छपाइ भएका ड्राइभिङ लाइसेन्स जिल्ला-जिल्लामा पठाइँदै, लिन सम्बन्धित कार्यालयमै जान आग्रह
बैशाख ८, २०८३ १६:४
काठमाडौँ । यातायात व्यवस्था विभागले छपाइ सम्पन्न भएका सवारी चालक अनुमतिपत्र (लाइसेन्स) हरू सम्बन्धित कार्यालयहरूमा पठाउने काम भइरहेको जनाएको छ । सुरक्षण मुद्रण केन्द्रबाट प्राप्त भएका लाइसेन्सहरूलाई सम्बन्धित यातायात कार्यालयहरूमा द्रुत गतिमा पठाउन थालिएको विभागको दाबी छ ।
सेवाग्राहीले आफूले विवरण पेस गरेको कार्यालयबाटै लाइसेन्स प्राप्त गर्नसक्ने जनाइएको छ । यसका लागि विभागले लाइसेन्स प्राप्त भएका कार्यालयहरूको सूची तयार पारी आफ्नो वेबसाइट र सामाजिक सञ्जाल अकाउन्टमार्फत जानकारी दिन थालेको छ ।
विभागले अन्तिम पटक नवीकरण गरेका वा ट्रायल पास गरेका व्यक्तिहरूलाई लाइसेन्स पाउन सोही यातायात कार्यालयमा सम्पर्क गर्न आग्रह गरेको छ ।
सरकारले सुरक्षण मुद्रण केन्द्रमार्फत दैनिक करिब ६० हजार प्रतिसम्म लाइसेन्स छाप्ने गरी काम अघि बढाएको छ । चालु आर्थिक वर्षको असार मसान्तसम्ममा बाँकी रहेका करिब २९ लाख प्रति लाइसेन्स छापिसक्ने योजना छ ।
यसका साथै, वैदेशिक रोजगारीमा जानेहरूका लागि ‘अत्यावश्यक’ वर्गमा परेका लाइसेन्सहरूलाई प्राथमिकतामा राखी वितरण भइरहेको र नयाँ ट्रायल पास गर्नेहरूका लागि राजश्व तिरेको २४ घण्टाभित्रै लाइसेन्स उपलब्ध गराउने नयाँ व्यवस्था कार्यान्वयनमा ल्याइएको विभागले जनाएको छ ।

पछिल्लो अध्यावधिक: बैशाख ८, २०८३ १६:९
