close

युट्युब सब्स्क्राइब गर्न भन्दै मध्यरात हजारौँलाई एसएमएस आतङ्क, चिनजानकालाई मात्र पठाएको दाबी

टेकपाना टेकपाना

बैशाख १३, २०८३ १८:०

युट्युब सब्स्क्राइब गर्न भन्दै मध्यरात हजारौँलाई एसएमएस आतङ्क, चिनजानकालाई मात्र पठाएको दाबी

 

काठमाडौँ । शनिबार राति १०ः११ बजेको समयमा मोबाइल प्रयोगकर्ताको इनबक्समा ‘एसजी अपडेट’ शर्टकोडबाट एउटा एसएमएस आयो । एसएमएसमा लेखिएको थियो, “मैले नयाँ युट्युब च्यानल स्टार्ट गरेको छु, मेटा एड्स र डिजिटल मार्केटिङको बारेमा ।” मेसेजको तल युट्युबको लिङ्क राखिएको थियो र उक्त लिङ्कमा क्लिक गर्दा ‘सागर क्षेत्री’ नामका गरेका व्यक्तिको युट्युब च्यानल खुल्थ्यो ।

आफूसँग कुनै सरोकार नै नभएको व्यक्तिको युट्युब च्यानल सब्स्क्राइब गर्न भन्दै मध्यरात एसएमएस आएपछि प्रयोगकर्ताहरू आतङ्कित भए । कतिपयले सामाजिक सञ्जालमा खुलेरै असन्तुष्टि व्यक्त गरे । अनुमतिबिना आफ्नो मोबाइल नम्बरमा विज्ञापनमूलक सन्देश आएपछि धेरैले डेटा प्राइभेसी (वैयक्तिक गोपनीयता) को प्रश्न उठाउँदै आफूले अनावश्यक झमेला मोल्नुपरेको गुनासो गरेका छन् । 

फेसबुक प्रयोगकर्ता राज सिटौला आफूले कसैलाई नम्बर नदिएको दाबी गर्दै यसरी अनुमति बिना मेसेज पठाउनेलाई कारबाही गर्नुपर्ने माग गर्छन् । “मैले यसरी विज्ञापन पठाउन कसैलाई अनुमति दिएको छैन । पठाउने को हो, चिन्दा पनि चिन्दिनँ,” उनले भनेका छन्, “कृपया अनुमति बिना यसरी मोबाइलमा नै म्यासेज गरि विज्ञापन पठाउनेलाई आवश्यक कारबाही गरियोस् ।”

एक रेडिट प्रयोगकर्ताले मध्यरातमा आएको यो एसएमएसले दिक्क बनाएको गुनासो गरेका छन् । “राति १० बजे मान्छेको व्यक्तिगत समय हुन्छ । त्यतिबेला आएको यो बेतुकको मेसेजले डिस्टर्ब त गर्‍यो नै,” उनले लेखेका छन्, “त्यसबाहेक यसरी चिन्दै नचिनेको अकाउन्ट त्यहीमाथि च्यानल सब्स्क्राइब गर्नु भन्दै एसएमएस आएर हैरान भएको म मात्र हो कि अरु पनि छन् ? यो त गोपनीयताको गम्भिर उलङ्घन भएन र ?” 

हजारौँलाई एसएमएस पठाउने व्यक्ति सागर क्षेत्री भएको टेकपानाले पहिचान गरेको छ । उनले टेकपानासँगको कुराकानीमा आफूले कुनै पनि डेटा नकिनेको र कसैको गोपनीयता भङ्ग नगरेको दाबी गरेका छन् । सामाजिक सञ्जालमा उठेका प्रश्नबारे बोल्दै उनले आफूले चिनेका र आफ्नै नेटवर्कमा भएका मानिसलाई मात्र मेसेज पठाएको दाबी गरे । 

