close

डेटा प्याक सकिएपछि ब्यालेन्स नकाटिने सुविधा २ वर्षअघिदेखि नै उपलब्ध गराएका हौँ- एनसेल

टेकपाना टेकपाना

चैत २६, २०८२ १७:२०

डेटा प्याक सकिएपछि ब्यालेन्स नकाटिने सुविधा २ वर्षअघिदेखि नै उपलब्ध गराएका हौँ- एनसेल

काठमाडौँ । निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले ग्राहकको मेन ब्यालेन्स सुरक्षाका लागि ‘पे एज यू गो’ नियन्त्रण गर्न मिल्ने सुविधा विगत दुई वर्षदेखि नै उपलब्ध गराउँदै आएको स्पष्ट पारेको छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको निर्देशनपछि नेपाल टेलिकमले हालै मात्र डेटा प्याकेज सकिएपछि स्वतः ब्यालेन्स नकाटिने प्रणाली कार्यान्वयनमा ल्याएको सन्दर्भमा एनसेलले आफ्ना ग्राहकका लागि यो विकल्प पहिलेदेखि नै सञ्चालनमा रहेको जानकारी दिएको हो ।

डेटा प्याक सकिएपछि मेन ब्यालेन्सबाट डेटा चलाउने वा सेवा बन्द गर्ने भन्ने निर्णय गर्ने पूर्ण अधिकार ग्राहकलाई नै दिएको एनसेलको भनाइ छ । एनसेल ग्राहकले आफ्नो मोबाइलबाट *९००५*५# डायल गरी आफ्नो प्राथमिकता छनोट गर्न सक्छन् ।

उक्त यूएसएसडी कोड डायल गरेपछि मोबाइलको स्क्रिनमा देखिने विकल्पहरूबाट ग्राहकले ‘पे एज यू गो’ सेवा आवश्यकता अनुसार सक्रिय वा निष्क्रिय गर्न सकिने छ ।

यदि ग्राहकले यो सेवा निष्क्रिय गरेमा डेटा प्याक सकिएपछि मेन ब्यालेन्सबाट स्वतः पैसा काटिने छैन । यसका साथै, सोही मेनुमार्फत ग्राहकले ‘सधैँ अन’ (Sadhain ON) सेवाको नवीकरण गर्ने र ‘सजिलो’ (Sajilo) प्लानमा लाग्ने जस्ता सुविधाहरू पनि आफैँ मिलाउन सक्ने एनसेलले जनाएको छ।

 

पछिल्लो अध्यावधिक: चैत २६, २०८२ १७:२०