close

भारतमा ३ हजार कर्मचारी कटौती गर्दै नोकिया, के होला कारण ?

टेकपाना टेकपाना

चैत १४, २०८२ १६:२

भारतमा ३ हजार कर्मचारी कटौती गर्दै नोकिया, के होला कारण ?

काठमाडौँ । बहुराष्ट्रिय दूरसञ्चार उपकरण निर्माता कम्पनी नोकियाले भारतमा कार्यरत करिब २० प्रतिशत कर्मचारी कटौती गर्ने तयारी गरेको छ । सन् २०२५ नोभेम्बरमा सार्वजनिक गरिएको रणनीतिक योजना अनुसार कम्पनीले आफ्नो साङ्गठनिक ढाँचालाई सुदृढ बनाउन तीन हजार कर्मचारी कटौती गर्न लागेको हो ।

नोकियाले विश्वभर रहेका आफ्ना ७४ हजार १०० कर्मचारीमध्ये २० प्रतिशतसम्म कटौती गर्ने लक्ष्य राखेको छ । सोही अनुपातमा भारतमा पनि कर्मचारी कटौती हुने मनीकन्ट्रोलले स्रोतको हवाला दिँदै उल्लेख गरेको छ । २०२५ मा नोकियाले भारतमा १७ हजार ७०८ जनालाई रोजगारी दिएको थियो । विशेषगरी सन् २०२३ को पुनर्संरचनाका क्रममा सिर्जना भएका र हाल दोहोरिएका भूमिकाहरू नयाँ रणनीतिअन्तर्गत खारेज हुने बताइएको छ ।

पुनर्संरचनासँगै भारतको नेतृत्व तहमा पनि महत्त्वपूर्ण परिवर्तन गरिएको छ । १ अप्रिल २०२६ देखि लागू हुने गरी समर मित्तललाई ‘इन्डिया कन्ट्री बिजनेस लिडर’ र विभा मेहरालाई ‘इन्डिया कन्ट्री म्यानेजर’को जिम्मेवारी दिइएको छ । यसअघिका इन्डिया कन्ट्री हेड तरुण छाब्रा भने यो भूमिकाबाट बाहिरिएका छन् । मित्तलले भारतमा बजार रणनीति र टेलिकम अपरेटरसँगको समन्वय गर्नेछन् भने मेहराले सरकारी सम्बन्ध र सञ्चारको जिम्मेवारी सम्हाल्नेछिन् ।

भारतमा नोकियाको व्यावसायिक प्रदर्शनमा आएको गिरावटले पनि यो कटौतीलाई प्रश्रय दिएको मनीकन्ट्रोलले जनाएको छ । सन् २०२५ को चौथो त्रैमासमा भारतमा नोकियाको खुद बिक्री १५ प्रतिशतले घटेर ३९ करोड ३० लाख युरोमा झरेको छ । अघिल्लो वर्षको सोही अवधिमा यो ४६ करोड ३० लाख युरो थियो ।

नोकियाको मुख्य प्रतिस्पर्धी कम्पनी एरिक्सनले पनि गत वर्ष पाँच हजार कर्मचारी कटौती गरिसकेको छ र आगामी दिनमा थप कटौतीको सङ्केत दिएको छ ।

पछिल्लो अध्यावधिक: चैत १४, २०८२ १६:२