close

‘Trust Me’ भन्दै गरिएको मेसेज भविष्यमा खतरनाक हुन सक्छ, सावधान रहनू: प्रहरी

टेकपाना टेकपाना

चैत २९, २०८२ १९:५

‘Trust Me’ भन्दै गरिएको मेसेज भविष्यमा खतरनाक हुन सक्छ, सावधान रहनू: प्रहरी

काठमाडौँ । सामाजिक सञ्जालमार्फत ब्ल्याकमेलिङ र साइबर अपराधका घटना बढ्दै गएको भन्दै प्रहरीले सर्वसाधारणलाई सावधानी अपनाउन आग्रह गरेको छ । प्रहरीले डिजिटल प्लेटफर्ममा कसैलाई पनि अन्धविश्वास नगर्न र आफ्नो व्यक्तिगत गोपनीयता कायम राख्न सचेत गराएको हो ।

‘विश्वास गर्नुअघि सोच्नुहोस्’ भन्ने मूल नाराका साथ प्रहरीले सार्वजनिक गरेको सचेतना सन्देशमा अपरिचित मात्र नभई चिनजानका व्यक्ति वा साथीभाइबाट पनि अनलाइन जोखिम हुन सक्ने औँल्याइएको छ । अनलाइनमा गरिने साना गल्तीले भविष्यमा ठुलो कानुनी र सामाजिक संकट निम्त्याउन सक्ने प्रहरीको चेतावनी छ ।

साइबर सुरक्षाका लागि कसैसँग पनि आफ्ना गोप्य खालका फोटोहरू खिच्ने वा आदानप्रदान गर्ने कार्य नगर्न प्रहरीले आग्रह गरेको छ । च्याटिङका क्रममा अपशब्द वा अश्लील शब्दहरूको प्रयोग नगर्न र कसैले दबाब, लोभ वा भावनात्मक कुरामा पारेर कुनै पनि अनुरोध गरेमा त्यसलाई अस्वीकार गर्न पनि सचेत गराइएको छ ।

प्रहरीको सन्देशमा भनिएको छ, “Trust Me भनेर गरिएको Message भविष्यमा Dangerous हुन सक्छ । त्यसैले पहिला सोचौँ, सचेत बनौँ र सुरक्षित रहौँ ।”

सुरुमा विश्वास दिलाएर पछि तिनै कुराकानी वा फोटोहरूलाई हतियार बनाई ब्ल्याकमेलिङ गर्ने प्रवृत्ति बढेको प्रहरीले जनाएको छ ।

यदि कोही व्यक्ति अनलाइन ब्ल्याकमेलिङ वा साइबर अपराधको शिकार भएमा वा यस्तो समस्या परेमा तुरुन्त नजिकको प्रहरी कार्यालयमा सम्पर्क गर्न समेत प्रहरीले अनुरोध गरेको छ ।

 

पछिल्लो अध्यावधिक: चैत २९, २०८२ १९:५