मेरो निवासमा भेटिएको रकमबारे फैलिएको विवरण एआई जेनेरेटेड हुनुपर्छ, यो षड्यन्त्र हो: देउवा
चैत १२, २०८२ ९:७
काठमाडौँ । सरकारले आधिकारिक रूपमा सार्वजनिक नगर्दै जेनजी आन्दोलनबारे छानबिन गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोगको प्रतिवेदन बाहिरिएको छ । बुधबार विभिन्न सञ्चारमाध्यमहरूले प्रतिवेदनको पूर्ण पाठ भन्दै सार्वजनिक गरेका छन् ।
लिक भएको उक्त प्रतिवेदनमा पूर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवाले आफ्नो निवासमा फेला परेको भनिएको रकम ठुलो परिमाणको नभएको बयान दिएका छन् । प्रतिवेदनअनुसार देउवाले सामाजिक सञ्जालमा फैलिएका कतिपय विवरणहरू आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रयोग गरी तयार पारिएको षड्यन्त्रपूर्ण सामग्री भएको दाबी गरेका हुन् ।
देउवाले बुढानीलकण्ठस्थित आफ्नो निजी निवासमा प्रहरीले वडा अध्यक्षको रोहबरमा गरेको मुचुल्कामा उल्लेखित रकमबारे प्रष्टीकरण दिँदै भनेका छन्, “मेरो निवासमा भेटिएको रकमबारे मुचुल्कामा उल्लेख छ, तर त्यो ठुलो परिमाणको थिएन ।”
उनले सो रकमका बारेमा सामाजिक सञ्जालमा आएका विवरणहरू भ्रमपूर्ण रहेको उल्लेख गर्दै भने, “सामाजिक सञ्जालको विवरण एआई जेनेरेटेड हुनुपर्छ । सो सम्बन्धमा कुनै प्रहरी कार्यालयमा रिपोर्ट गरेको थिएन । यो नितान्त षड्यन्त्र हो, तर कसले गर्यो थाहा भएन ।”
यसअघि एक सार्वजनिक कार्यक्रममा पनि देउवाले आफ्नो घरमा पैसा भेटिएको आरोप झुटो भएको दाबी गरेका थिए । उनले पुराना विदेशी भिडिओलाई एआईबाट बनाएर आफूलाई फसाउने षड्यन्त्र गरिएको जिकिर गरेका थिए ।
२४ भदौमा भएको जेनजी आन्दोलनका क्रममा बुढानीलकण्ठस्थित देउवा निवासमा एक हजार, पाँच सयका नेपाली रुपैयाँ, अमेरिकी डलरका कयौँ नोटहरू फेला परेका थिए । उक्त भिडिओहरू सामाजिक सञ्जालमा निकै भाइरल पनि भएका छन् ।
देउवाको सचिवालयले त्यतिबेलै ती भिडिओहरू भ्रामक भएको भन्दै खण्डनसहितको विज्ञप्ति प्रकाशन गरेको थियो । सो पछि टेकपानाले सामाजिक सञ्जालमा भाइरल भएका देउवा निवासको दाबी गरिएको भिडिओहरू मध्ये केही भिडिओहरूलाई लिएर तथ्यजाँच गरेको थियो । तथ्यजाँचका क्रममा भिडिओहरू एआईबाट तयार नभएको र वास्तविक नै रहेको पत्ता लागेको छ ।
देउवाको घरमा पैसा भेटिएको दाबी सहितका छ ओटा टिकटक भिडिओको तथ्यजाँच गर्दा देउवा निवासको आँगन र घरभित्र पैसा भेट्टिएको भन्ने चार ओटा दाबी साँचो रहेको पाइएको हो । टेकपानाले गरेको उक्त तथ्यजाँच हेर्न यहाँ क्लिक गर्नुहोस् ।
आयोगमा दिएको बयान अनुसार २३ भदौमा देउवाले बालुवाटार पुगेर तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई सामाजिक सञ्जालमाथिको प्रतिबन्ध हटाउन आग्रह गरेका थिए । २४ गते बिहान १० बजे प्रदर्शनकारीहरू बुढानीलकण्ठस्थित निवासमा भेला भई नाराबाजी र हातपात गर्न खोज्दा केही जेनजी समूहकै युवाहरूले आफूलाई बचाएको उनले खुलाएका छन् । सोही दिन राति १० बजेतिर मात्र उनी सुरक्षित स्थानमा पुग्न सफल भएका थिए ।
“मैले कुनै राजनीतिक हस्तक्षेप वा पक्षपात गरेको छैन । २३-२४ गतेको घटनामा प्रहरीले सही आँकलन गर्न नसकेको कुरामा राजनीतिक हस्तक्षेप भएको भन्नेमा म सहमत छैन,” उनले बयानमा भनेका छन् ।
पछिल्लो अध्यावधिक: चैत १२, २०८२ १३:५५
