close

१२० हर्जसम्म रिफ्रेश रेट र २ वर्षे वारेन्टी भएको रेड्मी ए-७ बजारमा, मूल्य १६ हजार मात्र

टेकपाना टेकपाना

चैत २७, २०८२ १३:३७

१२० हर्जसम्म रिफ्रेश रेट र २ वर्षे वारेन्टी भएको रेड्मी ए-७ बजारमा, मूल्य १६ हजार मात्र

काठमाडौँ । साओमीले आधिकारिक रूपमा आफ्नो नयाँ इन्ट्री-लेभल स्मार्टफोन रेडमी ए-७ नेपाली बजारमा सार्वजनिक गरेको छ । उत्कृष्ट र परिष्कृत डिजाइन, ठुलो डिस्प्ले स्क्रिन र उच्च स्तरको कार्यक्षमताका साथ यो स्मार्टफोन बजारमा आएको हो ।

रेड्मी ए-७ एक मध्यम र हल्का तौल भएको स्मार्टफोन हो, जसको तौल १९३ ग्राम रहेको छ । यसको आकार १७१.७९ मिमि लम्बाइ, ७७.८ मिमि चौडाइ र ८.२६ मिमि मोटाइ रहेको छ । यसमा ६.८८ इन्चको ठुलो एलसीडी डिस्प्ले प्रयोग गरिएको छ, जसले ४५० निट्सको ब्राइटनेस प्रदान गर्छ । यसमा 'डीसी डिमिङ' (DC dimming) प्रविधि समावेश गरिएको छ, जसले गर्दा लामो समयसम्म फोन चलाउँदा पनि आँखामा कम असर पर्ने कम्पनीको दाबी छ । साथै यसले १२० हर्जसम्मको रिफ्रेश रेट सपोर्ट गर्ने भएकाले डिभाइस निकै 'स्मुथ', छिटो र रेस्पोन्सिभ (प्रतिक्रियाशील) रहन्छ ।

यो स्मार्टफोन ३ जीबी र्‍याम र ६४ जीबी स्टोरेज भेरियन्टमा उपलब्ध छ । कम्पनीका अनुसार यसमा र्‍यामलाई ३ जीबीबाट ६ जीबीसम्म बढाउन मिल्ने 'मेमोरी एक्स्टेन्सन' सुविधा पनि रहेको छ, जसले प्रयोगकर्तालाई सहज अनुभव प्रदान गर्ने कम्पनीको भनाई छ ।

दैनिक रूपमा लामो समयसम्म प्रयोग गर्न मिल्ने गरी डिजाइन गरिएको रेड्मी ए-७ मा ५२०० एमएएच क्षमताको ब्याट्री राखिएको छ । यसमा १५ वाटको फास्ट चार्जिङ प्रविधि जडान गरिएको छ । प्रयोगकर्ताको सुरक्षा र गोपनीयताका लागि यसमा साइड फिङ्गरप्रिन्ट सेन्सर र एआई फेस अनलक जस्ता आधुनिक सुविधाहरू समावेश छन् ।

फोटोग्राफीका लागि यसमा १३ एमपीको मुख्य क्यामेरा र ८ एमपीको फ्रन्ट क्यामेरा रहेको छ । फराकिलो लेन्स अपर्चरका कारण कम उज्यालो भएको ठाउँमा पनि यसले राम्रो तस्विरहरू खिच्न सक्ने बताइएको छ । यसको क्यामेरा पोट्रेट र ह्यान्डहेल्ड शटहरूका लागि उपयुक्त मानिएको छ । मनोरञ्जनका लागि यसमा ३.५ मीमीको हेडफोन ज्याक पनि उपलब्ध छ ।

रेड्मी ए-७ को स्लिक र परिष्कृत डिजाइनले यसलाई आकर्षक लुक दिएको छ । यो फोन कालो, स्काई ब्लु र अर्किड पर्पल रङ्गहरूमा उपलब्ध छ । नेपाली बजारमा यो नयाँ स्मार्टफोनको मूल्य १५ हजार ९९९ रुपैयाँ तोकिएको छ । साथै साओमीले आफ्ना ग्राहकहरूका लागि यस फोनमा २ वर्षको वारेन्टी समेत प्रदान गरेको छ ।

 

पछिल्लो अध्यावधिक: चैत २७, २०८२ १३:४४