close

सामसङले हटाउने भयो आफ्नै मेसेजिङ एप, अब गुगल मेसेज ‘डिफल्ट’ हुने

टेकपाना टेकपाना

चैत २४, २०८२ ०:४७

सामसङले हटाउने भयो आफ्नै मेसेजिङ एप, अब गुगल मेसेज ‘डिफल्ट’ हुने

काठमाडौँ । दक्षिण कोरियाली प्रविधि जायन्ट सामसङले आफ्ना ग्यालेक्सी स्मार्टफोनहरूमा लामो समयदेखि उपलब्ध गराउँदै आएको ‘सामसङ मेसेज’ एपलाई क्रमशः हटाउने घोषणा गरेको छ । आफ्ना डिभाइसमा दोहोरिने एपहरू घटाउने र एउटै स्तरको मेसेजिङ अनुभव प्रदान गर्ने नीतिका स्वरूप सामसङले गुगल मेसेजलाई प्राथमिकता दिन लागेको हो ।

कम्पनीले ग्यालेक्सी जेड फोल्ड ६ र जेड फ्लिप ६ लगायतका नयाँ मोडेलहरूबाट यो परिवर्तन सुरु गरिसकेको छ । यद्यपि, पुराना प्रयोगकर्ताहरूले अझै केही समय यो एप प्रयोग गर्न सक्ने भए तापनि सामसङले सन् २०२६ सम्ममा यसलाई पूर्ण रूपमा विस्थापित गरी गुगल मेसेजलाई मात्र निरन्तरता दिने लक्ष्य राखेको छ ।

सामसङले आफ्ना प्रयोगकर्तालाई अबदेखि गुगलको आधिकारिक ‘गुगल मेसेज’ एप प्रयोग गर्न आग्रह गर्दै यसका लागि आवश्यक तयारी सुरु गरिसकेको छ । ग्यालेक्सी फोनका प्रयोगकर्तालाई यो परिवर्तनका बारेमा जानकारी दिन एपभित्रै नोटिफिकेसन पठाइनेछ, जसको माध्यमबाट प्रयोगकर्ताले सहजै आफ्ना पुराना कुराकानीहरू गुगल मेसेजमा सार्न सक्नेछन् ।

गुगल मेसेजमा सर्दा प्रयोगकर्ताले सुरक्षा र सुविधाहरूमा ठूलो परिवर्तन महसुस गर्नेछन् । यसमा रहेको रिच कम्युनिकेसन सर्भिस अर्थात् आरसीएस प्रविधिका कारण इन्टरनेटको प्रयोग गरी उच्च गुणस्तरका तस्बिर र भिडिओ पठाउन सकिन्छ । साथै, यसमा रियल-टाइम टाइपिङ इन्डिकेटर जस्ता फिचर पनि उपलब्ध छन् ।

सुरक्षाका दृष्टिले गुगल मेसेजमा आबद्ध भएपछि प्रयोगकर्ताले कुनै पनि शंकास्पद वा मालवेयरयुक्त मेसेज प्राप्त गर्दा तुरुन्तै ‘स्पाम प्रोटेक्सन’ अलर्ट पाउनेछन् ।

गुगल मेसेजमा गुगलको आर्टिफिसियल इन्टेलिजेन्स जेमिनाईलाई पनि समावेश गरिएको छ । यसको सहयोगले प्रयोगकर्ताले साधारण टेक्स्ट कमान्डकै भरमा तत्कालै जवाफ लेख्न, नयाँ तस्बिर वा स्टिकर तयार पार्न सक्नेछन् । यसका साथै मल्टि-डिभाइस कनेक्टिभिटी फिचरमार्फत एउटै गुगल आईडी प्रयोग गरी फोन, ट्याब्लेट र कम्प्युटरमा पनि मेसेजहरू सिङ्क गर्न सकिनेछ ।

सामसङ मेसेजबाट गुगल मेसेजमा कसरी सर्ने ?
१. आफ्नो फोनमा रहेको Google Messages एप खोल्नुहोस् । (यदि छैन भने प्ले स्टोरबाट डाउनलोड गर्नुहोस् ।)
२. एप खोल्नासाथ तपाईंलाई यसलाई ‘डिफल्ट’ बनाउने मेसेज देखिनेछ, त्यहाँ 'Set as default' मा क्लिक गर्नुहोस् ।
३. त्यसपछि सूचीबाट गुगल मेसेज (सेतो ब्याकग्राउन्डमा निलो रङको आइकन) छनोट गर्नुहोस् ।

पछिल्लो अध्यावधिक: बैशाख ९, २०८३ ०:४३