close

हेडमास्टरलाई थर्काएको भिडिओ भाइरल भएपछि रास्वपा सांसद पोखरेलले मागे माफी

टेकपाना टेकपाना

बैशाख १२, २०८३ १६:५१

हेडमास्टरलाई थर्काएको भिडिओ भाइरल भएपछि रास्वपा सांसद पोखरेलले मागे माफी

काठमाडौँ । ओखलढुङ्गास्थित एक विद्यालयका प्रधानाध्यापकलाई पदीय मर्यादाको विषय उठाएर थर्काएको भिडिओ भाइरल भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद विश्वराज पोखरेलले माफी मागेका छन् । शनिबार विज्ञप्ति जारी गर्दै उनले सार्वजनिक जीवनमा रहँदा आफ्नो बोली र व्यवहार अझ उच्च स्तरको हुनुपर्ने स्वीकार गर्दै माफी मागेका हुन् ।

गएको वैशाख ९ गते ओखलढुङ्गाको खिजिदेम्बा गाउँपालिकास्थित श्री चण्डेश्वरी माध्यमिक विद्यालयको भ्रमणका क्रममा प्रधानाध्यापकले आफूलाई स्वागत नगरेको भन्दै सांसद पोखरेल आक्रामक रूपमा प्रस्तुत भएको भिडिओ सामाजिक सञ्जालमा व्यापक भाइरल भइरहेको छ । उक्त घटनालाई लिएर चौतर्फी आलोचना भएपछि पोखरेलले आफ्नो आधिकारिक धारणा सार्वजनिक गरेका हुन् ।

नेपाल प्रहरीका पूर्वअतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) समेत रहेका उनले भनेका छन्, “सार्वजनिक जीवनमा रहँदा मेरो बोली, व्यवहार र संयम अझ उच्च स्तरको हुनुपर्थ्थ्यो भन्ने कुरा म पूर्ण रूपमा स्वीकार गर्छु । यदि कसैको व्यवहारबाट असहज परिस्थिति सिर्जना भएको भए पनि मैले अझ बढी धैर्य, मर्यादा र सम्मानका साथ प्रतिक्रिया दिनुपर्थ्यो । त्यस क्रममा मेरो अभिव्यक्ति वा व्यवहारले कसैको आत्मसम्मान, भावना वा मर्यादामा चोट पुगेको भए म हृदयदेखि क्षमायाचना गर्दछु ।”

यद्यपि, उनले सामाजिक सञ्जालमा आएको भिडिओले घटनाको पूर्ण वास्तविकता नदेखाएको दाबी गरेका छन् । यथार्थ परिस्थिति र समग्र सन्दर्भ नबुझी केही क्षणका दृश्यहरू मात्र काँटछाँट गरी भाइरल बनाइएकाले भ्रम सिर्जना भएको उनको जिकिर छ ।

आफू पहिले पनि जनताको सेवक भएको र भविष्यमा पनि सेवककै रूपमा काम गर्ने भन्दै उनले आगामी दिनमा संयमित र जिम्मेवार हुने बाचा गरेका छन् । 

 

 

पछिल्लो अध्यावधिक: बैशाख १२, २०८३ १७:३४