काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले आज प्रधानमन्त्रीको पद तथा गोपनीयताको शपथ लिएलगत्तै सामाजिक सञ्जालमा बधाई तथा शुभकामनाको ओइरो लागेको छ । पूर्वप्रधानमन्त्रीहरू, प्रमुख राजनीतिक नेताहरू, सामाजिक व्यक्तित्वहरू, सेलिब्रिटीहरू, विभिन्न देशका सरकार प्रमुख तथा आम सर्वसाधारणले फेसबुक, एक्स लगायतका प्लेटफर्ममार्फत बालेन तथा नयाँ सरकारलाई बधाई दिएका छन् ।
शपथ ग्रहण कार्यक्रममा नपुगे पनि एमाले अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जालमा पोस्ट गर्दै बालेनलाई बधाई दिएका छन् ।
“राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह प्रधानमन्त्री नियुक्त हुनु भएकोमा हार्दिक बधाई । नवनियुक्त सम्माननीय प्रधानमन्त्री शाह लगायत मन्त्रिपरिषदका सबै सदस्यको कार्यकाल सफलताको शुभकामना व्यक्त गर्दछु,” ओलीले लेखेका छन् ।
एमाले महासचिव शंकर पोखरेलले पनि फेसबुकमा पोस्ट गर्दै बधाई दिएका छन् । “राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त हुनु भएकोमा हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछु । साथै, आजै नियुक्त हुनु भएका मन्त्रिपरिषद्का सदस्यहरुलाई पनि हार्दिक बधाई तथा कार्य सफलताको शुभकामना,” पोखरेलले लेखेका छन् ।
नेपाली काग्रेसका सभापति गगन थापा फेसबुकमा लेख्छन्, “हार्दिक बधाई तथा शुभकामना ! नेपालका नवनियुक्त प्रधानमन्त्री श्री बालेन्द्र शाह तथा मन्त्रिपरिषद्का नवनियुक्त मन्त्रीहरूमा हार्दिक बधाई तथा सफल कार्यकालको हार्दिक शुभकामना व्यक्त गर्दछु। देशको समुन्नति, नागरिक अधिकार रक्षा र सुशासनको लागि सरकारका हरेक सकारात्मक प्रयासहरूमा नेपाली कांग्रेसको रचनात्मक सहयोग र साथ रहने छ । हार्दिक शुभकामना !”
कांग्रेसका निवर्तमान सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले विदेशबाटै फेसबुक स्टाटस लेख्दै बालेनलाई बधाई दिएका छन् । उनले नयाँ जिम्मेवारीमा सफलताको शुभकामना व्यक्त गरेका छन् । “राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त हुनु भएकोमा हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछु,” उनले लेखेका छन् ।
पूर्वप्रधानमन्त्रीहरू पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधव कुमार नेपाल, डा. बाबुराम भट्टराई, झलनाथ खनाल र मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले बालेनलाई शपथ ग्रहण समारोहमै गएर बधाई दिएका थिए भने प्रचण्ड र डा. भट्टराईले सामाजिक सञ्जालमा पनि बधाई पोस्ट राखेका छन् ।
राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन, उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ, मधेश केन्द्रित विभिन्न दलका नेता लगायतले पनि प्रधानमन्त्री बालेनलाई सामाजिक सञ्जालमार्फत बधाई दिएका छन् ।
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले एक्समार्फत बालेनलाई बधाई दिएका छन् । शपथ ग्रहणलगत्तै मोदीले नेपाल-भारत सम्बन्धलाई थप मजबुत बनाउने अपेक्षा गर्दै शुभकामना पठाएका छन् । “हाम्रा दुई देशका जनताको आपसी हितका लागि भारत-नेपाल मित्रता र सहकार्यलाई अझ उचाइमा पुर्याउन म यहाँसँग मिलेर काम गर्न तत्पर छु,” मोदीले भनेका छन् ।
नेपालको प्रधानमन्त्रीको रूपमा शपथ ग्रहण गर्नुभएकोमा श्री बालेन्द्र शाहज्यूलाई हार्दिक बधाई ।
— Narendra Modi (@narendramodi) March 27, 2026
यहाँको यस नियुक्तिले नेपाली जनताले यहाँको नेतृत्वप्रति राखेको विश्वासलाई प्रतिबिम्बित गर्दछ। हाम्रा दुई देशका जनताको आपसी हितका लागि भारत-नेपाल मित्रता र सहकार्यलाई अझ उचाइमा पुर्याउन म…
बालेनलाई चिनियाँ प्रधानमन्त्री ली छ्याङले बधाई सन्देश पठाउँदै दौत्य सम्बन्ध स्थापना भएको ७१ वर्षयता दुई देशले शान्ति र सहअस्तित्वका आधारमा द्विपक्षीय सम्बन्धको विकास गरिरहेको उल्लेख गरेका छन् ।
पाकिस्तानी प्रधानमन्त्री शहबाज शरिफले पनि नेपालका समकक्षी बालेनलाई बधाई दिँदै क्षेत्रीय शान्ति, स्थिरता र समृद्धिका साझा लक्ष्य अघि बढाउन बालेनसँग नजिक रहेर काम गर्न उत्सुक रहेको बताएका छन् ।
I congratulate H.E @ShahBalen on assuming office as the Prime Minister of Nepal after a landslide victory of Rashtriya Swantatra Party.
— Shehbaz Sharif (@CMShehbaz) March 27, 2026
Pakistan deeply values its longstanding and friendly relations with Nepal and looks forward to working closely with Your Excellency to further…
नेपालस्थित अमेरिकी दूतावास, बेलायती दूतावास लगायत अन्य कूटनीतिक नियोगहरूले प्रधानमन्त्री बालेन तथा नयाँ सरकारलाई औपचारिक बधाई दिएका छन् ।
बालेनलाई विभिन्न दलका शीर्षस्थ नेतासँगै जनप्रतिनिधिहरूले सामाजिक सञ्जालमार्फत बधाई दिएका छन् । त्यस्तै खेल क्षेत्रदेखि मनोरञ्जन क्षेत्रका नाम चलेका व्यक्तिहरूले बधाई दिएका छन् ।
नेपाल क्रिकेट संघका सचिव पारस खड्का लेख्छन्, “नेपालका नवनियुक्त सम्माननीय प्रधानमन्त्रीज्यू श्री बालेन्द्र शाह तथा मन्त्रिपरिषद्का नवनियुक्त मन्त्रीज्यूहरूमा बधाई तथा सफल कार्यकालको हार्दिक शुभकामना व्यक्त गर्दछु ।”
सामाजिक सञ्जालमा सेलिब्रिटी, युवा अभियन्ता, कलाकार तथा आम नागरिकहरूबाट समेत बधाईको लहर चलेको छ । इन्स्टाग्राम, फेसबुक लगायतमा #BalenPM, #NewNepal र #BalenShah ट्रेन्डिङमा पर्न थालेका छन् ।
बालेन ३६ वर्षको उमेरमा नेपालको ४०औँ प्रधानमन्त्री बनेका हुन् । गत २१ फागुनमा भएको आम निर्वाचनमा रास्वपाले झन्डै दुई तिहाइ बहुमत प्राप्त गरेपछि उनी आज प्रधानमन्त्री नियुक्त भएका हुन् ।
पछिल्लो अध्यावधिक: चैत १३, २०८२ २३:५५
