काठमाडौँ । फ्रान्सेली सरकारले आफ्ना सरकारी कम्प्युटरमा प्रयोग भइरहेको माइक्रोसफ्ट विन्डोजलाई हटाएर ‘ओपन सोर्स’ अपरेटिङ सिस्टम लिनक्स जडान गर्ने योजना सार्वजनिक गरेको छ । अमेरिकी प्रविधि क्षेत्रका दिग्गज कम्पनीमाथिको निर्भरता घटाउन र आफ्नो ‘डिजिटल सार्वभौमसत्ता’ सुनिश्चित गर्न फ्रान्सले यस्तो कदम चालेको हो ।
फ्रान्सेली मन्त्री डेभिड अमिएलले एक विज्ञप्ति जारी गर्दै अमेरिकी प्रविधि कम्पनीमाथिको निर्भरता घटाएर ‘आफ्नो डिजिटल डेस्टिनी (भाग्य)माथि पुनः नियन्त्रण कायम गर्न’ यो निर्णय लिइएको बताएका छन् । “फ्रान्सेली सरकारले आफ्नो डेटा र डिजिटल पूर्वाधारमाथि आफ्नै नियन्त्रण नभएको अवस्थालाई अब स्वीकार गर्न सक्दैन,” अमिएलले भनेका छन् ।
यो परिवर्तनको सुरुवात फ्रान्सको सरकारी डिजिटल एजेन्सी (डीआईएनयूएम) का कम्प्युटरबाट गरिने विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । यद्यपि, सरकारले यसको पूर्ण कार्यान्वयनका लागि निश्चित समयसीमा र लिनक्सको कुन ‘डिस्ट्रिब्युसन’ प्रयोग गरिनेछ भन्नेबारे विस्तृत जानकारी दिएको छैन । लिनक्स एक नि:शुल्क र ओपन सोर्स सफ्टवेयर हो जसलाई प्रयोगकर्ताको आवश्यकता अनुसार परिमार्जन गर्न सकिन्छ ।
फ्रान्सको यो निर्णय अमेरिकी राजनीतिमा आएको पछिल्लो फेरबदल र राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले देखाएको अस्थिरताका बीच आएको हो । सन् २०२५ को जनवरीमा पदभार ग्रहण गरेदेखि नै राष्ट्रपति ट्रम्पले विश्व नेतामाथि आक्रमण गर्ने र आफ्ना आलोचकलाई तह लगाउन प्रविधिलाई ‘हतियार’का रूपमा प्रयोग गर्ने नीति लिएका छन् ।
यसअघि ट्रम्प प्रशासनले अन्तर्राष्ट्रिय फौजदारी अदालत (आईसीसी) का न्यायाधीशमाथि समेत प्रतिबन्ध लगाएर उनीहरूलाई अमेरिकी प्रविधि र बैंकिङ सेवाबाट वञ्चित गरिदिएको थियो । अमेरिकाको यस्तो अनपेक्षित कदमले युरोपेली मुलुकमा आफ्नै प्रविधि र क्लाउड सेवा हुनुपर्ने (डिजिटल सार्वभौमसत्ता) चेत बढाएको छ ।
फ्रान्स मात्र नभई समग्र युरोपेली युनियन (ईयू) नै विदेशी प्रविधि प्रदायकमाथिको निर्भरता घटाउन प्रयासरत छ । गत जनवरीमा युरोपेली संसदले युरोपेली आयोगलाई विदेशी प्रविधिमाथिको निर्भरता पहिचान गरी त्यसलाई कम गर्ने उपाय खोज्न निर्देशन दिने प्रतिवेदन पारित गरेको थियो ।
विन्डोज हटाउने निर्णय फ्रान्सको पहिलो प्रयास भने होइन । केही महिनाअघि मात्रै फ्रान्सेली सरकारले भिडिओ कन्फरेन्सिङका लागि ‘माइक्रोसफ्ट टिम्स’को प्रयोग बन्द गरेर स्वदेशी प्रविधि ‘भिजियो’ (Visio) प्रयोग गर्ने घोषणा गरेको थियो । ‘भिजियो’ ओपन सोर्स र इन्ड-टु-इन्ड इन्क्रिप्टेड सफ्टवेयर ‘जित्सी’ (Jitsi) मा आधारित प्लेटफर्म हो ।
यस्तै सरकारले यसै वर्षको अन्त्यसम्ममा आफ्नो ‘हेल्थ डेटा प्लेटफर्म’ लाई पनि नयाँ र विश्वसनीय स्वदेशी प्लेटफर्ममा स्थानान्तरण गर्ने लक्ष्य राखेको छ । यस विषयमा माइक्रोसफ्टका प्रवक्ताले तत्काल कुनै प्रतिक्रिया दिन अस्वीकार गरेका छन् ।
पछिल्लो अध्यावधिक: चैत २९, २०८२ १२:३९
