close

विदेशी मिडियामा नेपालको ‘फेक रेस्क्यु’ स्क्यामबारे भ्रम फैलिएपछि सीआईबीले निकाल्यो अङ्ग्रेजीमा विज्ञप्ति

टेकपाना टेकपाना

चैत २४, २०८२ २३:२६

विदेशी मिडियामा नेपालको ‘फेक रेस्क्यु’ स्क्यामबारे भ्रम फैलिएपछि सीआईबीले निकाल्यो अङ्ग्रेजीमा विज्ञप्ति

काठमाडौँ । नेपालको हिमाली क्षेत्रमा भइरहेको भनिएको ‘फेक रेस्क्यु’ (नक्कली उद्धार) प्रकरणका विषयमा अन्तर्राष्ट्रिय सञ्चार माध्यम र सामाजिक सञ्जालमा भ्रामक सूचना फैलिएपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले त्यसको खण्डन गरेको छ । विशेषगरी विदेशी नागरिक र अन्तर्राष्ट्रिय समुदायमाझ गलत सन्देश गएपछि ब्युरोले अङ्ग्रेजी भाषामै प्रेस विज्ञप्ति जारी गर्दै यस्ता समाचारमा कुनै सत्यता नभएको प्रस्ट पारेको हो ।

विगत केही समयदेखि विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमले सगरमाथा क्षेत्रका गाइडहरूले पर्यटकको खानामा नियोजित रूपमा ‘विषाक्त पदार्थ’ मिसाएर उनीहरूलाई बिरामी पार्ने र हेलिकोप्टरमार्फत उद्धार गराई बीमा रकम ठगी गर्ने गरेको दाबीसहितका समाचार सम्प्रेषण गरेका थिए । यस्ता समाचारले नेपालको पर्यटन क्षेत्रमा नकारात्मक असर पुर्‍याएको भन्दै सीआईबीले हालसम्मको अनुसन्धानबाट ती दाबी पुष्टि हुने कुनै पनि प्रमाण फेला नपरेको जनाएको छ ।

सीआईबीका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) शिवकुमार श्रेष्ठद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “हालसम्मको अनुसन्धानका क्रममा पर्यटकलाई नियोजित रूपमा विषालु पदार्थ खुवाएर बिरामी बनाइएको भन्ने दाबी पुष्टि हुने कुनै आधार भेटिएको छैन । यस्ता अपुष्ट, भ्रामक र आधारहीन सामग्रीहरू प्रकाशन तथा प्रसारण गर्नु गैरकानुनी कार्य हो ।”

ब्युरोले यस्ता भ्रामक समाचारका पछि नलाग्न र भ्रम नफैलाउन सबैमा आग्रह गरेको छ । विदेशी पर्यटकको सुरक्षा र नेपालको अन्तर्राष्ट्रिय छविलाई ध्यानमा राख्दै सीआईबीले यस प्रकरणको सूक्ष्म अनुसन्धान गरिरहेको र अहिलेसम्म विषाक्त खाना खुवाइएको भन्ने तथ्य कतैबाट पनि नदेखिएको विज्ञप्तिमा उल्लेख छ ।

यसअघि नेपाली भाषामा मात्रै विज्ञप्ति निकालेको सीआईबीले मङ्गलबार भने आफ्नो २० लाखभन्दा बढी फलोअर भएको फेसबुक पेज र ९ लाख हाराहारी फलोअर रहेको एक्स ह्यान्डलबाट अङ्ग्रेजी संस्करणको विज्ञप्ति सार्वजनिक गरेको हो ।

पछिल्लो अध्यावधिक: चैत २४, २०८२ २३:४३