close

नेपाली सफ्टवेयर र आईटी क्षेत्रको क्षमता प्रवर्द्धन गर्न अमेरिकामा ‘नेपाल टेक रोडशो २०२६’ हुँदै

टेकपाना टेकपाना

बैशाख १४, २०८३ १३:५१

नेपाली सफ्टवेयर र आईटी क्षेत्रको क्षमता प्रवर्द्धन गर्न अमेरिकामा ‘नेपाल टेक रोडशो २०२६’ हुँदै

काठमाडौँ । नेपाली सफ्टवेयर तथा सूचना प्रविधि क्षेत्रको क्षमतालाई अन्तर्राष्ट्रियस्तरमा प्रवर्द्धन गर्ने उद्देश्यले सन् २०२६ मे महिनामा अमेरिकाका विभिन्न सहरमा ‘नेपाल टेक रोडशो २०२६’ आयोजना हुने भएको छ । नेपाल एसोसिएसन फर सफ्टवेयर एण्ड आईटी सर्भिसेस कम्पनीज (नास-आईटी) ले यस बृहत् रोडशोको घोषणा गरेको हो ।

नेपालको प्रविधि क्षेत्रलाई अमेरिकी बजार, लगानीकर्ता र गैरआवासीय नेपाली समुदायसँग जोड्न कार्यक्रम गर्न लागिएको नास-आईटीले जनाएको छ । विशेषगरी नेपाललाई सफ्टवेयर डेभलपमेन्ट, एआई, डेटा र डिजिटल रूपान्तरण सेवाका लागि भरपर्दो र प्रतिस्पर्धी गन्तव्यका रूपमा स्थापित गर्नु यसको मुख्य लक्ष्य रहेको बताइएको छ ।

मुख्य कार्यक्रम आगामी मे १५, २०२६ मा अमेरिकाको टेक्ससस्थित ग्रेपभाइनमा रहेको ‘एम्बेसी सुइट्स बाइ हिल्टन’ मा आयोजना हुनेछ । त्यसअघि, मे ८ मा सान फ्रान्सिस्कोमा ‘नेपाल टेक कनेक्ट’ आयोजना गरिनेछ, जहाँ बे एरियाका व्यवसायी, लगानीकर्ता र प्रविधि विज्ञहरूसँग व्यावसायिक नेटवर्किङ गरिनेछ ।

नास-आईटीका संस्थापक अध्यक्ष एवं कार्यकारी बोर्ड सदस्य रिचन श्रेष्ठले विश्वले नेपालको प्रविधि उद्योगको वास्तविक क्षमता चिन्न थालेको बताए । “हामीसँग विश्वव्यापी व्यवसायका लागि दीर्घकालीन साझेदार बन्न सक्ने प्रतिभा र अनुभव छ,” श्रेष्ठले भने, “यो रोडशो नेपालको प्रविधि उद्योगलाई विश्वमञ्चमा स्थापित गर्ने र हाम्रा उद्यमी एवं इन्जिनियरहरूको क्षमता प्रदर्शन गर्ने महत्वपूर्ण अवसर हो ।”

यस पहलमा नेपालिज अमेरिकन चेम्बर अफ कमर्स, स्थानीय साझेदार र अमेरिकन चेम्बर अफ कमर्स इन नेपाल सहकार्य साझेदारका रूपमा रहेका छन् । डेक्सपर्ट्स इंक शीर्षक प्रायोजक रहेको कार्यक्रमलाई फोकस हेल्थ र फ्युजमसिन्सले क्रमशः प्रायोजक र सहयोगी प्रायोजकका रूपमा साथ दिएका छन् ।

रोडशोमा नेपालका प्रतिष्ठित आईटी कम्पनीहरूको प्रतिनिधित्व रहने बताइएको छ । सहभागी हुने कम्पनीहरूमा बज्रा टेक्नोलोजिज, बिज सर्भ आईटी, सिटीटेक ग्रुप, कोड पिक्सेल्ज मिडिया, ज्यास्पर आईटी, लिपफ्रग टेक्नोलोजी नेपाल, क्विकफक्स टेक्नोलोजिज, रारा ल्याब्स, टेकक्राफ्ट इंक लगायत छन् ।

कार्यक्रमका दौरान नेपाली कम्पनीहरूको सेवा र समाधान प्रस्तुत गरिने ‘कम्पनी शोकेस’, अमेरिकी स्टार्टअप र लगानीकर्ताहरूसँग ‘बीटुबी मिटिङ’ र नेपालको ग्लोबल डेलिभरी क्षमताका बारेमा विशेषज्ञहरूको प्रस्तुति रहनेछ ।

विशेषगरी रिचन श्रेष्ठ (क्विकफक्स), हिमाल कर्माचार्य (लिपफ्रग), अभय पौडेल (बिज सर्भ), शंकर उप्रेती (हाम्रो पात्रो) र कैलाश बिजयानन्द (AmCham Nepal) लगायतका विज्ञले नेपालमा व्यवसाय सञ्चालनको सहजता र अमेरिका–नेपाल व्यापार सहकार्यका सम्भावनाबारे पेपर प्रेजेन्टेसन गर्नेछन् ।

विगतदेखि नै नेपाललाई विश्वव्यापी प्रविधि केन्द्रका रूपमा विकास गर्न यस्ता अन्तर्राष्ट्रिय पहलहरू गर्दै आएको नास-आईटीले जनाएको छ ।

 

पछिल्लो अध्यावधिक: बैशाख १४, २०८३ १३:५१