close

पत्रकार महिलाको चरित्रहत्यासँगै बलात्कार आह्वान गरेको आरोपमा यूके बस्ने टिकटर उर्मिला राईविरुद्ध मुद्दा, रेडकर्नर नोटिस जारी गरिँदै

टेकपाना टेकपाना

बैशाख १४, २०८३ १३:३९

पत्रकार महिलाको चरित्रहत्यासँगै बलात्कार आह्वान गरेको आरोपमा यूके बस्ने टिकटर उर्मिला राईविरुद्ध मुद्दा, रेडकर्नर नोटिस जारी गरिँदै

काठमाडौँ । सामाजिक सञ्जाल टिकटक प्रयोग गरी एक महिला पत्रकारको चरित्रहत्या गरेको र उनलाई सार्वजनिक स्थलमा बलात्कार गर्न उक्साएको आरोपमा उर्मिला भन्ने सुबिना राईविरुद्ध सुनसरी जिल्ला अदालतमा मुद्दा दायर भएको छ । जिल्ला सरकारी वकिल कार्यालय सुनसरीले गत बिहीबार राईविरुद्ध विद्युतीय कारोबार ऐन, २०६३ बमोजिमको कसुरमा अभियोग पत्र दायर गरेको हो ।

ओखलढुङ्गाको मानेभन्ज्याङ गाउँपालिका स्थायी घर भई हाल बेलायतमा बसोबास गर्दै आएकी ४२ वर्षीया उर्मिला राईले आफ्नो टिकटक आईडी @subina_urmila_rai100 बाट पीडित महिला पत्रकारको मानमर्दन हुने गरी अत्यन्तै अश्लील र अमर्यादित भिडिओ पोस्ट गरेको पाइएको छ ।

अभियोग पत्रका अनुसार राईले उक्त भिडिओमा धरानको भानु चोकमा ती पत्रकारलाई सबैले पालैपालो बलात्कार गर्न उक्साएको र बलात्कार गर्नेलाई आफूले 'बक्सिस' स्वरूप पैसा दिने समेत घोषणा गरेकी थिइन् । उनले पीडितको संवेदनशील अङ्गका बारेमा निकै तल्लो स्तरको टिप्पणी गर्दै गालीगलौज गरी चरित्रहत्या गर्ने नियतले सामग्रीहरू सार्वजनिक गरेको दाबी गरिएको छ ।

पेसाले पत्रकार रहेकी पीडितले आफ्नो चरित्रहत्या गरी ज्यान मार्ने र बलात्कार गर्ने धम्की दिएका कारण आफू र आफ्नो परिवार ठुलो मानसिक तनावमा परेको बताएकी छिन् । राईले सामाजिक सञ्जालमा गरेको यस्तो अराजक गतिविधिका कारण पीडितको व्यक्तिगत जीवन, मान-मर्यादा र सुरक्षामा गम्भीर चुनौती खडा भएको साक्षीहरू सुवास राई, कृष्णप्रसाद पाठक र सपना बुढाथोकीले बयान दिएका छन् ।

साक्षीहरूका अनुसार राईले बेलायतमा बसेर नेपालको कानुनलाई चुनौती दिँदै अन्य महिलाहरूलाई पनि यस्तै किसिमका अमर्यादित कार्य गर्न प्रोत्साहित गरिरहेकी छिन् । प्रहरी अनुसन्धानपछि दायर गरिएको यस मुद्दामा प्रतिवादी राईविरुद्ध विद्युतीय कारोबार ऐन, २०६३ को दफा ४७ (१) बमोजिम सजायको माग गरिएको छ । जसअनुसार कसुर पुष्टि भएमा १ लाख रुपैयाँसम्म जरिबाना वा ५ वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ ।

साथै पीडितलाई पुगेको मानसिक र सामाजिक क्षतिको विचार गरी अपराध पीडित संरक्षण ऐन, २०७५ को दफा ४१ बमोजिम प्रतिवादीबाट मनासिब क्षतिपूर्ति भराउन समेत माग गरिएको छ ।

प्रतिवादी महिला हाल विदेशमा रहेको र फरार सूचीमा रहेकाले उनलाई नेपाल ल्याएर कानुनी कारबाहीको दायरामा ल्याउन इन्टरपोलमार्फत 'रेड कर्नर नोटिस' जारी गर्ने प्रक्रिया समेत अगाडि बढाइएको जानकारी अभियोग पत्रमा दिइएको छ । सरकारी वकिल कार्यालयले १६ जीबीको पेनड्राइभमा रहेका डिजिटल प्रमाण र साक्षीहरूको बयानका आधारमा राईलाई हदैसम्मको सजाय हुनुपर्ने माग गरेको छ ।

पछिल्लो अध्यावधिक: बैशाख १५, २०८३ ७:४६