close

ड्राइभिङ लाइसेन्सकाे फर्म भर्दा एम-पिन आएन ? यसाे भन्छ यातायात व्यवस्था विभाग

टेकपाना टेकपाना

चैत १८, २०८२ १३:४१

ड्राइभिङ लाइसेन्सकाे फर्म भर्दा एम-पिन आएन ? यसाे भन्छ यातायात व्यवस्था विभाग

काठमाडौँ । सवारी चालक अनुमति पत्र (लाइसेन्स) को अनलाइन फर्म भर्दा एम-पिन (मोबाइल पर्सनल आइडेन्टिफिकेसन नम्बर) कोड नआउने समस्या देखिएको छ । अनलाइन आवेदनका लागि अनिवार्य रहेको एम-पिन कोड प्राप्त नहुँदा केही सेवाग्राही मर्कामा परेका छन् ।

यातायात व्यवस्था विभागका सूचना प्रविधि निर्देशक केशव खतिवडाले प्रणालीमा एकैपटक धेरै प्रयोगकर्ताको चाप पर्दा मेसेजहरू ‘पेन्डिङ’ मा बस्ने गरेको बताए । उनका अनुसार यो कुनै ठुलो प्राविधिक त्रुटि नभई प्रणालीको चाप व्यवस्थापनका क्रममा देखिएको क्षणिक समस्या हो ।

“हाम्रो प्रणालीमा हाल २०० भन्दा बढी मेसेजहरू पेन्डिङ अवस्थामा रहेका छन्,” निर्देशक खतिवडाले टेकपानासँग भने, “एकैपटक धेरै संख्यामा अनुरोध आएकाले सेवाग्राहीले तत्कालै कोड प्राप्त गर्न नसकेका हुन् । मोबाइलमा कोड आउन करिब १५ देखि २० मिनेटसम्म लाग्न सक्छ, त्यसपछि यो समस्या स्वतः समाधान हुनेछ ।”

ड्राइभिङ लाइसेन्सको अनलाइन फर्म भर्न सेवाग्राहीले सुरुमा आफ्नो व्यक्तिगत प्रोफाइल बनाउनुपर्ने हुन्छ । यस प्रक्रियाका लागि प्रणालीमा आफ्नो मोबाइल नम्बर राखेपछि उक्त नम्बरमा एम-पिन पठाइन्छ । तर, केही सेवाग्राहीले आफ्नो मोबाइलमा यस्तो कोड प्राप्त नभएको भन्दै गुनासो गरेका छन् ।

विभागले मेसेज नआएमा केही समय धैर्य गर्न र पुनः प्रयास गर्नुअघि थोरै समय पर्खन सेवाग्राहीलाई आग्रह गरेको छ । अनलाइन प्रणालीलाई थप व्यवस्थित बनाउन र पेन्डिङ मेसेजको संख्या घटाउन प्राविधिक टोलीले काम गरिरहेको समेत विभागले जनाएको छ ।

पछिल्लो अध्यावधिक: चैत १८, २०८२ १३:४१