काठमाडौँ । नेपाल प्रहरीले नागरिकका उजुरी र निवेदनमाथि भइरहेको कारबाहीबारे जानकारी दिन सबै इकाइमा नयाँ व्यवस्था सुरु गरेको छ । यससँगै अबदेखि प्रहरी कार्यालयमा दर्ता भएका उजुरी, निवेदन वा जाहेरीको प्रगति विवरण सेवाग्राहीले आफ्नै मोबाइलमा फोन वा एसएमएस मार्फत प्राप्त गर्नेछन् ।
प्रहरीका अनुसार मुद्दा दर्ता हुने सबै एकाइमा यो व्यवस्था लागु गरिएको हो । सेवाग्राहीले प्रहरीमा उजुरी वा निवेदन दिँदा उपलब्ध गराएको सम्पर्क नम्बरमा प्रहरीले नै सम्पर्क गरी पछिल्लो अवस्थाबारे जानकारी गराउनेछ ।
“नेपाल प्रहरीका मुद्दा दर्ता हुने प्रहरी एकाइहरूसम्म सेवाग्राहीबाट प्राप्त हुन आएका उजुरी, निवेदन, गुनासो, जाहेरी दरखास्त आदि दर्ता भएपश्चात् त्यसको प्रगति के भयो र के-कसरी कार्यान्वयन भइरहेको छ, सो सम्बन्धमा सम्बन्धित सेवाग्राहीहरूले दिनुभएको सम्पर्क नम्बरमा फोन गरेर वा एसएमएस मार्फत सूचना दिने व्यवस्था लागू गरिएको व्यहोरा जानकारी गराउँदछौं,” प्रहरीले बुधबार जारी गरेको सूचनामा भनेको छ ।
पछिल्लो अध्यावधिक: चैत २५, २०८२ २१:१८
