close

२९ लाख थान ब्याकलग ड्राइभिङ लाइसेन्स २०८३ असारभित्र छापिसक्ने सरकारको घोषणा

टेकपाना टेकपाना

चैत २३, २०८२ १९:५१

फाइल तस्बिर फाइल तस्बिर

काठमाडौँ । सरकारले लामो समयदेखि मुद्रण हुन बाँकी रहेका करिब २९ लाख थान सवारी चालक अनुमति पत्र (स्मार्ट लाइसेन्स) आगामी २०८३ असार मसान्तभित्र छपाइ सम्पन्न गर्ने लक्ष्य सार्वजनिक गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले शुक्रबार स्वीकृत गरेको ‘प्रमुख सुधारात्मक कार्यक्रम’ अन्तर्गत लाइसेन्स वितरणमा देखिएको वर्षौँदेखिको अन्योल र ढिलाइ अन्त्य गर्न यस्तो समयसीमा तोकेको हो ।

सरकारले अब लाइसेन्स छपाइको कामलाई युद्धस्तरमा अघि बढाउने बताउँदै आएको छ । हाल छपाइ हुन बाँकी रहेका करिब २९ लाख लाइसेन्सहरू आगामी २०८३ असार मसान्तभित्रै मुद्रण गरी सम्बन्धित कार्यालयहरूमार्फत वितरण गर्ने योजना ल्याइएको छ । यसका लागि सुरक्षण मुद्रण केन्द्रको अत्याधुनिक छपाइ मसिनलाई पूर्ण क्षमतामा परिचालन गरिने बताइएको छ ।

नयाँ आवेदन दिने सवारी चालकका हकमा भने सरकारले छरितो व्यवस्था सुरु गरेको छ । यातायात व्यवस्था विभागबाट तथ्याङ्क प्राप्त भएको २४ घण्टाभित्रै सुरक्षण मुद्रण केन्द्रको मसिनद्वारा गुणस्तरीय छपाइ गरी हस्तान्तरण गर्ने व्यवस्था मिलाइएको छ ।

मन्त्रिपरिषद्को गत १३ चैतको निर्णय बमोजिम ‘नतिजामा आधारित शासकीय प्रबन्ध’ कार्यान्वयन गर्न सञ्चार मन्त्रालयले यो सुधारको मार्गचित्र अघि सारेको हो । लाइसेन्स छपाइमा देखिएको ढिलाइका कारण लाखौँ नागरिकले रसिदका भरमा सवारी चलाइरहेका छन् ।

पछिल्लो अध्यावधिक: चैत २३, २०८२ २०:१२