close

प्रिमियम फिचर र आकर्षक डिजाइन सहितका स्मार्टफोन ग्यालेक्सी ए-५७ र ए-३७ को प्रि-अर्डर सुरु

टेकपाना टेकपाना

चैत २२, २०८२ १४:५३

प्रिमियम फिचर र आकर्षक डिजाइन सहितका स्मार्टफोन ग्यालेक्सी ए-५७ र ए-३७ को प्रि-अर्डर सुरु

काठमाडौँ । सामसङले ए सिरिजका नयाँ स्मार्टफोनको प्रि-अर्डर खुलाएको छ । कम्पनीले ग्यालेक्सी ए-५७ र ग्यालेक्सी ए-३७  सिरिजका फोनको प्रि-बुकिङ आइतबारदेखि खुला गरेको हो । 

ए सिरिज अन्तर्गत हालै विश्व बजारमा सार्वजनिक यी दुवै मिडरेन्ज स्मार्टफोन फ्ल्यागशिप स्तरका आर्टिफिसियल इन्टेलिजेन्स (एआई) फिचरका साथै आकर्षक डिजाइनका साथ आएका छन् ।

ग्यालेक्सी ए-५७ फाइभजीमा सामसङले डिजाइन र कार्यक्षमतामा विशेष जोड दिएको छ । यो फोन मात्र ६.९ एमएम पातलो रहेको छ, जुन अहिलेसम्मकै सबैभन्दा स्लिम ग्यालेक्सी ए सिरिजको फोन हो । यसमा प्रिमियम अल्मुनियम फ्रेम र सुरक्षाका लागि अगाडि र पछाडि दुवैतर्फ गोरिल्ला ग्लास भिक्टस प्लस राखिएको छ ।

यो फोनमा ६.७ इन्चको एचडी प्लस सुपर एमोलेड प्लस डिस्प्ले रहेको छ । जसले १२० हर्जको रिफ्रेश रेट र १९०० निट्सको पिक ब्राइटनेस सपोर्ट गर्दछ । फोनमा Exynos 1680 प्रोसेसर प्रयोग गरिएको छ, जसले अघिल्लो संस्करणको तुलनामा ३३ प्रतिशत राम्रो एनपीयू पफर्मेन्स दिने दाबी गरिएको छ । तापक्रम व्यवस्थापनका लागि यसमा १३ प्रतिशत ठुलो भेपर कुलिङ च्याम्बर पनि राखिएको छ ।

ग्यालेक्सी ए-३७ फाइभजीमा पनि ६.७ इन्चको सुपर एमोलेड १२० हर्ज डिस्प्ले समावेश छ । यसमा Exynos 1480  चिपसेट प्रयोग गरिएको छ । जसले एआई कार्यहरूलाई छिटो बनाउँछ । यो फोन ७.४ एमएम पातलो छ र यसमा पनि आईपी-६८ वाटर तथा डस्ट रेसिस्टेन्स रेटिङ दिइएको छ ।

दुवै स्मार्टफोनमा ५० मेगापिक्सेलको मुख्य क्यामेरा (f/1.8 aperture र OIS सहित) रहेको छ । ग्यालेक्सी ए-५७ मा १२ मेगापिक्सेलको अल्ट्रा-वाइड र ५ मेगापिक्सेलको म्याक्रो लेन्स छ भने ए-३७ मा ८ मेगापिक्सेलको अल्ट्रा-वाइड र ५ मेगापिक्सेलको म्याक्रो लेन्स समावेश छ । सेल्फीका लागि दुवै फोनमा १२ मेगापिक्सेलको एचडीआर फ्रन्ट क्यामेरा राखिएको छ ।