“मैले बाहिरबाट नम्बर किनेर वा नचिनेका मान्छेलाई स्पाम एसएमएस पठाएको होइन,” क्षेत्रीले जिकिर गर्दे भने, “डिजिटल मार्केटिङमा चासो राखेर मैले नै आयोजना गरेका इभेन्टमा सहभागी भएका र मेरो आफ्नै कन्ट्याक्टमा रहेका करिब चार हजार जनालाई मात्र यो मेसेज पठाएको हुँ ।”

डेटा प्राइभेसी र अनुमतिबिना मेसेज पठाएको भन्ने आरोपको पनि उनले प्रतिवाद गरे । इभेन्टमा सहभागी गराउन भरिने गुगल फर्म वा फेसबुक एडका फर्मको सुरुमै उक्त विवरण मार्केटिङ प्रयोजनका लागि प्रयोग हुन सक्ने कुरा आफूले स्पष्ट रूपमा खुलाउने गरेको उनको दाबी छ । 

“रजिस्टर गर्ने बेलामा फर्मको टपमै हामीले यो डेटा मार्केटिङका लागि युज गर्छौँ भनेर खुलाएका हुन्छौँ,” उनले भने, “मार्केटिङमा इन्ट्रेस्ट भएर आएका र रजिस्टर गरेका आधिकारिक व्यक्तिलाई नै पठाइएको हो । यो कुनै स्पाम होइन । सबैको भलो हुने ‘एजुकेसनल कन्टेन्ट’ भएकाले जानकारीका लागि पठाएको हुँ ।”

यो एसएमएस पठाउन कुनै अवैध बाटो प्रयोग नगरेको बताउँदै उनले ‘आकाश एसएमएस’ बाट पैसा तिरेर डेडिकेटेड लाइन (शर्टकोड) खरिद गरेको स्पष्ट पारेका छन् । आफूले सही उद्देश्यका लागि पठाएको हुनाले बाहिर कसले कसरी लिन्छन् भन्ने कुराले आफूलाई खासै फरक नपार्ने पनि उनले बताए ।

क्षेत्रीले आफ्नै प्रयोजनका लागि डेडिकेटेड लाइन लिएको दाबी गरे पनि ‘आकाश एसएमएस’ ले भने उनले सम्झौता विपरीतको काम गरेको बताएको छ । आकाश एसएमएसका सेल्स एन्ड मार्केटिङ म्यानेजर राजन कोइरालाका अनुसार क्षेत्रीले ‘सौभाग्य घर प्राइभेट लिमिटेड’ नामक रियल स्टेट तथा कन्स्ट्रक्सन कम्पनीको प्रयोजनका लागि भनेर उक्त ‘एसजी अपडेट’ शर्टकोड लिएका थिए ।

“हामीले व्यवसायको मेसेज पठाउन सम्झौता गरेर उहाँकै अनुरोधमा उहाँलाई सेन्डर आईडी दिएका थियौँ । तर उहाँले व्यक्तिगत युट्युब च्यानलको लिङ्क राखेर पठाउनु भएछ,” कोइरालाले भने, “कुनै एक प्रयोजनका लागि लिएर अन्य प्रयोजनमा प्रयोग गर्न मिल्दैन भनेर हामीले सम्झौतामै खुलाएका हुन्छौँ । मेसेजको कन्टेन्ट पनि त्यति राम्रो देखिएन । एसएमएस गइसकेपछि कम्प्लेन आएपछि मात्र हामीलाई थाहा हुने भएकाले तत्कालै रोक्ने आधार हुँदैन ।”

यस विषयमा नेपाल टेलिकमका प्रवक्ता रविन्द्र मानन्धरले एसएमएसको कन्टेन्टमा टेलिकमको प्रत्यक्ष नियन्त्रण नहुने बताए । एसएमएस सेवाप्रदायकले सम्झौता विपरीतका मेसेज पठाउन नपाउने नियम भए पनि एक्सेल शिटमा नम्बर राखेर एसएमएस पठाउने सिस्टम उनीहरूसँगै हुने भएकाले के कन्टेन्ट गयो भनेर टेलिकमले पहिले नै रोक्न नसक्ने उनको भनाइ छ । यद्यपि, उनले यसबारे नियामक र टेलिकमको सम्बन्धित शाखासँग बुझेर अघि बढ्ने जानकारी दिए ।

