सेप्टेम्बरदेखि यी पुराना फोनमा ह्वाट्सएप नचल्ने, तपाईँको डिभाइस पनि पर्यो कि ?
बैशाख १५, २०८३ १६:३७
सांकेतिक तस्बिर
काठमाडौँ । मेसेजिङ प्लेटफर्म ह्वाट्सएपले यसै वर्ष केही पुराना एन्ड्रोइड डिभाइसमा आफ्नो सेवा बन्द गर्ने तयारी गरेको छ । प्लेटफर्ममा नयाँ सुविधाहरू थप गर्दै लैजाँदा एपको कार्यक्षमता र सुरक्षालाई सुदृढ बनाउने उद्देश्यले कम्पनीले यस्तो कदम चाल्न लागेको हो ।
ह्वाट्सएपका गतिविधिबारे जानकारी दिने वेबसाइट ‘डब्लूए बेटा इन्फो’ (WABetaInfo) का अनुसार आगामी ८ सेप्टेम्बर २०२६ देखि एन्ड्रोइड ६.० भन्दा पुराना भर्सनमा चल्ने स्मार्टफोनहरूमा ह्वाट्सएपले काम गर्ने छैन । यसको अर्थ हाल एन्ड्रोइड ५.० र ५.१ भर्सनमा चल्ने मोबाइलहरू अब ह्वाट्सएप चलाउनका लागि आवश्यक न्यूनतम प्रणाली पूरा गर्न असमर्थ हुनेछन् ।
पुराना एन्ड्रोइड भर्सनहरूको सपोर्ट हटाउनाले ह्वाट्सएपलाई एपको समग्र कार्यक्षमता सुधारमा केन्द्रित हुन मद्दत पुग्ने मेटाको विश्वास छ । यसका साथै, धेरैजसो पुराना डिभाइसहरूले हाल सफ्टवेयर अपडेट पाउन छाडिसकेका छन्, जसले गर्दा एपका पछिल्ला आवश्यकता र सुरक्षा मापदण्डहरू पूरा गर्न ती डिभाइसलाई कठिन भइरहेको छ ।
ह्वाट्सएपको सेवा निरन्तर प्रयोग गर्न चाहने प्रयोगकर्ताले अब एन्ड्रोइड ६.० वा सोभन्दा नयाँ भर्सन चल्ने मोबाइलमा स्विच गर्नुपर्ने हुन्छ । यो नयाँ नियम ह्वाट्सएप मेसेन्जर र ह्वाट्सएप बिजनेस दुवैमा समान रूपमा लागु हुनेछ ।
एन्ड्रोइडमा यस्तो परिवर्तन गरिए तापनि एप्पल डिभाइसहरूमा भने यो नियम लागु हुने छैन । आईओएस १५.१ वा सोभन्दा पछिल्लो भर्सनमा चल्ने आईफोन र आईप्याड ओएस १५.१ वा सोभन्दा नयाँ भर्सन भएका आईप्याडहरूमा ह्वाट्सएप बिना कुनै अवरोध चलिरहनेछ ।
यसैबिच, ह्वाट्सएपले एन्ड्रोइड प्रयोगकर्ताका लागि 'नोटिफिकेसन बबल' फिचर ल्याउने तयारी गरेको छ । फेसबुक मेसेन्जरमा जस्तै स्क्रिनमा ‘फ्लोटिङ बबल’ का रूपमा देखिने यो फिचर हाल विकासकै क्रममा छ । यो फिचर सार्वजनिक भएपछि प्रयोगकर्ताले आफूले चलाइरहेको एप नछोडिकन मेसेजहरू पढ्न र जवाफ दिन सक्ने बताइएको छ ।
पछिल्लो अध्यावधिक: बैशाख १५, २०८३ १६:३७
