close

एसईईपछिको ब्रिज कोर्स र प्रवेश तयारी कक्षामा मात्रै प्रतिबन्ध लगाएका हौँः शिक्षामन्त्री

टेकपाना टेकपाना

चैत १६, २०८२ १८:४०

एसईईपछिको ब्रिज कोर्स र प्रवेश तयारी कक्षामा मात्रै प्रतिबन्ध लगाएका हौँः शिक्षामन्त्री

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले एसईई परीक्षा दिएर बसेका विद्यार्थीहरूलाई लक्षित गरी सञ्चालन गरिने ‘ब्रिज कोर्स’ र ‘इन्ट्रान्स प्रिपरेसन’ कक्षाहरूमा आगामी १ वैशाखदेखि पूर्ण रूपमा रोक लगाइने बताएका छन् ।

सोमबार मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्ने क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री पोखरेलले कक्षा ११ मा भर्ना हुनुअघि सञ्चालन गरिने यस्ता ट्युसन र कोचिङ कक्षामा प्रतिबन्ध लगाइएको प्रष्टीकरण दिए ।

“युनिभर्सिटी तह भन्दा अगाडिका एमबीबीएस, इन्जिनियरिङ पढ्ने विद्यार्थीहरुको कोचिङ सेन्टर र ट्युसन सेन्टरलाई चाहिँ कानुन बमोजिम दर्ता भएर काम गर्न दिइनेछ,” उनले भने ।

यसअघि आइतबार शिक्षा मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्ति र मन्त्री पोखरेलको सामाजिक सञ्जालको पोस्टमा प्रतिबन्धको दायराबारे फरक-फरक जानकारी अन्योल सिर्जना भएको थियो । मन्त्रालयको विज्ञप्तिमा उच्च शिक्षाका विभिन्न तहसम्मका तयारी कक्षा बन्द गर्ने उल्लेख थियो भने मन्त्री पोखरेलले केवल कक्षा १२ सम्मको दायरा तोकेका थिए ।

यही कार्यक्षेत्र र सूचनामा देखिएको तालमेल अभावका कारण मन्त्रालयले सोमबार बिहान आफ्नो वेबसाइट र फेसबुक पेजबाट उक्त सूचना हटाएको थियो । मन्त्रालयका प्रवक्ता शिवकुमार सापकोटाले चाँडै नै अर्को सूचना सार्वजनिक गर्ने जानकारी दिए ।

पछिल्लो अध्यावधिक: चैत १६, २०८२ १८:५६