close

एन्ड्रोइड फोनबाट मेसेन्जरमा ग्रुप कल गर्दा समस्या, अन्य साथीलाई ‘एड’ गर्न नमिल्ने

टेकपाना टेकपाना

चैत २७, २०८२ १२:३३

एन्ड्रोइड फोनबाट मेसेन्जरमा ग्रुप कल गर्दा समस्या, अन्य साथीलाई ‘एड’ गर्न नमिल्ने

काठमाडौँ । फेसबुक मेसेन्जर प्रयोगकर्ताहरूले ग्रुप कल गर्दा अन्य सदस्यहरूलाई जोड्न वा इन्भाइट गर्न नसकिएको गुनासो गरेका छन् । पछिल्लो समय एन्ड्रोइड प्रयोगकर्ताहरूमा यो समस्या रूपमा देखिएको छ ।

मेसेन्जरमा कल भइरहेको समयमा थप साथीहरूलाई कुराकानीमा सामेल गराउन खोज्दा ‘एड’ अप्सनले काम नगरेको प्रयोगकर्ताहरूको भनाइ छ । टेकपानाले केही एन्ड्रोइड फोनहरूमा यसको प्राविधिक परीक्षण गर्दा समेत मेसेन्जर कलमा जोड्न चाहेको व्यक्तिको नाम नै टाइप नहुने समस्या देखियो ।

यो समस्या सबै प्लेटफर्ममा भने आएको छैन । डेस्कटप (वेब ब्राउजर) र आईओएस डिभाइसहरूबाट मेसेन्जर चलाउँदा ग्रुप कलमा अन्य साथीहरूलाई सहजै जोड्न सकिने अवस्था छ । एन्ड्रोइड बाहेकका अन्य भर्सनमा यो फिचरले सामान्य रूपमै काम गरिरहेको छ ।

एन्ड्रोइड एपमा देखिएको यो समस्याका बारेमा फेसबुकको मातृ कम्पनी मेटाले हालसम्म कुनै आधिकारिक जानकारी दिएको छैन । एपको पछिल्लो अपडेटमा आएको कुनै बगका कारण यस्तो समस्या आएको हुनसक्ने अनुमान गरिएको छ ।

पछिल्लो अध्यावधिक: चैत २७, २०८२ १२:४२