलोजी' (Neuracle Medical Technology/Borui Kang) ले विकास गरेको नियो नामक उपकरण रहेको छ । अनुमति दिएसँगै मस्तिष्क र मसिनबिचको सिधा सम्बन्ध स्थापना गर्ने प्रविधिमा चीनले अग्रता लिएको छ ।

ब्रेन–कम्प्युटर इन्टरफेस (BCI) यस्तो प्रविधि हो, जसले मस्तिष्कमा उत्पन्न हुने विद्युतीय सङ्केतहरूलाई वास्तविक समयमा पढेर कम्प्युटर वा मेकानिकल उपकरणहरू नियन्त्रण गर्न सक्छ । यो प्रविधि इन्भेसिभ र नन्-इन्भेसिभ गरी दुई प्रकारको हुन्छ । इन्भेसिभ (Invasive) प्रविधिमा शल्यक्रियामार्फत मस्तिष्कभित्रै चिप वा इलेक्ट्रोडहरू प्रत्यारोपण गरिन्छ । यसले सङ्केतहरूलाई निकै स्पष्ट र छिटो सङ्कलन गर्छ । तर यो सुरक्षाका दृष्टिले चुनौतीपूर्ण मानिन्छ । त्यस्तै नन–इन्भेसिभ (Non-invasive) प्रविधिमा इलेक्ट्रोडहरू टाउकोको छालामा टाँसिन्छन् वा हेडसेट जस्तै लगाइन्छ । यो प्रयोग गर्न सजिलो भए पनि यसको सिग्नल रिजोलुसन कम हुन्छ ।

हाल स्वीकृत भएको नियो उपकरण इन्भेसिभ प्रविधि हो । यो सिक्का आकारको हुन्छ र यसलाई खप्पर भित्र प्रत्यारोपण गरिन्छ । यसमा रहेका आठवटा इलेक्ट्रोडहरू मस्तिष्कको मोटर कोर्टेक्स (चाल नियन्त्रण गर्ने भाग) मा राखिन्छन् । जब बिरामीले आफ्नो हात चलाउने सोच्छ, चिपले उक्त सङ्केत सङ्कलन गरी कम्प्युटरमा पठाउँछ र कम्प्युटरले त्यसलाई न्युम्याटिक (हावाको दबाबबाट चल्ने) ग्लोभ वा रोबोटिक हातको चालमा परिणत गरिदिन्छ ।

चीनमा गरिएको प्रदर्शनमा मेरुदण्डमा चोट लागेका कारण एक औँला पनि चलाउन नसक्ने बिरामीले आफ्नै दिमागको सङ्केत प्रयोग गरी कप समातेर पानी पिएको देखाइएको थियो । १८ महिनासम्म गरिएका ३६ वटा क्लिनिकल परीक्षणहरूमा सबै बिरामीको वस्तु समात्ने क्षमतामा सुधार आएको र केहीमा त क्षतिग्रस्त स्नायु प्रणालीमा आंशिक सुधार समेत देखिएको छ । १९ देखि ६० वर्ष उमेर समूहका बिरामीहरूमा गरिएको यो परीक्षणमा कुनै पनि नकारात्मक असर नदेखिएको बताइएको छ ।

लामो समयदेखि प्रयोगशालामा सीमित रहेको बीसीआई प्रविधिलाई आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को उदयले व्यावसायिकतातर्फ धकेलेको हो । एआईले मस्तिष्कका हजारौँ न्युरोनहरूबाट निस्कने जटिल सङ्केतहरूलाई तत्कालै विश्लेषण गर्न सम्भव बनाइ दिएको छ । यस क्षेत्रमा अहिले विश्वभर कडा प्रतिस्पर्धा छ ।

अमेरिकामा एलन मस्कको न्युरालिङ्क यस दौडमा अग्रपङ्क्तिमा छ । यसको N1 Implant मा १,०२४ इलेक्ट्रोडहरू छन् । सन् २०२५ को अन्त्यसम्म १३ जनामा यो चिप प्रत्यारोपण भइसकेको छ र उनीहरूले १५,००० घण्टाभन्दा बढी समय सोचकै भरमा भिडिओ गेम खेल्ने र रोबोटिक हात चलाउने काम गरेका छन् ।

त्यस्तै अस्ट्रेलियाको सिंक्रोन (Synchron) नामक स्टार्टअपले घाँटीको नसाबाट चिप पठाउने स्टेन्ट्रोड विधि विकास गरेको छ । जसमा खप्पर खोल्नु पर्दैन ।

जर्मनीमा आँखा समेत चलाउन नसक्ने एएलएस (ALS) का बिरामीहरूहरूलाई सञ्चार गर्न सक्षम बनाइएको छ भने दक्षिण कोरियाको उद्योग अझै प्रारम्भिक चरणमा छ र त्यहाँ अमेरिका तथा चीनको तुलनामा क्लिनिकल परीक्षणहरू निकै कम भएका छन् ।

 

चीनको राष्ट्रिय रणनीति

चीन सरकारले बीसीआईलाई आणविक फ्युजन र क्वान्टम प्रविधि जस्तै भविष्यको उद्योगको रूपमा वर्गीकृत गरेको छ । चीनले आगामी ५ वर्षमा यस क्षेत्रमा विश्वव्यापी नेतृत्व लिने १७ बुँदे रणनीति पनि सार्वजनिक गरेको छ । यस रणनीतिमा खतरनाक क्षेत्रहरू जस्तै आणविक ऊर्जा, खानी र विद्युत् उत्पादनमा पनि यो प्रविधिको परीक्षण गर्ने योजना छ ।

बीसीआई प्रविधिको प्रयोग केवल पक्षाघात भएकाहरूको उपचारमा मात्र सीमित छैन । यो स्वास्थ्य (अल्जाइमर, पार्किन्सन, डिप्रेसनको उपचार र कृत्रिम आँखा), रक्षा (ड्रोन नियन्त्रण र एक्सोस्केलेटन रोबोट) र मनोरञ्जनको क्षेत्रमा पनि विस्तार भइरहेको छ । एक्सोस्केलेटन रोबोटले मानिसको सोच अनुसार शरीर बाहिरको थप मांसपेशीको रूपमा काम गर्न सक्छ भने सैन्य ड्रोनहरूले मानिसको एकाग्रता र सोच अनुसार द्रुत गतिमा खोज तथा उद्धार कार्य गर्न सक्छन् ।

पछिल्लो अध्यावधिक: चैत ८, २०८२ १२:५२