काठमाडौँ । विश्वकै ठुलो सामाजिक सञ्जाल कम्पनी मेटाले आगामी मे २० देखि ठुलो संख्यामा कर्मचारी कटौती गर्ने तयारी गरेको छ । आर्टिफिसियल इन्टेलिजेन्सको बढ्दो प्रयोगमार्फत कार्यदक्षता सुधार गर्ने र कम्पनीलाई छरितो बनाउने उद्देश्यले मेटाले कर्मचारी हटाउन लागेको हो ।
रोयटर्सको रिपोर्ट अनुसार मेटाले आफ्नो कुल जनशक्तिको १० प्रतिशत अर्थात् विश्वभरबाट करिब ८ हजार कर्मचारी कटौती गर्ने सम्भावना छ । सन् २०२६ का लागि तय गरिएको यो पहिलो चरणको कटौती हो । मार्क जुकरबर्गको नेतृत्वमा रहेको कम्पनीले वर्षको उत्तरार्धमा थप कर्मचारी समेत हटाउन सक्ने समाचारमा उल्लेख छ ।
मेटाले अहिले आफ्नो आन्तरिक कार्यप्रणालीलाई एआई केन्द्रित बनाउन अर्बौं डलर लगानी गरिरहेको छ । कम्पनीका कार्यकारीहरूले एआईको क्षमतामा हुने विकासका आधारमा आगामी दिनमा थप कर्मचारी कटौतीको योजना बनाउन सक्ने बताइएको छ । यसअघि मेटाले आफ्नो कुल कार्यबलको २० प्रतिशत वा सोभन्दा बढी कटौती गर्न सक्ने चर्चा समेत चलेको थियो ।
मेटा मात्र नभई अमेरिकाका अन्य ठुला प्रविधि कम्पनीहरूमा पनि यो वर्ष रोजगारी कटौतीको लहर देखिएको छ । यसै हप्ता स्न्याप इन्कले पनि आफ्ना एक हजार कर्मचारी (करिब १६ प्रतिशत) हटाउने घोषणा गरेको छ । स्न्यापका अनुसार कम्पनीमा ६५ प्रतिशतभन्दा बढी नयाँ कोडहरू एआई टुलमार्फत तयार भइरहेकाले कम जनशक्तिबाटै काम चलाउन सम्भव भएको हो ।
पछिल्ला महिनाहरूमा ई-कमर्स जायन्ट अमेजनले पनि आफ्ना ३० हजार कर्पोरेट कर्मचारी कटौती गरेको छ । त्यस्तै, फिन्टेक कम्पनी 'ब्लक' ले आफ्नो कार्यबल झण्डै आधाले घटाएको छ । यी सबै कम्पनीहरूले एआईका कारण कार्यसम्पादनमा आएको सहजतालाई नै कटौतीको मुख्य कारण देखाएका छन् ।
प्रविधि क्षेत्रमा हुने कटौतीलाई ट्र्याक गर्ने वेबसाइट ‘Layoffs.fyi’ का अनुसार सन् २०२६ मा मात्रै अहिलेसम्म ७३ हजार २१२ कर्मचारीले रोजगारी गुमाइसकेका छन् ।
सन् २०२२-२३ को 'इफिसिएन्सी इयर' (दक्षताको वर्ष) मा मेटाले २१ हजार कर्मचारी हटाएको थियो । त्यतिबेला कम्पनीको शेयर मूल्य घटेको र आर्थिक दबाब थियो । तर, यस पटक मेटाको वित्तीय अवस्था निकै बलियो छ । सन् २०२४ मा मेटाले २०० अर्ब डलरभन्दा बढी राजस्व र ६० अर्ब डलर नाफा कमाएको थियो । आर्थिक रूपमा सबल भए पनि एआईको प्रयोगमार्फत कम्पनीलाई 'लीन' अर्थात् थोरै व्यवस्थापकीय तह भएको संरचनामा लैजान यो कदम चालिएको विश्लेषण गरिएको छ ।
पछिल्लो अध्यावधिक: बैशाख ५, २०८३ १३:५१
