अप्रिल फुलमा नेपाल प्रहरीको प्र्याङ्क, के तपाईंले पनि क्यूआर कोड स्क्यान गर्नुभयो ?
चैत १८, २०८२ १२:५८
काठमाडौँ । बुधबार नेपाल प्रहरीले आफ्ना आधिकारिक सामाजिक सञ्जाल ह्यान्डलमा राखेको एउटा पोस्टले धेरैको ध्यान खिचेको छ । पोस्टमा एउटा क्यूआर कोड राख्दै लेखिएको थियो, “तपाईं विरुद्ध कतै कुनै उजुरी वा निवेदन परेको त छैन ? सुनिश्चित गर्नका लागि एक पटक क्यूआर कोड स्क्यान गर्नुहोस् ।”
तर, जब सर्वसाधारणले आफ्नो अवस्था बुझ्न उक्त कोड स्क्यान गरे, त्यहाँ ‘अप्रिल फुल’ को सचेतनात्मक सन्देश राखिएको थियो ।
सन्देशमा लेखिएको थियो, “अप्रिल फुल ! तपाईंले स्क्यान गर्नुभएको क्यूआर कोड सचेतना अभियानका लागि हो । आज हामीले मजाक गर्यौं, तर भोलि यस्तै क्यूआरबाट तपाईं स्क्याममा पर्न पनि सक्नुहुन्छ ।”

सन्देशको तलपट्टि प्रहरीले आफूले नचिनेको व्यक्ति वा अज्ञात स्रोतबाट प्राप्त भएको क्यूआर कोड स्क्यान नगर्न, स्क्यान गर्नुअघि भेरिफाई गर्न र आफूसँगै आफ्नो परिवारका सदस्यलाई पनि यसबारे सम्झाउन सुझाव दिएको छ ।
डिजिटल ठगीका घटना बढिरहेका बेला सचेत गराउन प्रहरीले अप्रिल फुल (मूर्ख दिवस) को रचनात्मक प्रयोग गरेको हो । यो सचेतना अभियानलाई लिएर सामाजिक सञ्जालमा मिश्रित प्रतिक्रिया आइरहेको छ ।

कतिपयले ‘प्रहरीले झुक्याएरै भए पनि सही र समय सान्दर्भिक सन्देश दियो’ भन्दै तारिफ गरेका छन् भने केहीले आधिकारिक अकाउन्टबाटै झुक्याउने किसिमको सन्देश जाँदा सर्वसाधारणको विश्वास गुम्नसक्ने तर्क गरेका छन् ।
‘ट्रेन्ड पछ्याउँदै प्रोएक्टिभ पुलिसिङ’
यसै सन्दर्भमा टेकपानासँग कुरा गर्दै नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक (डीआईजी) अबि नारायण काफ्लेले बदलिँदो परिस्थिति र ट्रेन्डअनुसार युवा पुस्तालाई सचेत गराउन यस्तो शैली अपनाएको बताएका छन् ।
“अहिले वर्तमान परिस्थिति अनुसार खासगरी युवा तथा जेन-जी पुस्ता जो सजिलै प्रलोभनमा पर्ने सक्ने जोखिम छ, उनीहरूलाई अपराधबाट टाढा राख्न र सचेत बनाउन हामीले प्रविधिको प्रयोग गर्दै ट्रेन्डलाई पछ्याएका हौं,” प्रवक्ता काफ्लेले भने, “अहिलेको समाजले कस्तो सन्देश चाहन्छ र के दिँदा उहाँहरूको माइन्डसेटमा पस्छ भन्ने अध्ययन गरेरै यो अभियान चलाइएको हो ।”
प्रहरीले अपराध भएपछि अनुसन्धान गर्ने मात्र नभई घटना हुनै नदिने ‘प्रोएक्टिभ पुलिसिङ’ को अवधारणा अनुरूप एक कदम अगाडि बढेर काम गरिरहेको बताए ।
प्रहरीले यसअघि भ्यालेन्टाइन्स विकमा साइबर सुरक्षा सम्बन्धमा सचेतना फैलाएको थियो ।
“पछिल्लो समय प्रहरीको सामाजिक सञ्जालमा आइरहेका परिमार्जित र आकर्षक कन्टेन्ट प्रहरीकै आन्तरिक विज्ञ टोलीले तयार पारेको हो,” डीआईजी काफ्लेले थपे, “हामीसँग आफ्नै एआई एड्भान्स्ड एनालिटिक्स सेल र सोसल मिडिया मोनिटरिङ डेस्क छ । त्यस किसिमका विज्ञ जनशक्ति हुनुहुन्छ । उहाँहरूले नै सामाजिक सञ्जालको ट्रेन्ड, पछिल्लो पुस्ताको सोच र ठगीका नयाँ तरिकाको अध्ययन गरेर यस्ता सामग्री तयार पार्नुहुन्छ ।”
पछिल्लो अध्यावधिक: चैत १८, २०८२ १३:१८