नेपाल दूरसञ्चार प्राधिकरणका प्रवक्ता एवम् निर्देशक मिनप्रसाद अर्यालले उपभोक्ताको मन्जुरीबिना अनावश्यक कन्टेन्ट पठाउनु गैरकानुनी भएको स्पष्ट पारे । “कानुन वा संविधानले वर्जित गरेका र ग्राहकको हितभन्दा बाहिरका अनुचित कन्टेन्ट प्रवाह गर्न पाइँदैन । नेपाल टेलिकम र सेवाप्रदायकबिच भएको सम्झौताभन्दा बाहिर गएर यस्तो काम भएको पाइएमा नियमअनुसार कारबाही हुन्छ,” उनले भने ।

सागर क्षेत्रीले यसलाई सामान्य ‘एजुकेसनल कन्टेन्ट’ भनेर जिकिर गरे पनि कानुनविद्ले भने यसलाई गोपनीयताको उल्लङ्घन र भविष्यको ठुलो जोखिमका रूपमा औँल्याएका छन् । अधिवक्ता कुमार सिलवालका अनुसार एउटा प्रयोजनका लागि सङ्कलन गरिएको डेटा अर्को प्रयोजनमा प्रयोग गर्नु सरासर गैरकानुनी हो । 

“विद्युतीय कारोबार ऐन र वैयक्तिक गोपनीयतासम्बन्धी ऐनअनुसार यो व्यक्तिगत सूचनामाथिको अनधिकृत पहुँच हो,” अधिवक्ता सिलवालले भने, “मान्छेको फोन नम्बर भनेको उसको आफ्नै पहिचान हो । मलाई कुनै इभेन्टको लागि भनेर नम्बर मागियो र पछि युट्युब च्यानल सब्स्क्राइब गर भनियो भने त्यो मेरो सहमति विपरीत भयो ।”

अधिवक्ता सिलवालले यस्ता कार्यलाई सामान्य मानेर छुट दिँदा भविष्यमा ठुला अपराध निम्तिन सक्ने चेतावनी दिए । “अहिले युट्युब च्यानल सब्स्क्राइब गरिदेऊ भन्नु ‘हार्मलेस’ (जोखिम रहीत) जस्तो देखिएला तर यो प्रवृत्तिलाई अनुमति दिने हो भने जोखिम बढ्दै जान्छ । प्रवृत्ति एउटै हो, गम्भीरता मात्र फरक हो,” उनले भने, “भोलि परिचित व्यक्तिको नाम वा कम्पनीको नाम राखेर पैसा माग्दै एक्सटर्सन (ठगी) का मेसेज आउन सक्छन् । त्यसैले यो एउटा अलार्मिङ इस्यु हो ।”

सागर क्षेत्रीले फर्म भर्दा नै मार्केटिङको कुरा खुलाएको दाबी गरे पनि कानुनले भने स्पष्ट सहमतिलाई अनिवार्य गरेको छ । वैयक्तिक गोपनीयतासम्बन्धी ऐन-२०७५ ले कुनै एक प्रयोजनका लागि सङ्कलन गरिएको वैयक्तिक सूचना (टेलिफोन नम्बर, ईमेल आदि) अर्को प्रयोजनमा प्रयोग गर्न नपाउने स्पष्ट व्यवस्था गरेको छ । ऐनको दफा २६ ले व्यक्तिको सहमतिबिना सूचना उपयोग गर्न रोक लगाएको छ । 

त्यसैगरी, विज्ञापन (नियमन गर्ने) ऐन, २०७६ को दफा १० मा ‘सम्बन्धित व्यक्तिको मन्जुरीबिना कसैको मोबाइल वा ईमेलमा एसएमएसमार्फत विज्ञापनमूलक सन्देश पठाउन नपाइने’ उल्लेख छ ।

पछिल्लो अध्यावधिक: बैशाख १३, २०८३ १८:०