close

ईभी मार्फत फोहोर सङ्कलन गर्दै ललितपुर महानगर, भित्रिए ११ थान फोटोन टीएम-१

टेकपाना टेकपाना

बैशाख ३, २०८३ १६:३८

ईभी मार्फत फोहोर सङ्कलन गर्दै ललितपुर महानगर, भित्रिए ११ थान फोटोन टीएम-१

काठमाडौँ । कस्टमाइज गरिएका फोटोन टीएम-१ इलेक्ट्रिक वेस्ट कलेक्सन भेहिकलका ११ युनिटहरू ललितपुर महानगरपालिकालाई हस्तान्तरण गरिएको छ । नेपालमा फोटोन मोटरको आधिकारिक वितरक एमएडब्लू वृद्धिले बिहीबार महानगरलाई फोहोर संकलनका लागि ती ईभी उपलब्ध गराएको हो ।

नेपालमा सहरी फोहोर व्यवस्थापनका लागि विद्युतीय गाडी प्रयोग गरिएको पहिलो यो नै पटक भएको दाबी गरिएको छ । यसले व्यावसायिक ईभीहरूले सडक र ढुवानीका अलावा अन्य क्षेत्रमा पनि योगदान दिन सक्छन् भनेर नयाँ बाटो खोलिदिएको छ ।

ललितपुर महानगरपालिकाका लागि उपलब्ध गराइएका टीएम-१ गाडीहरू बजारमा सजिलै पाइने सामान्य गाडीहरू भने होइनन् । यी प्रत्येक गाडी सहरमा फोहोर सङ्कलन गर्ने प्रयोजनका लागि विशेष रूपमा तयार गरिएका छन् ।

ललितपुर महानगरपालिकाले फोहोर सङ्कलन टोलीलाई थप प्रभावकारी बनाउँदै तीन जनाबाट दुई जनाको दक्ष टोलीमा घटाउन सफल भएको छ । जुन यस गाडीको सहज र उपयोगी डिजाइनको प्रत्यक्ष नतिजा हो । साथै यसले लैङ्गिक समावेशी रोजगारीलाई प्रोत्साहन गर्दै फोहोर व्यवस्थापनको क्षेत्रमा महिलाहरूका लागि अर्थपूर्ण अवसरहरू समेत सिर्जना गरेको छ ।

ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले भने, "हाम्रो सहर एउटा सरल नियममा चल्छ, यहाँ प्रदूषण एकदम निषेध छ । यस कारण हामी फोहोर सङ्कलनका लागि पेट्रोल, डिजेल प्रयोग नहुने विद्युतीय गाडी खोजिरहेका थियौँ । यस्तो ईभी पाउन सकिएला त ? हाम्रो सबैभन्दा ठुलो चिन्ताको विषय यही थियो । र, फोटोनले हाम्रो त्यो चिन्ताको बलियो समाधान दिएको छ । साँच्चै भन्नुपर्दा हामी अत्यन्तै खुसी छौँ ।"

एमएडब्लू बृद्धि कमर्सियल भेहिकल प्रालिका सीईओ अनिल बरालले पहिलो पटक ईभीमा आधारित फोहोर व्यवस्थापनको अवधारणा सुन्दा आफू प्रभावित भएको स्मरण गरे । "आज यही कुरा व्यवहारमा देख्न पाउँदा अत्यन्त खुसी लागेको छ । नेपालकै सबैभन्दा सफा सहरको रूपमा पहिचान बनाएको ललितपुर महानगरपालिकालाई सहयोग गर्न पाउँदा हामी गौरवान्वित छौँ र हामीलाई विश्वास गर्नु भएकोमा वहाँहरूलाई हार्दिक आभार व्यक्त गर्दछौँ ।"

उनले उन्नत विद्युतीय सवारीसाधन र देशभर विस्तार हुँदै गएको ईभी चार्जिङ पूर्वाधार मार्फत स्वच्छ र प्रदूषणमुक्त नेपाल निर्माणमा योगदान गर्न आफूहरू सधैँ प्रतिबद्ध रहेको समेत बताए ।

एमएडब्लू वृद्धिका देशभर १४ भन्दा बढी बिक्री तथा सेवा केन्द्र र १७१ भन्दा बढी CCS2 DC फास्ट चार्जिङ स्टेसनहरूको सञ्जाल रहेको छ । योसँगै फोटोनको ईभी इकोसिस्टम नगरपालिका तथा स्थानीय तहमा ठुलो स्तरमा सञ्चालन गर्न पूर्ण रूपमा सक्षम रहेको समेत कम्पनीले बताएको छ ।

पछिल्लो अध्यावधिक: बैशाख ३, २०८३ १६:३८