close

नियम मिच्ने नेपालका १९ लाख ३२ हजार टिकटक भिडिओमाथि कारबाही, ९९ प्रतिशत ‘हेर्नुअघि नै’ हटाइए

टेकपाना टेकपाना

बैशाख ५, २०८३ १५:२३

नियम मिच्ने नेपालका १९ लाख ३२ हजार टिकटक भिडिओमाथि कारबाही, ९९ प्रतिशत ‘हेर्नुअघि नै’ हटाइए

काठमाडौँ । टिकटकले नेपालमा कम्युनिटी गाइडलाइन्स उल्लङ्घन गर्ने १९ लाख ३२ हजारभन्दा बढी भिडिओ हटाएको छ । सन् २०२५ को अन्तिम तीन महिना (अक्टोबरदेखि डिसेम्बर) को अवधिमा टिकटकले यी सामग्रीहरूमाथि कारबाही गरेको हो ।

टिकटकले सार्वजनिक गरेको 'चौथो त्रैमासिक कम्युनिटी गाइडलाइन्स इन्फोर्समेन्ट' प्रतिवेदन अनुसार नेपालबाट कुल १९ लाख ३२ हजार ५७५ वटा भिडिओ हटाइएका छन् ।

प्रतिवेदनको राम्रो पक्ष टिकटकको सक्रियता देखिएको छ । नेपालमा हटाइएका कुल भिडिओमध्ये ९९.९ प्रतिशत भिडिओहरू कुनै पनि प्रयोगकर्ताले रिपोर्ट गर्नुअघि नै टिकटकको स्वचालित प्रणालीले पत्ता लगाएर हटाएको थियो । यस्तै, ९८.४ प्रतिशत सामग्रीहरू पोस्ट भएको २४ घण्टाभित्रै प्लेटफर्मबाट हटाइएको टिकटकले जनाएको छ ।

टिकटकका अनुसार हटाइएका भिडिओमध्ये अधिकांशले सुरक्षा, सभ्यता र गोपनीयता सम्बन्धी मापदण्ड उल्लंघन गरेका थिए । हटाइएकामध्ये २१.२ प्रतिशत भिडिओमा वयस्क वा संवेदनशील विषयवस्तु थिए । ९.१ प्रतिशत भिडिओले सुरक्षा मापदण्ड उल्लंघन गरेका थिए । १.६ प्रतिशत भिडिओ भ्रामक सूचना फैलाएको भन्दै हटाइएको छ । त्यस्तै १.८ प्रतिशत भिडिओ एआई निर्मित, तर जानकारी नदिइएका कारण हटाइएका छन् ।

भिडिओमात्र नभई टिकटकले प्लेटफर्मको विश्वसनीयता जोगाउन विश्वभरबाट १४ करोड ७७ लाखभन्दा बढी नक्कली खाताहरू समेत खारेज गरेको छ । यस्तै, १३ वर्षभन्दा कम उमेरका बालबालिकाले चलाएको आशंकामा २ करोड ३८ लाख अकाउन्ट हटाइएका छन् ।

टिकटकले आफ्नो एआई-आधारित मोडरेसन सिस्टममा सुधार गरेसँगै नियम उल्लंघन गर्ने पुराना सामग्रीहरू समेत पहिचान गर्न सक्षम भएको दाबी गरेको छ ।

पछिल्लो अध्यावधिक: बैशाख ५, २०८३ १७:१४