काठमाडौँ । नागरिक एपमा नयाँ अपडेट आएको छ । बुधबार रिलिज गरिएको एपको नयाँ भर्सन (२.०.९४) मा लोक सेवा आयोगको प्रवेश पत्र डाउनलोड गर्न सकिने लगायतका फिचर थपिएका हुन् ।
यससँगै अब लोक सेवा आयोगका परीक्षार्थीले आफ्नो एड्मिट कार्ड नागरिक एपबाटै ‘पीडिएफ’ फर्म्याटमा डाउनलोड गर्न सक्नेछन् ।
यस अपडेटमा लोक सेवाको एड्मिट कार्डका साथै अन्य दुई फिचर पनि समावेश गरिएको छ । अब नेपाल इन्जिनियरिङ काउन्सिलको प्रमाणपत्र प्रमाणीकरण सेवालाई पनि नागरिक एपमा एकीकृत गरिएको छ ।
त्यसैगरी, अनलाइन प्रहरी चारित्रिक प्रमाणपत्र (ओपीसीआर) का लागि आवेदन दिने प्रयोगकर्ताले अब आफ्नो आवेदनको अवस्था ट्रयाक गर्न सक्नेछन् । यसअघि ओपीसीआर (प्रहरी रिपोर्ट) को प्रमाणपत्र डाउनलोड गर्दा आउने प्राविधिक समस्यालाई पनि यस अपडेटमार्फत समाधान गरिएको नागरिक एपका प्रतिनिधिले जानकारी दिए ।
यी नयाँ फिचर प्रयोग गर्नका लागि प्रयोगकर्ताले प्ले स्टोर वा एप स्टोरमा गई नागरिक एप अपडेट गर्नुपर्ने हुन्छ ।
पछिल्लो अध्यावधिक: बैशाख २, २०८३ १३:३३
