काठमाडौँ । सरकारले पुराना पेट्रोलियम सवारी साधनलाई विद्युतीय (ईभी) मा रूपान्तरण गर्न कानुनी बाटो खोल्ने निर्णय गरेसँगै काठमाडौँ विश्वविद्यालयले इच्छुक व्यवसायीहरूलाई प्राविधिक तालिम दिन तयार रहेको जनाएको छ । चार वर्षअघि नै पेट्रोलियम गाडीलाई विद्युतीयमा रूपान्तरण गर्ने प्रविधि विकास गरेको विश्वविद्यालयले सरकारको पछिल्लो निर्णयको स्वागत गर्दै व्यवसायीलाई सघाउने प्रतिबद्धता जनाएको हो ।
गत आइतबारको मन्त्रिपरिषद् बैठकले पुराना सवारी साधनलाई ईभीमा रूपान्तरण गर्न आवश्यक कानुनी व्यवस्था गर्ने निर्णय गरेको थियो । यस निर्णयले कानुनको अभावमा रूपान्तरित गाडी दर्ता हुन नसक्ने र सडकमा गुड्न नपाउने वर्षौँदेखिको अन्योल अन्त्य गर्ने देखिएको छ ।
विश्वविद्यालयको ‘ग्रीन हाइड्रोजन ल्याब’का प्रमुख डा. विराजसिंह थापाले भने, “हामीसँग गाडी रूपान्तरण गर्ने प्रविधि र ज्ञान दुवै छ । कोही व्यवसायी तालिम लिन चाहनुहुन्छ भने विश्वविद्यालय पूर्ण रूपमा तयार छ । व्यवसायीहरू आएमा हामी गाडीका पार्टपुर्जा निकाल्ने, पुनः जडान गर्ने र परीक्षण गर्ने जस्ता प्रयोगात्मक तालिम उपलब्ध गराउन सक्छौँ ।”

२५ वर्ष पुरानो गाडीलाई विद्युतीयमा रूपान्तरण
विश्वविद्यालयको ग्रीन हाइड्रोजन ल्याबले सन् २०२२ मा नै पेट्रोलियम गाडीलाई विद्युतीयमा रूपान्तरण गर्ने सफल अनुसन्धान गरेको थियो । ल्याबका प्रमुख थापासहित प्राध्यापक र विद्यार्थीहरूको टोलीले झन्डै २५ वर्ष पुरानो ‘मारुती ८००’ मोडेलको गाडीलाई ईभीमा परिणत गरेको थियो ।
डा. थापाले स्मरण गर्दै भने, “यो गाडी हाम्रा संस्थापक उपकुलपति प्रा.डा. सुरेशराज शर्माले विश्वविद्यालयका लागि किनेको पहिलो सवारी साधन हो । लामो समय चलेर कवाडी (जंकयार्ड) मा फालिएको यो गाडीलाई निकालेर हामीले ईभीमा बदल्ने अठोट गर्यौँ र विद्यार्थीहरूकै डिजाइनमा यसलाई नयाँ स्वरूप दियौँ ।”

रूपान्तरित उक्त गाडीबाट इन्जिन हटाएर मोटर, चार्ज कन्ट्रोलर र लिथियम आयन ब्याट्री जडान गरिएको छ । हाल यो गाडीले प्रतिघण्टा अधिकतम ५० किलोमिटरको गति दिन्छ भने एक पटकको फुल चार्जमा १०० किलोमिटरसम्म गुड्न सक्छ । विश्वविद्यालयले अनुसन्धान प्रयोजनका लागि यो गाडी सडकमा गुडाउने अनुमति समेत पाइसकेको छ ।

साझा यातायातको वर्कशपमा रूपान्तरण गरिएको ईभी बसमा समेत प्राविधिक परामर्श दिएको विश्वविद्यालयले अहिले नेपालमै सस्तो र हलुका ईभी उत्पादन गर्ने परियोजनामा काम गरिरहेको छ । डा. थापाका अनुसार नेपालमै विद्युतीय गाडी उत्पादन गर्ने लक्ष्यसहित भइरहेको अनुसन्धानको काम करिब आधा सम्पन्न भइसकेको छ ।
सित्तैमा प्रविधि हस्तान्तरण गर्ने घोषणा
विश्वविद्यालयले पेट्रोलियम गाडी रूपान्तरणको प्रविधिलाई पेटेन्ट दर्ताका लागि उद्योग विभागमा पठाएको छ । डा. थापाका अनुसार यो प्रविधि व्यावसायिक रूपमा प्रयोग गर्न चाहने नेपाली उद्योगहरूलाई कुनै पनि रोयल्टी नलिई निःशुल्क उपलब्ध गराउने योजना बनाइएको छ ।
“हाम्रो योजना पाँचदेखि सात लाख रुपैयाँमा एउटा साधारण ट्याक्सीलाई ईभीमा रूपान्तरण गर्न सकियोस् भन्ने हो,” उनले भने, “यसले ट्याक्सी चालकसहितका व्यवसायीलाई पुराना गाडी पुनः प्रयोगमा ल्याउन सहयोग पुग्छ । यो वातावरणीय र आर्थिक दुवै हिसाबले निकै फाइदाजनक हुनेछ ।”

डिजेलको विकल्पमा ग्रीन हाइड्रोजनको प्रस्ताव
पेट्रोल गाडीलाई ईभीमा बदल्न सरकारले चासो देखाए पनि भारी सवारी साधनमा प्रयोग हुने डिजेलको व्यवस्थापन भने नेपालका लागि अझै चुनौतीपूर्ण रहेको थापाको बुझाइ छ ।
उनका अनुसार नेपालमा १ लिटर पेट्रोल खपत हुँदा २ देखि ३ लिटर डिजेल खपत हुन्छ । लामो दूरीमा चल्ने र भारी सामान ढुवानी गर्ने सवारी साधनलाई पहाडी भूगोलमा ब्याट्रीबाट मात्र सञ्चालन गर्न कठिन हुन्छ । यही चुनौतीको विकल्पका रूपमा काठमाडौँ विश्वविद्यालयले ग्रीन हाइड्रोजनको प्रयोगलाई अनुसन्धानबाट प्रमाणित गरिसकेको छ ।
“हामीले नेपालमा पहिलो पटक हाइड्रोजन कार र हाइड्रोजन रिफिलिङ स्टेसनको सफल परीक्षण गरिसकेका छौँ,” थापाले भने, “यो प्रविधिलाई व्यावसायिक पाइलट प्रोजेक्टका रूपमा अगाडि बढाउन हामी सरकारलाई अनुरोध गर्दछौँ ।”
नेपालमै उत्पादित बिजुलीबाट हाइड्रोजन उत्पादन गर्न सके भविष्यमा पेट्रोलियम इन्धनको परनिर्भरता पूर्ण रूपमा अन्त्य गर्न सकिने उनको विश्वास छ । भारत, चीन, जापानजस्ता देशमा हाइड्रोजनको प्रयोग बढिरहेकाले नेपालले पनि यसका लागि आवश्यक नीति र वातावरण बनाउन ढिलाइ गर्न नहुनेमा उनले जोड दिए ।
पछिल्लो अध्यावधिक: चैत २६, २०८२ २०:५