यी फोनहरूमा वन यूआई ८.५ (One UI 8.5) र एन्ड्रोइड १६ आधारित असम इन्टेलिजेन्स फिचरहरू उपलब्ध छन् । जसअन्तर्गत भ्वाइस रेकर्डिङलाई तुरुन्तै अक्षरमा उतार्ने र अनुवाद गर्ने Voice Transcription, स्क्रिनमा देखिएका वस्तुहरूलाई गोलो घेरा लगाएर खोज्न सकिने Circle to Search, तस्विरबाट अनावश्यक वस्तुहरू हटाउन सकिने Object Eraser, सजिलै टेक्स्ट निकाल्न वा फोटो सम्पादन गर्न सकिने AI Select  समावेश छन् ।

सामसङले दुवै फोनमा ५००० एमएएच क्षमताको ब्याट्री राखेको छ । जसले ४५ वाटको फास्ट चार्जिङ सपोर्ट गर्ने बताइएको छ । कम्पनीका अनुसार यसले मात्र ३० मिनेटमा ६० प्रतिशतसम्म ब्याट्री चार्ज गर्न सक्छ । सुरक्षाका लागि यसमा सामसङ नक्स भल्ट (Knox Vault) प्रविधि समावेश गरिएको छ । 

महत्त्वपूर्ण कुरा के छ भने सामसङले यी दुवै फोनका लागि ६ वर्षसम्म एन्ड्रोइड ओएस अपडेट र ६ वर्षसम्म सुरक्षा अपडेट दिने प्रतिबद्धता व्यक्त गरेको छ ।

प्रि-अर्डर खुलेसँगै कम्पनीले यी प्रोडक्टको मूल्य र नेपाली बजारमा उपलब्ध हुने कलर भेरियन्ट समेत सार्वजनिक गरेको छ । 

ए-५७ फाइभजी ८/१२ जीबी र्‍याम र २५६ जीबी रोम गरी दुई भेरियन्टमा आउनेछ । डार्क ब्लु, ग्रे र भ्वाइलेन्ट गरी तीन फरक कलरमा उपलब्ध हुने यो फोनको मूल्य ८९ हजार ९९९ (१२/२५६ जीबी भेरियन्ट) र ८४ हजार ९९९ (१२/२५६ जीबी भेरियन्ट) रुपैयाँ राखिएको छ । 

त्यस्तै ए-३७ फाइभजी ८/१२ जीबी र्‍याम र १२८/२५६ जीबी रोम मिलाएर तीन फरक भेरियन्टमा नेपाली बजारमा उपलब्ध हुनेछ । डार्क ग्रिन, लाइन भ्वाइलेन्ट र ग्रे गरी तीन फरक कलरमा उपलब्ध हुने यो फोनको मूल्य १२/२५६ जीबी का लागि ७९ हजार ९९९ रुपैयाँ, ८/२५६ जीबीको ७२ हजार ९९९ रुपैयाँ र ८/१२८ जीबीको ६४ हजार ९९९ रुपैयाँमा रहेको छ ।

सामसङ नेपालका अनुसार १२ जीबी र्‍याम तथा २५६ जीबी स्टोरेज भएको ग्यालेक्सी ए-५७ फाइभजीको प्रि-अर्डरमा चार हजार रुपैयाँ बराबरको मेमोरी अपग्रेड सुविधा पाइनेछ । त्यस्तै ग्यालेक्सी ए-३७ फाइभजीको ८ जीबी तथा २५६ जीबी भेरियन्ट र १२ जीबी तथा २५६ जीबी भेरियन्टमा २५०० रुपैयाँ बराबरको मेमोरी अपग्रेड उपलब्ध गराइएको छ ।

कम्पनीले यी फोनहरू २४ महिनासम्मको ईएमआईमा खरिद गर्न सकिने सुविधा पनि दिएको छ । यसरी फोन खरिद गर्दा प्रति महिना ईएमआई १,७६४ रुपैयाँदेखि सुरु हुनेछ । यस बाहेक पुरानो फोनसँग नयाँ फोन एक्स्चेन्ज गर्न सकिने सुविधा समेत उपलब्ध रहेको कम्पनीले जनाएको छ । यी दुवै फोनको प्रि-अर्डर आउँदो १० अप्रिलसम्म गर्न सकिनेछ ।

पछिल्लो अध्यावधिक: चैत २२, २०८२ १४:५३