७५ वर्ष पुगेपछि मात्र वृद्धभत्ता पाइने सूचना निराधार, भ्रममा नपर्न सरकारको आग्रह
चैत २१, २०८२ ९:४०
काठमाडौँ । सरकारले वृद्धभत्ता पाउने उमेर बढाएर ७५ वर्ष पुर्याउन लागेको भन्ने हल्लामा कुनै सत्यता नरहेको अर्थ मन्त्रालयले स्पष्ट पारेको छ । केही दिनदेखि सामाजिक सञ्जालमा वृद्धभत्ता पाउने उमेर ७० बाट बढाएर ७५ पुर्याउन लागिएको भन्दै भ्रामक सूचना फैलाइएपछि मन्त्रालयले यस्तो स्पष्टीकरण दिएको हो ।
सामाजिक सञ्जालका विभिन्न माध्यममा बालेन्द्र शाह (बालेन) नेतृत्वको ‘नयाँ सरकार’ले वृद्धभत्ताको उमेर बढाउन लागेको दाबीसहितका पोस्टहरू भाइरल भइरहेका छन् । तर, मन्त्रालयले शुक्रबार एक सूचना जारी गर्दै उक्त दाबी पूर्णतः निराधार र भ्रामक रहेको जनाएको छ ।
मन्त्रालयले जारी गरेको सूचनामा भनिएको छ, “वृद्धभत्ता पाउने उमेरबारे पछिल्लो समय भएका टीकाटिप्पणीहरूमा कुनै सत्यता छैन । यस सन्दर्भमा मन्त्रालय र माननीय मन्त्रीज्यूहरूबीच कुनै छलफल समेत नभएको स्पष्ट पार्न चाहन्छौँ ।”
पछिल्लो अध्यावधिक: चैत २६, २०८२ १६:४५
