close

पूर्वअर्थमन्त्रीलाई पराजित गरेका विक्रम तिमिल्सिना सञ्चार तथा सूचना प्रविधि मन्त्री, को हुन् उनी ?

टेकपाना टेकपाना

चैत १३, २०८२ १३:०

पूर्वअर्थमन्त्रीलाई पराजित गरेका विक्रम तिमिल्सिना सञ्चार तथा सूचना प्रविधि मन्त्री, को हुन् उनी ?

काठमाडौँ । नवगठित बालेन शाहको नेतृत्वको सरकारमा डा विक्रम तिमिल्सिना सञ्चार तथा सूचना प्रविधिमन्त्रीमा नियुक्त भएका छन् । पहिलो पटक प्रतिनिधि सभा सदस्यमा निर्वाचनमा होमिँदा नेपाली काँग्रेसका नेता तथा पूर्व अर्थमन्त्री डा प्रकाशशरण महतलाई पराजित गरेका उनले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवार पाएका हुन् । 

नुवाकोट क्षेत्र नं १ बाट तिमिल्सिनाले २२ हजार ६०९ मत प्राप्त गरेर जित निकाल्दा महतले १८ हजार ५९७ मत प्राप्त गरेका थिए । २०८० मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट राजनीति सुरु गरेका तिमिल्सिना नुवाकोटको सामान्य किसान परिवारमा जन्मिएका थिए । २०३९ सालमा नुवाकोटको पञ्चकन्या गाउँपालिका १ अर्थात् साविक चौघडा गाविस वडा नं. ९ बानियाँटारमा जन्मिएका उनी एक दिदी र ६ दाजुभाइ मध्ये छैटौँ सन्तान हुन् । उनकी आमा हाल समेत बानियाँटारमै बस्दै आएको पञ्चकन्या-१ का वडाध्यक्ष महानन्द ढकालले बताए । 

क्षेत्रपाल माध्यमिक विद्यालयबाट एसएलसीसम्मको अध्ययन पूरा गरेका उनले त्यसपछि त्रिभुवन विश्वविद्यालयबाट गणित, अङ्ग्रेजी र अर्थशास्त्र विषय लिएर बीए अध्ययन गरे । त्यसपछि उनले त्रिभुवन विश्वविद्यालयमा अङ्ग्रेजी विषयमा स्नातकोत्तर सम्मको अध्ययन पुरा गरे । 

तिमिल्सिनाले सञ्चारमाध्यममा समेत काम गरेका थिए ।  रेडियो सगरमाथामा विसं २०६० देखि २०७० सम्ममा उनले कार्यक्रम प्रस्तोता र निर्माता भएर काम गरे । उनले राजनीति र अन्तर्राष्ट्रिय सम्बन्धमा विद्यावारिधिसम्मको अध्ययन गरेका छन् । अस्ट्रेलियाको क्विन्सल्यान्डमा रहेको ग्रिफिथ विश्वविद्यालयमाबाट विद्यावारिधि पुरा गरेका उनले काठमाडौँ मोडेल कलेजमा अध्यापन समेत गरेका थिए । तिमिल्सिनाले ‘अलि अलि चोट देउ…’ गजल संग्रह समेत सार्वजनिक गरेका छन् ।  

तिमिल्सिना रास्वपाको अन्तर्राष्ट्रिय विभागको सदस्य समेत बनेका थिए । हाल संसद हुँदै मन्त्री सम्मको यात्रा तय गरेका ४३ वर्षीय तिमिल्सिना बाल्यकालदेखि नै शालीन र अनुशासित स्वभावका भएको वडाध्यक्ष ढकाल बताउँछन् । 

उनले भने, “मेरोभन्दा उहाँको घर चार/पाँच घर तल हो ।  मैले केही समय उहाँलाई कक्षा ६ मा ६/७ महिना पढाएको पनि थिएँ । उहाँको माइलो दाइ मेरो साथी पनि हो ।”

तिमिल्सिनालाई मेहनती र काम गर्न सक्ने योग्यता भएको व्यक्तिको रूपमा चित्रण गर्दै उनले मन्त्री बनेर राम्रो काम गर्न सक्नेमा विश्वस समेत व्यक्त गरे । उनले भने, “उहाँ मेरो मतदाता पनि हो । तर, म नेपाली काँग्रेसबाट निर्वाचित वडाध्यक्ष भएका कारण उहाँलाई भोट हालिनँ । एउटा जिम्मेवार पदमा बसेको व्यक्ति भएका कारण मत हाल्न सकिनँ । तर यहाँका जनताले अत्यधिक मत दिएर विजयी बनाइदिनु भयो,”, उनले थपे, “आफ्नै वडाको वडावासी र छिमेकी मन्त्री बनिरहँदा गौरवान्वित छु । मन्त्री बन्दै गरेको भर्खरै समाचार हेरेको थिएँ, निकै खुसी महसुस गरिरहेको छु ।”

*यसअघि समाचारमा डा विक्रम तिमिल्सिनाले सरकारको प्रवक्ताको जिम्मेवारीसमेत पाएको भनी उल्लेख भएकोमा सच्याइएको छ । स.

पछिल्लो अध्यावधिक: चैत १३, २०८२ १७:१३