काठमाडौँ । प्रविधि कम्पनी सोनीले आफ्ना अधिकांश ‘सीएफएक्सप्रेस’ र ‘एसडी’ मेमोरी कार्डको अर्डर लिन बन्द गर्ने घोषणा गरेको छ । सोनी जापानको आधिकारिक वेबसाइटमा शुक्रबार एक सूचना जारी गर्दै सोही दिनदेखि कम्पनीले आफ्ना डिलर र सर्वसाधारण ग्राहकबाट नयाँ अर्डर लिन अस्थायी रूपमा स्थगित गर्ने जानकारी दिएको हो ।
विश्वव्यापी रूपमा देखिएको सेमीकन्डक्टरको अभाव र अन्य प्राविधिक कारणले गर्दा मागअनुसार आपूर्ति गर्न नसकिने भएपछि सोनीले यस्तो कठोर निर्णय लिएको उल्लेख गरेको छ ।
कम्पनीका अनुसार यस निर्णयबाट सीएफएक्सप्रेस टाइप ए, टाइप बी र एसडीएक्ससी/एसडीएचसी कार्डका प्रायः सबै मोडेल प्रभावित हुनेछन् । यद्यपि, टाइप बीका केही सीमित मोडेल र तल्लो तहका ‘एसएफ-यूजेड’ सिरिजका एसडी कार्ड भने हालका लागि उत्पादनमै रहने पेटापिक्सेलले जनाएको छ । बजारमा हाल मौज्दात रहेका कार्ड स्टक रित्तिउन्जेलसम्म स्टोरमा उपलब्ध हुनेछन् ।
कम्पनीले मेमोरी चिपको अभावलाई मुख्य कारण बताएको छ । यसका साथै इरानमा जारी तनावका कारण सिर्जित ‘हिलियम’ ग्यासको अभावले चिप निर्मातालाई प्रत्यक्ष असर पारेको र त्यसले गर्दा उत्पादन चक्र प्रभावित भएको विश्लेषण गरिएको छ । सोनीले आफ्नो विज्ञप्तिमा भनेको छ, “सेमीकन्डक्टरको विश्वव्यापी अभाव र अन्य बाह्य कारणले गर्दा निकट भविष्यमा मेमोरी कार्डको माग पूर्ति गर्न नसकिने देखिएको छ, त्यसैले हामीले अर्डर लिन स्थगित गर्ने निर्णय गरेका हौँ ।”
सोनीले विश्वभर ‘प्लेस्टेसन ५’ को मूल्य बढाउने घोषणा गरेकै दिन मेमोरी कार्डबारेको यो खबर सार्वजनिक हुनुलाई अर्थपूर्ण रूपमा हेरिएको छ । कम्पनीले भविष्यमा आपूर्तिको अवस्थालाई निरन्तर अनुगमन गर्ने र स्थिति सहज भएपछि मात्र अर्डर पुनः सुचारु गर्ने बताएको छ । अर्डर कहिलेदेखि खुल्छ भन्नेबारे कम्पनीले हाललाई कुनै निश्चित समयसीमा तोकेको छैन ।
यो निर्णयले विशेषगरी व्यावसायिक फोटोग्राफर र भिडियोग्राफरलाई असर पुग्ने देखिएको छ । खासगरी सोनीका उच्च क्षमताका मेमोरी कार्ड प्रयोग गर्दै आएका प्रयोगकर्ता बढी प्रभावित हुने सम्भावना रहेको छ ।
पछिल्लो अध्यावधिक: चैत १४, २०८२ १७:३२
